Home Blog Page 120

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता हुनुभएको छ ।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33149

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापा- विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।

भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् ।

भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौँ, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र रु तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । “उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो”, खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्नुहुन्छ, “अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।”

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक रु पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक रु १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो ।

अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा रु ३५ मा खरिद गरिएको उहाँले बताउनुभयो ।

वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ ।

ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुनुहुन्छ । उहाँलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताउनुभयो ।

ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । “कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो”, थापाले खेतीको अनुभव सुनाउँदै भन्नुभयो– “पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।”

झापाको उत्पादनलाई काठमाडौँको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी रु ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताउनुहुन्छ । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उहाँको भनाइ छ ।

भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौती खडा गरेको कृषकहरूको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार पाउने उनीहरू बताउँछन् ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए पनि वास्तविक किसानले मल, बीउ, सिँचाइ, उपकरण र बजारीकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको सञ्चालक निरौला बताउनुहुन्छ ।

चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आउनुभएका दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनुपरेको बताउनुहुन्छ । सरकारले सिँचाइका लागि पाइप र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उहाँको भनाइ छ ।

भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईवस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए पनि रासायनिक मलको सधैँ अभाव रहने जैसवालले जानकारी दिनुभयो ।

“कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन”, उहाँ भन्नुहुन्छ, “हामीलाई कृषि उपकरण, ट्रयाक्टर, ढुवानी गर्न गाडी, सिँचाइका लागि पाइपलगायत सामग्री चाहिएको छ ।”

https://ujyaalonepalnews.com/archives/33148

जुवातास खेल्ने ९० जना पक्राउ

काठमाडौँ- तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ ।

काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ७६ हजार आठ सय ३५ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ४० हजार आठ सय ५५ र एक बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय इन्द्र पाठकसमेत २८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख ५८ हजार छ सय ९४ र ताससहित पक्राउ गरेको हो ।

यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ बस्ने ३८ वर्षीय दीनेश खत्री लगायत छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद रु २५ हजार चार सय ६० र तास पाँच थानसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रामबहादुर राना समेत आठ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २२ हजार ४० र तास एक बुकसहित पक्राउ गरेको हो ।

यसैबीच सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद रु २२ हजार सात सय ६०, एक बुक तास र ३३ वटा कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डडेल्धुरा, अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओमप्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २१ हजार तीन सय ७९ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत सात जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ४३ हजार तीन सय र तासको गड्डी छ थानसहित पक्राउ गरेको हो ।

सङ्खुवासभा, चैनपुर नगरपालिका–३ तीनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ३८ हजार तीन सय २५ र एक बुक ताससहित पक्राउ गरेको हो । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत गरिरहेको जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/33147

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला

काठमाडौं- दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

https://ujyaalonepalnews.com/archives/33146

आज भाइटीका, ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

काठमाडौँ- नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ’

