https://ujyaalonepalnews.com/archives/33139

https://ujyaalonepalnews.com/archives/33139

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/33138

काठमाडौँ- भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
“आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भन्नुभयो ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
https://ujyaalonepalnews.com/archives/33137

काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषणको ठूलो समस्या झेलिरहेको छ । यसै सन्दर्भमा दिल्लीका वातावरण मन्त्रीले प्रदुषणको स्तर घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ ।
दिल्ली सरकारको योजना सफल हुन सर्वोच्च अदालतका साथै धेरै संघीय मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ । यदि त्यसो भएमा मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।
दिल्लीमा लाग्ने बाक्लो तुवाँलो मुख्य समस्याका रुपमा हेरिएको छ । दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।
तर दिल्लीको प्रदूषणले सर्वसाधारणको घाँटी नै थिचेर विश्वव्यापी हेडलाइन बनाइरहँदा राजनीतिक नेताहरू समाधानको लागि उदासिन देखिएका छन् । विगत दुई सातामा वायुको गुणस्तर तोकिएको मापदण्डभन्दा १० गुणा खराब भएको छ ।
केही दिन अघि भएको सानो वर्षाले प्रदुषण केही कम गरेको थियो । तर दिवाली पर्व मनाउने क्रममा गरिएको आतसवाजी र पटाकाको धुँवाले हिजोदेखि फेरि वायुको गुणस्तर खतरनाक भएको छ । प्रदुषणकै कारण दिल्लीका विद्यालयमा जाडोको बिदा अगाडि सारिएको छ ।
https://ujyaalonepalnews.com/archives/33136

म्याग्दी- मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् ।
यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयो ।
“कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,” उहाँले भन्नुभयो “चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरुले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने भएका छन् ।”
यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो । सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् ।
कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।
विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।
दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाएका उहाँले बताउनुभयो । चीनको नेचुङ–लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको थियो ।
सो अवसरमा नेपाल तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।
दुवै सररकारका प्रतिनिधिहरुको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चिनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाहरुलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।
लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमीमा पाँच प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन । नेपालमा थिएनन् ।
चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो । चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् । चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।
नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको जनाइएको छ ।
https://ujyaalonepalnews.com/archives/33135

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिनुभयो ।
इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।
https://ujyaalonepalnews.com/archives/33134

म्याग्दी- मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि खुलेको छ । नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।
चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबारदेखि नाका खोलिएको हो ।
दुवै सररकारका प्रतिनिधिको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।
मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।
कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारजना सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।
“प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भन्नुभयो, “कोरला नाकाको नजिकै नेपाली भूमिमा अस्थायी संरचना बनाएर सुुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ ।”
नेचुङ सशस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।
विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।
लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहवरमा दुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । नेपालमा थिएन ।
चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो । चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।
https://ujyaalonepalnews.com/archives/33133

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
बली, हलि एवम् गोरु पूजा
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।
https://ujyaalonepalnews.com/archives/33132

काठमाडौँ- नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ ।
भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो ।
देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ । शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
https://ujyaalonepalnews.com/archives/33131

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहनुभएको बताउनुभयो ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको जनाउनुभएको छ ।
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
https://ujyaalonepalnews.com/archives/33130
