Home Blog Page 119

न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं- भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले २०११ पछि फाइनलमा स्थान बनाएको हो । यसअघि भारतले १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

भारतले दिएको ३ सय ९८ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । यस क्रममा न्युजिल्यान्डका ड्यारी मिचेलले सर्वाधिक १ सय ३४ रनको शतकीय इनिङ खेले ।

त्यस्तै कप्तान केन विलियमसनले ६९ रन बनाउँदा डेभन कनवे र रचिन रविन्द्रले समान १३-१३ रन बनाए । ग्लेन फ्लिप्स ४१ रनमा आउट भए । न्युजिल्यान्डका मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाएपनी टोलीलाई जिताउन भने सकेनन् ।

भारतको जितमा मोहम्मद शामीले ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित समेत भए । त्यस्तै जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा ३९७ बनाएको थियो । भारतका लागि विराट कोहलीले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए । त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए ।

खुट्टामा समस्या आएपछि रिटार्यड हर्ट भएर खेल मैदान बाहिर गएका शुभम गिल अन्तिम ओभरमा पुन क्रिज आइ अविजित ८० रनको योगदान दिए भने केएल राहुल ३९ रनमा अविजित रहे ।

विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । विराटको यो ओडिआइ करिअरको ५० औं शतक हो भने, उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । विराटले सचिन तेन्दुलकरको ४९औं शतकको कीर्तिमान तोडेका छन् ।

आज दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

https://ujyaalonepalnews.com/archives/33159

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिनुभयो ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33158

म्याग्दीको बालगृहमा सामूहिक भाइटीका

म्याग्दी- यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताउनुभयो । म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।
बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको ब्यवस्था गर्ने पुनलाई धन्यवाद दिनुभयो ।
बालगृहमै भाइटीका
दमौली : तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।
बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटीका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए ।
तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटीका लगादिनुभयो । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटीका लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो ।
सुमनले भन्नुभयो, “तिहारमा कोसँग टीका लगाउने भन्ने चिन्ता रहेन, बालगृहमै टीका लगाउन पाउँदा खुसी लागेको छ ।” अभिभावकविहिन विकले बालगृहमा आश्रय लिँदै आउनुभएको छ । बारा घर भई बालगृहमा रहेका शिव यादवले पनि दुई बालिकाको हातबाट भाइटीका लगाउनुभयो ।
बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिनुभयो । “दुई जना बालिकाले चार जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुसी छन्,” उहाँले भन्नुभयो, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”
बालगृहमा रहेका छ जनामध्ये पाँच जना तनहुँ ठेगाना भएका र एक जना बारका हुन् । त्यसमध्ये पाँच जना अभिभावकविहिन हुन् भने एक जना विविध कारणले बालगृमा आइपुगेका हुन् ।
आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि विगत पाँच वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग हुँदै आएको छ । घिमिरेले भन्नुभयो, “बालगृह सञ्चालनका लागि सरकारी निकायबाट सहयोग छैन, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुन्छ । व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।”

https://ujyaalonepalnews.com/archives/33157

अञ्जली दिदीले २०० जनालाई भाइटीका लगाइन्

काठमाडौँ-  २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको थियो । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिनुभयो । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उहाँको भनाइ छ ।
आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रशन्न हुनुहुन्थ्यो । उहाँले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताउनुभयो । मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गर्नुभएको थियो ।।

https://ujyaalonepalnews.com/archives/33156

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ । भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ । सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

https://ujyaalonepalnews.com/archives/33155

जनकपुरधाममा छठको तयारी

धनुषा- दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताउनुभयो ।

यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।

यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताउनुभयो । अर्का दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायको भनाइ छ ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको बाबा विभाष लाभले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता निरज आवाले जानकारी दिनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।

चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउनुहुन्छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकार रोशन जनकपुरीको भनाइ छ ।

उहाँले भन्नुभयो, “भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ ।”

https://ujyaalonepalnews.com/archives/33154

प्रहरीको गोलीबाट दुईजना घाइते

महोत्तरी- महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको थियो । दुवै जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुवै जनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट रु एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मङ्गलबार गरुडा नगरपालिका–४ पानीट्याङ्की नजिकैबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद रु चार हजार बरामद गरेको छ ।

पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

करिब रु ६० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33153

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

https://ujyaalonepalnews.com/archives/33152

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ- चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन् ।

त्यस्तै ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन् ।
बलिङतर्फ नेपालको लागि संगिता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/33151

नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने

धनुषा- नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।

भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उहाँको भनाइ छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ ।

जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । महाप्रबन्धक झाले भन्नुभयो, “चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ ।”

परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७:३० प्रस्थान र जयनगर ९:१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४:१५ बाट चल्ने रेल साँझ ७:१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११:४५ बजे चल्ने रेल जयनगर दिउँसो १:१५ बजे पुग्ने जनाएको छ ।

यसैगरी फेरि जयनगरबाट दिउँसो १:४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३:१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३:१५ बजे सञ्चालन भई दिउँसो ४:४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिनुभयो ।

दिउँसो ४:४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उहाँले भन्नुभयो । यो रेल साँझ ७:१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ ।

यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ ।

विसं १९९४ मा जुद्धशम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।

नेपालमा पहिलो रेल सेवा १९८४ सालमा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्ण कर्पोरेशनसँग रु ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/33150