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

https://ujyaalonepalnews.com/archives/33145

तिहारमा खर्चको व्यवस्थापन

काठमाडौँ- यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ ।
तिहारको दक्षिणा 
तिहारमा आफ्ना दिदीबहिनीलाई दक्षिणामा केही दिनुपर्छ । यसमा दिदीबहिनीले गरेको खर्चमा कमी हुन नदिने सोच एकप्रकारले उत्तम मानिन्छ । तथापि, आफ्नो हैसियतभन्दा ठूलो रकम दक्षिणास्वरुप दिने चलनमा सुधार गर्नुपर्छ । दिदीबहिनीभन्दा दाजुभाइको आर्थिक हैसियत उच्च भएमा मनकारी भएर दक्षिण दिन सकिन्छ । तर, दिदीबहिनीको तुलनामा दाजुभाइको आर्थिक हैसियत कमजोर भएमा अरुलाई देखाउने प्रयोजनका लागि बढी दक्षिणा दिनु हुँदैन । दिदीबहिनी र दाजुभाइ सबै उमेरले पाका छन् र ती सबै छोराबुहारी वा छोरीज्वाइँमा आश्रित छन् भने ती पाका उमेरका मानिसलाई नै सोधेर दक्षिणाको रकम निर्धारण गर्नुपर्छ । तिनको चित्त दुखाउनु हुँदैन ।
दिदीबहिनी र दाजुभाइ साना उमेरका छन् र सबै व्यवस्थापन अभिभावकले गरिदिनुपर्ने भए दक्षिणामा सय-पचास रुपैयाँको व्यवस्था गर्नुपर्छ । यसबाट बालमनोविज्ञानमा चाडपर्वमा नचाहिँदो तडकभडक गर्नुहुँदैन र फजुल खर्च हुनुहुँदैन भन्ने ज्ञान जागृत हुनेछ । नगदको सट्टा वस्तु वा सामग्री दक्षिणाका रुपमा दिने भए दिदीबहिनीलाई सोधेर खरिद गर्नु राम्रो हुन्छ । दाजुभाइलाई पनि टीकामा अनावश्यक खाद्यवस्तु दिनुको सट्टा उनीहरुको आवश्यकता बुझेर कुनै मालवस्तु उपहारमा दिनु राम्रो हुन्छ । दक्षिणालाई नभई दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई महत्व दिनुपर्छ । एअर्कामा दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना नै सबैभन्दा ठूलो दक्षिणा वा उपहार हुन सक्दछ ।
अनपेक्षित उपहार
यथार्थमा तिहारको टीकासँगै आफ्ना दाजुभाइलाई आफैँले मिहेनत गरी पकाएर आफैँले पस्किएर खाना खुवाउनुपर्छ । यदि आप्mनो खेती किसानी छ वा करेसाबारी छ वा कौसीखेती छ भने सोही उत्पादन खुवाउनुपर्छ । बारीमा काँक्रो फलेको छ भने बजारको स्याउभन्दा काँक्रो दामी उपहार मानिन्छ । आफैँले खाँदेको गुन्द्रुक, आफैँले काटेको चाना वा आफैँले बनाएको मस्यौरा घरमा छ भने सो तरकारी किनेको परवर वा भण्टाभन्दा उत्तम मानिन्छ ।
घरमा गाईभैँसी छन् भने दाजुभाइलाई दूध, दही, घ्यू, मोही खुवाउँदा बजारमा किनेको मासुलेभन्दा बढी सन्तुष्टि दिनेछ । यसरी आफ्नो घरको, नेपालकै उत्पादन, अर्गानिक तरकारी, नेपाली खाना खुवाएर यसपटकको तिहारमा दाजुभाइलाई अनपेक्षित उपहार दिन दिदीबहिनीलाई आह्वान गर्दछु ।
दिदीबहिनीलाई उपहार 
