Home Blog Page 122

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ ।

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताउनुभएको छ ।

यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33129

नेपाल संवत्‌बाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको मौलिक नेपाल संवत्, ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्‌को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो ।

“शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवं दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गर्नुभएको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

“शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33128

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गर्नुभएको छ । उहाँले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाउनुभयो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताउनुभयो ।
“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।” महामन्त्री थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको महामन्त्री थापाको आरोप  छ । उहाँले भन्नुभयो– “सरकारले यो कदम सच्याउनुपर्छ ।”

https://ujyaalonepalnews.com/archives/33127

सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यकपर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु आठ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनःथापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै थप रु एक अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । उक्त अध्ययनका लागि सरकारका मुख्यसचिवलाई जिम्मेवारी दिइएको छ । मुख्यसचिवले अध्ययन गरेपछि प्रतिवेदन पेस गर्ने बैठकको निर्णय छ ।

मन्त्रिपरिषद्ले भूकम्पका कारण आवास पूर्ण क्षति भएका र आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधैँ उपलब्ध गराउने छन् । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने मन्त्रिपरिषद्को निर्णय छ ।

बैठकले सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने, सङ्घ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले अस्थायी आवास निर्माणलगायत कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै भूकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धन खर्चबापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले यही कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33126

नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/33125

ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन

चितवन- धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उहाँले बताउनुभयो ।

यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उहाँले जानकारी दिनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उहाँले बताउनुभयो । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उहाँले भन्नुभयो, “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।”

निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।–

https://ujyaalonepalnews.com/archives/33124

आगलागीहुँदा ५० लाखभन्दा बढीको क्षति

सुनसरी- गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो ।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको रकेट बम जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33123

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौँ- काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ ।

भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ ।” प्रजिअ बस्नेतले भन्नुभयो ।

उहाँले भन्नुभयो,“आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।” जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33122

मन्दिरमा बल्ब राख्‍ने क्रममा करेन्ट लागेर मृत्यु

रामेछाप- दिपावलीका दिन मन्दिरमा पुजा गर्नका लागि बल्ब राख्न गएका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ५ काभ्रेचौरका ३५ बर्षका महेन्द्र कडेंललाई आफ्नै घर नजिकैको मन्दिरमा बल्ब राख्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

कडेंललाई आइतबार करेन्ट लाग्ने बित्तिक्कै उपचारका लागि काठमाण्डौं पुर्‍याइएको भएपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

दिपावलीका दिन मन्दिरमा उज्यालो बनाएर पूजा गर्ने उदेश्यले कडेंल मन्दिरमा बल्ब राख्न गएका थिए । बल्ब राख्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ ।

https://ujyaalonepalnews.com/archives/33121

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/33120