Home Blog Page 123

भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइयो ।

प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपमालिकासमेत गरेर मनाइने पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा पनि विधिपूर्वक लक्ष्मीपूजा गरियो । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको थियो । उज्यालोले घरबाहिरको वातावरण नै उल्लासमय बनेको छ ।

उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिएको छ । साँझ युवतीहरू समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उहाँले भन्नुभयो ।

कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । बिशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङ लगायतका स्थानमा सर सफाई गरी दीपावली समेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/33119

भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने

काठमाडौँ- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५÷२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताउनुभयो । “भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न रकम र प्राविधिक पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङग्रिने डर हुन्छ ।” विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने उहाँले बताउनभयो ।

सहरी विकासमन्त्री सीता गुरुङले अस्थायी आवासका लागि जस्तापाता प्वाल नपारिकन प्रयोग गर्नुपर्ने तथा अस्थायी आवास नबनाउनेलाई थप किस्ता नपाउने गरी मापदण्ड बनाउनुपर्ने बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी प्रभावित हुने भएकाले तत्काल अस्थायी आवास बनाउन जरुरी भएको उहाँको भनाइ थियो ।

समितिका विज्ञ सदस्य डा गङ्गालाल तुलाधरले अस्थायी अवास निर्माणका लागि तत्काल रकम निकासा गर्नुपर्ने र विपद् व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्ने, प्रदेश सरकारले अनुगम गर्ने र सङ्घीय सरकारले स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा समितिका सदस्य सचिव अनिल पोखरलले जाजरकोट भूकम्पमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

https://ujyaalonepalnews.com/archives/33118

जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया

कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

https://ujyaalonepalnews.com/archives/33117

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौँ- यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

https://ujyaalonepalnews.com/archives/33116

जीप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सातजना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

https://ujyaalonepalnews.com/archives/33115

उत्तरी गोरखामा घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ ।

७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिवार राती दश बजे खवर आएको बताउनुभयो । खवर लगतै त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको उहाँले जानकारी दिनुभयो ।

गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लागेको बताउँदै उहाँले आगो नियन्त्रण पश्चात घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

चिसोका कारण न्यानो बनाउँन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33114

पूर्वी नवलपरासीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, एकजना घाइते

देबचुली (नवलपरासी)- पूर्बी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।

ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रीत भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।

जिल्लाको अर्खलााबट दलदले आउँदै गरेको बोलेरो जीप बिहान बजे देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।

जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33113

तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

काठमाडौं- तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न पनि सुरु हुँदैछ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको मानिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/33112

झिलिमिलीको पर्व तिहार

काठमाडौं- दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड ।

हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । आज लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका छन् ।

काठमाडौँका सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन् । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पार्ने प्रचलन रहीआएको छ ।

साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अजम्बरी अनुभूति प्रदान गर्दछ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश यो पर्वले दिने विश्वास गरिन्छ ।

https://ujyaalonepalnews.com/archives/33111

महाकवी देवकोटाको ११५औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

देवकोटाले विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसार गर्न समेत महत्वपूर्ण योगदान दिएका थिए ।

नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

https://ujyaalonepalnews.com/archives/33110