तिहारमा हात खाली गरेर टीका लगाउन सकिन्न । यसर्थ, दिदीबहिनीलाई यसपटक साविकको भन्दा फरक उपहार दिन दाजुभाइहरुलाई पनि आग्रह गर्दछु । यसर्थ, यसपटकको तिहारमा आफूलाई मनपरेको किताब उपहारमा दिन विशेष आग्रह छ । दिदीबहिनीलाई दक्षिणारुवरुप नेपालका उत्कृष्ट स्थानको भ्रमणमा लैजान सकिन्छ । दिदीबहिनीले कुनै सीप सिक्न चाहेको भए सोको प्रशिक्षण शुल्क तिरी दिन सकिन्छ वा त्यससँग सम्बन्धित उपकरण दक्षिणामा दिन सकिन्छ ।
दिदी, भिनाजु वा बहिनीज्वाइँको ठूलो फोटो बनाएर फ्रेमिङ गरी घरमा सजाई दिन सकिन्छ । यसैगरी, नेपाली कलाकृति झल्किने थाङ्का, पत्थर वा काठका कलात्मक वस्तु उपहारमा दिन सकिन्छ । दिदीबहिनीको घरमा खाली जमिन छ भने बुद्धचित्र वा रुद्राक्षलगायतको बिरुवा उपहारमा दिन सकिन्छ । जे होस्, पोहोरपरार झैँ यस वर्षको तिहारमा पनि दिदीबहिनीलाई महिलाले प्रयोग गर्ने झोला, कुर्ता सुरुवाल, साडी चोलो वा पछ्यौरी दिनुको सट्टा नेपाली उत्पादनको सिर्जनशील उपहार दिन आमदाजुभाइलाई उत्पेरित गर्दछु ।
मदिरा र पटकारहित तिहार 
तिहारलाई मदिरारहित मनाउन विशेष आग्रह गर्दछु । सामान्यतः दाजुभाइले रक्सी पिएकामा खुसी मान्ने दिदीबहिनी बिरलै होलान् । यसर्थ, आफ्नी प्रिय दिदीबहिनीका लागि दक्षिणास्वरुप यसपटक ‘ड्राई’ अर्थात् मदिरारहित तिहार मनाउन सल्लाह दिन्छु । तिहारको मासु पचाउन मूला खाऔँ, रक्सी नपिऔँ । भाइ मसला पचाउन हिँडडुल, घुमफिर गरौँ । दिदीबहिनीले प्रेमपूर्वक दिएको खानेकुरा मज्जाले खाऔँ र पचाउन उनै दिदी बहिनीसँग जमेर सुख दुःखका कुरा गरौँ ।
यसपटकको तिहारलाई पटकारहित बनाऔँ । पटका बिक्री गर्ने पसलेलाई चेतावनी दिऔँ । आफ्नो घरका केटाकेटीलाई पटका पड्काउन नहुने सन्देश जारी गरौं । टोल छरछिमेकमा पनि यस्तो हर्कत हुन लागे हस्तक्षेप गरौँ र शान्तिपूर्ण र सभ्य समाज निर्माणका लागि सबैले प्रहरीको भूमिका निर्वाह गरौँ ।
तिहारमा के गर्ने त ? 
सम्भव भए तिहारमा शाकाहारी हुने कोशिस गरौँ । मासुलाई रक्सीले पचाउने होइन, खाएपछि घुमफिर गर्न घरबाट बाहिर निस्किऔँ वा आपसमा बसेर रमाइला कुरा गरेर समय बिताउन सकिन्छ । तास खेलेर समय बर्बाद गर्नुभन्दा पिङ खेलेर रमाउन सकिन्छ, केटाकेटीसँंग क्यारेमबोर्ड खेल्न सकिन्छ । केटाकेटीहरुसँग बसेर चेस खेल्ने, लूडो खेल्ने गर्दा उनीहरुको वौद्धिकता पनि बढ्छ तर बिर्सिएर पनि लंगरबूर्जा नखेलौं । कौंडा नहानौं । तिहारका सबै दिन फरक फरक ढङ्गले परिवारसहित खुसी हुने योजना बनाऔं । तिहारमा कुनै पनि प्रकारको खराव कामलाई प्रश्रय नदिऔँ ।
तिहारको खानपिन 
