Home Blog Page 118

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

महोत्तरी- सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।

सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।

मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ ।

यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ ।

यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ ।

सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ ।

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ ।

यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ ।

खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको उपप्राध्यापक मुक्ति बताउनुहुन्छ ।

एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ ।

पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउनुहुन्छ ।

यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिँकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् ।

https://ujyaalonepalnews.com/archives/33169

दाङमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

दाङ- अटो दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा जिल्लाको बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार भेगीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

बुधबार बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन् ।

जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/33168

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा- झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/33167

हार्डवेयर पसलमा आगजनी

नुवाकोट- नुवाकोटको विदुरबजारमा रहेको एक पसलमा आगलागी भएको छ । आगजनीवाट पसल पुर्ण रुपमा नष्ट भएको छ ।

विदुर नगरपालिका-४ विदुरमा रहेको खतिवडा हार्डवेयर एण्ड सप्लायर्समा मध्यराती आगजनी भएको हो । तिहारमा बालिएको विद्युतीय उपकरणमा खराबीका कारण आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आगजनीवाट पसलमा रहेका अधिकांश सामग्रीहरु जलेर नष्ट भएका छन् । राती साढे १० वजे लागेको आगो स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकललाई निभाउन तीन घण्टा समय लागेको थियो ।

पसलमा लागेको आगजनी समयमै नियन्त्रण हुँदा बजारको बस्ती जोगिएको सुरक्षाकर्मीको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/33166

टेम्पो दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

अछाम- अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/33165

विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल र यूएई भिड्दै

काठमाडौं- विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ । प्रि-म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताउनु भएको छ ।

नेपालले चोटका कारण भरपर्दा डिफेन्डर अनन्त तामाङलाइ भने यो खेलमा गुमाउनेछ । तर सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ ।

विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका विष्टसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर आजको खेलमा हुनेछ ।

https://ujyaalonepalnews.com/archives/33164

महिला टी-२० सिरिज: नेपालले आज हङकङसित खेल्ने

काठमाडौँ- चार देश सम्मिलित टि-२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११:४५ बजे सुरु हुने छ ।

पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो ।

आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७:१५ बजे जापान र तान्जानियाबीच हुँदै छ । टस जितेर जापानले पहिला फिल्डिङ रोजेको छ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/33163

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरद्वारा कप्तानी पदबाट राजिनामा

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर टीम प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । लगातारको आलोचना र दबाबका कारण बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका हुन् ।

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी सुरु गरेका थिए ।आजमको राजीनामापछि पाकिस्तानी क्रिकेट बोर्डले टेस्ट र टी–२० फर्म्याटको नयाँ कप्तान घोषणा गरेको छ ।

क्रिकेटर सान मसूदलाई टेस्टको र शाहीन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० फर्म्याटको कप्तान घोषणा गरिएको हो ।

https://ujyaalonepalnews.com/archives/33162

सिरहामा नेपाल टेलिभिजनकर्मीसहित पाँच पत्रकार सम्मानित

सिरहा- मिर्चैयाका समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न भएको छ । मिर्चैयाको मटियर्वास्थित सामुदायिक भवनमा बुधबार स्मृतिसभा सम्पन्न भएको हो ।

राप्रपाका संस्थापक सदस्य, राष्ट्रिय जनशक्ति पार्टीका सहायक महामन्त्री, नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साहले आफ्नो जीवनकालमा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गर्नुभएको थियो ।

त्यसैको सम्झनामा रामभरोष साह मेमोरियल मेमोरियल ट्रष्टले मिर्चैयामा प्रत्येक वर्ष स्मृतिसभा कार्यक्रम गर्दै आएको छ । यसैबीच, स्मृतिसभा कार्यक्रममा ट्रष्टले मिर्चैया क्षेत्रबाट जिल्लामा पत्रकारिता गरिरहेका पाँच पत्रकारलाई सम्मानित पनि गरेको छ ।

सम्मानित हुनेहरूमा कान्तिपुर टेलिभिजनका सिरहा जिल्ला प्रमुख विनय आजाद, नेपाल टेलिभिजन संवाददाता श्यामकुमार ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान, मनकामना पोष्टका रामनारायण ठाकुर र एनएसडब्ल्यू न्यूजका पंकज शर्मा छन् ।

उनीहरूलाई झोला, डायरी र कलमसहित अबिर र गम्छा लगाएर सम्मान गरिएको थियो । देश र समाजको रूपान्तरणका लागि पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको ट्रष्टले जनाएको छ ।

ट्रष्टका अध्यक्ष एवं राप्रपाका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला) को अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय साहकी बुहारी एवं मधेश प्रदेशकी सांसद कञ्चन बिच्छा साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/33161

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

काठमाडौँ- चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ यहाँ रु दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको डा भट्टराईले बताउनुभयो ।

स्थानीय राजनीतिक दल र प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उहाँले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33160