तिहारमा खानपिनमा पनि ख्याल गर्नुपर्ने हुन्छ । तिहारमा अत्याधिक मासु खाने प्रचलनलाई निषेध गर्नै पर्ने भएको छ । दाजुभाइलाई खुवाउन भनेर मासुमा बेस्सरी चिल्लो र पिरो नहालेर पनि स्वादिष्ट बनाउन सकिन्छ । मिठार्ई, दही, अचारलगायतका वस्तु पनि रुची नहुँदा पनि कोची कोची खाने गर्नु हुन्न । बासी खानेकुरा पटक्कै नखाऔं । सामान्यतः खाना तयार गरेको चार घण्टापछि वासी हुन्छ । यस कुरालाई विचार गरी ठिक्क पकाउने र समयमै खाने गर्दा स्वास्थ्यलाई फाइदा गर्दछ ।
बिहानको खाना बेस्सरी खाइएको छ भने साँझको खाना हल्का गरी खाएमा पाचन प्रणालीलाई सजिलो हुन्छ । विश्वमा अस्वभाविकरुपमा खाना खाएरै वर्षेनी करोडौ मानिस विरामी हुने गरेका छन् । यसर्थ, एक पटक पकाउन प्रयोग भएको तेलको पुर्नप्रयोग गर्नु हुँदैन । मासु खानेले छाला र बोसोरहित मासु मात्रै खाएमा त्यसले शरिलाई बिकार गर्दैन ।
भाइ मसलामा पर्ने काजु, किसमिस, हाडेबदाम, छोकडालगायतका वस्तुमा फोहोर हुन सक्छ, राम्ररी पखालेर, सुकाएर खाने गर्नुपर्छ । मिठाई बनाउँदा अखाद्य रङको प्रयोग गर्नु हुँदैन । त्यस्तो रङ्मा विभिन्न रासायतिनक तत्वहरु मिसाइएको हुन्छ । खाना खानुपूर्व भोक जगाउने र खाना खाएपछि पचाउने बस्तुको चक्र मिलाएर खाने गरेमा राम्ररी पच्ने र शरिरलाई फाइदा पुग्दछ ।
भ्रम हटाऔँ 
तिहारै सबैको हो । यसर्थ, सबैले आ-आफ्नै ढङ्गले यस वर्षको तिहार मनाऔँ । यो पटक जत्ति खुसी कहिल्यै भइएन भन्ने वातावरण तयार गरौं । दिदीबहिनी र दाजुभाइबीचको आत्मियता वृद्धि हुने काम मात्रै गरौं । यस्मा कटुता प्रकट हुने वा सम्बन्ध चिस्सिने कुनै पनि हकर्त नगरौं ।
तिहारमा नयाँ लुगा लगाउनै पर्ने, मासु खानै पर्ने, तास जुवा खेल्नै पर्ने, मदिरा सेबन गर्ने पर्ने जस्ता कुरालाई दिमागबाट हटाऔं । शान्तपूर्वक, शिष्टतापूर्वक तिहार मनाउन सकिन्छ । दक्षिणा लिंदा वा दिंदा नोटलाई जथाभावी फोहोर नगरौं । देखासिकी गरेर फजुल खर्च नगरौं । सबैले आफ्नो सोचमा रुपान्तरणको प्रयास गर्न सकिएमा चाडपर्व रमाइलो र सद्भावपूर्ण हुनुको साथै कसैलाई खर्चको बोझ पनि हुँदैन ।
तिहारको शुभकामना 
तिहारमा सबैले सबैलाई शुभकामना आदनप्रदान गरौ । यसले आपसी समझदारी, सम्बन्ध र सद्भाव बढाउन मद्दत पुग्दछ । तिहारपछि नयाँ उत्साह र उमङ्गका साथ काम गर्ने वातावरण निर्माण हुन सक्दछ । मानिसमा कुनै ध्रमपान, मद्यपान, लागूऔषध सेवन वा अन्य खराव बानी भए यस वर्षको तिहारपछि त्यस्तो बानी त्यागी आफ्नो जीवनलाई नै नयाँ बाटोतिर लैजाने अवसर हुन सक्दछ । कुनै नयाँ काम गर्ने सोच छ भने यस वर्षको तिहारदेखि सो पुनित कार्यको आरम्भ गर्न सकिन्छ ।
(लेखक नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ)

https://ujyaalonepalnews.com/archives/33144

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो ।

प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।

केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ ।।

https://ujyaalonepalnews.com/archives/33143

प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा

बागलुङ- नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन् । जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ । पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन् ।
यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ । पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन् । तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे । तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल विक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन् । नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो ।
विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सकटमा पर्न थालेको हो । पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरु मोबाइल, डेक र ठूला–ठूला स्पिकरमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ ।
एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ । बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन् । पहिले–पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि विक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउनुहुन्छ ।
आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुःखेसो पोख्नुभयो । “पेसा धरापमा पर्दै गएको छ, रोजीरोट घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने ?, बनाएका सामान विक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थे” उहाँले भन्नुभयो, “ कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पु¥याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङ्गरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्ने बाहेक अरु केही उपलब्धि छैन ।”
विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन् । हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ ।
युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् ।सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आउनु भएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गर्नुभयो । विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल विक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुुनाउनुभयो । उहाँ मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ–गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नु पर्ने बताउनुहुन्छ । जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपाली बताउनुहुन्छ ।
आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उहाँले सुनाउनुभयो । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने उहाँको भनाइ छ । मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताउनुभयो । अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उहाँको भनाइ छ । पहिले विदेल जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उहाँ सम्झिनुहुन्छ ।
नेपाली भन्नुहुन्छ, “मैले मादल बनाउन थालेको २२÷२२ वर्ष भयो, काम सुरु गर्ने बेला धेरैले हेप्थे, छालाको काम गर्छ भन्थे, त्यस्तो भन्दा मन खिन्न हुन्थ्यो, पछि–पछि मादल विक्री भएर पैसा कमाउन थालेपछि जसले जे भने पनि मैले केही मतलब नै राखिन, परिवार राम्रोसँग चलेको थियो, छोराछोरी पढाउने, हुर्काउने पनि यहीँबाट भयो, वर्षभरि मादल बनायो, तिहार आउने बेला बेच्ने गरिन्थ्यो, कुनै मेला महोत्सवमा पनि लगेर पनि विक्री हुन्थ्यो, अहिले जहाँ लगेर राखे पनि विक्री नै हुँदैन, हातमा भएको सीप बिक्न छोड्यो ।”
पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको धेरैको बुझाई छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेपछि व्यवसायीहरु पनि पलायन हुने अवस्था आएको छ । अचेल देउसी भैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन् । साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ । तर मादल दुई हजार पाँच सय रुपैयाँमै पाइन्छ । मादल सस्तो हुँदा हुँदै पनि देउसी भैलो खेल्नेहरुले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन् । भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताउनुभयो ।
उहाँले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको बताउनुभयो । आफ्ना पालामा तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरु देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको उहाँको भनाइ छ । सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउनुहुन्छ । आफूहरुको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ । स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उहाँ बताउनुहुन्छ ।
“हाम्रो जिजु बाजेदेखि नै चल्दै आएका रीतिथिति हामीहरुले मनायौँ, उहाँले गाउने गीत, बनाउने, मादल, डम्फु हामीहरुले पनि बजायौँ, हाम्रो पालासम्म पुराना संस्कृतिहरु बँचेका थिए, अहिले हामीहरु नसक्ने भयौँ, बुढेसकाल लाग्यो, हात पाखुरा चल्दैनन्” उहाँले भन्नुभयो, “हाम्रो पालामा अहिलेको जस्तो गीत बजाउने, सुन्ने चलन थिएन, उतिबेला त हामी आफैँ गाउने, बजाउने र मेला महोत्सवमा रमाइलो गर्ने चलन थियो,  रोधी बस्ने पनि गरिन्थ्यो अहिले त यो कहीँ कतै सुनिदैन, रोधी जस्तै तिहारमा नाच्ने मारुनी र सोरठी पनि लोप भएर जाने भए ।”पछिल्लो समय मादल विक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरु बताउँछन् । ठूला–ठूला मेला महोत्सवका लागि मात्र विक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन् ।
 स्पिकरमा रेकर्ड गरेको गीत बजाएर नाच्न सहज हुने हुँदा धेरैले साउण्ड सिस्टम किन्न थालेको बागलुङका मिलन सुवेदीले बताउनुभयो । उहाँले यस वर्ष तिहार अगाडि नै ७० वटा साउण्ड सिस्टमका लागि माग आएको हुँदा आफूले काठमाडौँदेखि १०० बढी खरिद गरेर ल्याएको भन्दै त्यसले नपुगेर थप डेढ सय मगाएको बताउनुभयो । आफ्नो पसलबाट हरेक गाउँ र बजारमा साना ठूला माइक तथा स्पिकरहरु पुग्ने हुँदा आम्दानी पनि राम्रो गर्न सफल भएको उहाँको भनाइ छ । आफूले १३ वर्षदेखि घडी, रेडियो, टिभी, मोबाइल लगायतका विद्युतीय सामग्री विक्री तथा मर्मत गर्दै आएको बताउँदै सुवेदीले तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढेकाले यसको व्यापारतिर लागेको बताउनुभयो ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरु गरेको बताउनुभयो । “हामी सानो हुँदा हाम्रो बुबा, हजुरबुबाहरुले तिहार र मेला महोत्सवको बेला गीत गाएर मादल बजाउँदै नाच्ने गर्नुहुन्थ्यो’’, अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘‘कला संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै नयाँ पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दै छौँ ।” पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरु लोप भएको अध्यक्ष बुढा मगरले बताउनुभयो । युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उहाँको भनाइ छ ।।

https://ujyaalonepalnews.com/archives/33142

पनौतीमा भिन्तुना सम्पदा र्‍याली

काभ्रे- नेपाल सम्वत ११४४ को अवसरमा पारेर पनौतीमा भिन्तुना सम्पदा र्‍याली गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा आयोजना गरिएको र्‍याली बागमती प्रदेशका खानेपानी तथा सिंचाई मन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले संस्कृतिको सम्बर्द्धन र प्रर्वद्धनका लागि स्थानीयको सक्रियता सकारात्मक रहेको बताउँदै समुदायको हित र चाहना अनुसार चाडपर्वलाई ब्यवस्थित र सभ्य बनाउनुपर्ने बताउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारील नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यो सबै नेपालीको भएको बताउनुभयो । उहाँले ’संखधर साख्वाले नेवारको मात्र ऋण मोचन गरेका होइनन्, उहाँले सबै जातजातिलाई ऋण मुक्त गराएका थिए, त्यसैले साख्वा सबै नेपालीको राष्ट्रिय विभूति हुन् र नेपाल सम्वत् सबै नेपालीको राष्ट्रिय सम्वत् भएको बताउनुभयो ।
लगातार ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो । भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउने अध्यक्ष निवास श्रेष्ठले बताउनु भयो ।
पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभुषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवि नाच लगायत डेड दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत गरिएको थियो ।
पनौतीको महालक्ष्मी पमाडीटोलबाट शुरु भएको झाँकी सहितको र्‍याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावीबाट अघि बढेर सभामा समापन भएको थियो ।

https://ujyaalonepalnews.com/archives/33141

नेपाली सेनाद्वारा १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार

काठमाडौँ- नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

https://ujyaalonepalnews.com/archives/33140