Home Blog Page 124

कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभएको छ ।

भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्रीद्वयले नागरिकको अपेक्षा र आफ्ना सुझावसहित प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको हो ।

राहत वितरणको जारी क्रमलाई थप व्यवस्थित गर्न जरुरी देखिएको उल्लेख गर्दै महामन्त्रीद्वय थापा र शर्माले ‘नेतृत्व स्थानीय सरकारको, सहकार्य सर्वदलीय संयन्त्रको’ नीतिलाई हरेक वडा तहसम्म कार्यान्वयन गर्न÷गराउन सुझाव दिनुभएको छ ।

चिसो बढ्दै गएको तथा सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई चिसोले थप कष्टकर अवस्थामा पुर्‍याउने हुँदा मङ्सिर मसान्तसम्ममा सबैका लागि अस्थायी आवास निर्माण गरिसक्न युद्धस्तरमा काम अघि बढाउन जरुरी रहेको भन्दै उहाँहरुले ध्यानाकर्षण गराउनुभएको छ ।

समग्र पुनःनिर्माण कार्य सक्न वर्ष दिन या सोभन्दा बढी समय लाग्नसक्ने व्यावहारिक स्थिति दृष्टिगत गरेर व्यक्तिको अस्थायी आवास युद्धस्तरमा निर्माण गर्न सरकारले आज भोलि नै प्रत्येक प्रभावित परिवारलाई न्यूनतम् रु ४० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गर्न र तिहारलगत्तै सम्बन्धित परिवारको हातमा पुग्ने बन्दोबस्त मिलाउन महामन्त्रीद्वय थापा र शर्माले प्रम दाहाललाई आग्रह गर्नुभएको छ ।

अस्थायी आवास निर्माण गर्न स्वयं सक्षम परिवारबाहेकको हकमा पनि हजारौँ स्वयंसेवी परिचालन गर्नुपर्ने र यसका लागि सरकारले आफ्नो सुरक्षा संयन्त्र परिचालनका साथै राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन एवं विभिन्न सङ्घसंस्थालाई आह्वान गर्न जरुरी रहेको उहाँहरुको भनाइ छ ।

कांग्रेसले यो अभियानमा पीडित र सरकारका साथमा रहेको र पहिलो चरणमा एक हजार अस्थायी आवास स्वयंसेवी दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने जानकारी गराएको छ ।

अस्थायी आवास कम्तिमा एउटा जाडो र एउटा वर्षा झेल्नसक्ने गरी निश्चित मापदण्डका आधारमा बलियो बनाउन जरुरी रहेको तथा यसका लागि हरेक वडामा सुरुमा एउटा नमुना घर बनाउन र अन्य घर बनाउँदा त्यसलाई अनुकरण गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माको सुझाव छ ।

प्रभावित क्षेत्रबाट काठमाडौँ फर्किनुअघि महामन्त्रीद्वय थापा र शर्माले भिन्न दुई पालिकामा दुई नमुना घर बनाएर पीडितलाई हस्तान्तरणसमेत गरेका छन् । यसबारे अवगत गराउँदै महामन्त्रीद्वयले अन्य ‘मोडल’ को निर्माणसँगै ११ जनाको समूहले छ घण्टामा ४० हजारभन्दा कम रकममा बनाउन सकिने ती दुवै घर नमुनाका लागि उपयुक्त हुनसक्ने प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा आंशिक क्षतिग्रस्त भनिएका÷देखिएका घरमध्ये केही बाहेक प्रायः बस्न मिल्ने अवस्थामा छैनन् । यसरी हेर्दा भूकम्प प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षित र सम्मानजनक ढङ्गले बस्न मिल्ने आवास बनाउनुपर्ने सुझाव दिँदै महामन्त्रीद्वय थापा र शर्माले यसका लागि २०७२ सालमा झैँ निश्चित रकम सबैलाई सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभएको छ ।

आफ्नो रुचिको आकारमा निर्माण गर्न चाहनेका लागि बैंकिङ प्रक्रियामार्फत सफ्ट लोनको सहजीकरण गर्ने निर्णय सरकारले गर्नुपर्नेमा उहाँहरुले माग गर्नुभएको छ ।

‘सांसद विकास कोष’को रकम भूकम्पपीडितको राहतमा परिचालन गर्न सुझाव

राहतदेखि अस्थायी आवास हुँदै पुनःनिर्माणसम्म पुग्दा अर्बौं रुपैयाँ खर्च हुने देखिएको उल्लेख गर्दै महामन्त्रीद्वय थापा र शर्माले दाताहरूको सहयोग प्रतीक्षा र परिचालनसँगै ‘सांसद विकास कोष’ का रूपमा परिचित कार्यक्रमका लागि गत बजेटमा सरकारले छुट्याएको आठ अर्ब बढीको रकम सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएका कारण जो ‘फ्रिज जस्तै’ अवस्थामा छ, सो रकमको सर्वोत्तम उपयोग सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा लगाउन माग गर्नुभएको छ ।

महामन्त्रीद्वयले थापा र शर्माले अस्थायी आवास निर्माणको कामसँगै विपत्पछिको पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकता पहिचानको काम पनि अविलम्ब सुरु गर्नुपर्ने बताउनुभएको छ । यसका लागि प्रादेशिक योजना आयोगलाई जिम्मेवारी दिनु उपयुक्त हुने र प्रादेशिक योजना आयोगलाई राष्ट्रिय योजना आयोग र विपद् प्राधिकरणले मार्गदर्शन र आवश्यक सहयोग पुर्‍याउनु पर्ने उहाँहरुको सुझाव छ ।

मङ्सिर महिनाभित्र पुनःनिर्माण र पुनःस्थापना पहिचानको काम सकेर, कार्यान्वयनपूर्व थप जोडका लागि कर्णालीमा नै ‘पुनःनिर्माण बृहत् सम्मेलन’ आयोजना गर्नु उपयुक्त हुने महामन्त्रीद्वयको सुझाव छ ।

भूकम्पमा घाइते भएकाको सम्पूर्ण उपचारमा पर्याप्त ध्यान केन्द्रित गर्नुपर्ने साथै अन्य बिरामीले सहज उपचार पाउने वातावरण निर्माण गर्न खोप, पोषण, प्रसूति सेवालगायतका नियमित, अत्यावश्यक तथा आकस्मिक सेवा प्रभावित हुन नदिन तथा मनोसामाजिक परामर्शसमेतका लागि विज्ञसँगको समन्वयमा छुट्टै र विशेष संयन्त्र निर्माण गर्नुपर्ने उहाँहरुले बताउनुभएको छ । गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका, नियमित औषधि खानुपर्ने बिरामी तथा जोखिममा रहेका नागरिकलाई त्यसले सहज बनाउन सक्नेछ ।

महामन्त्रीद्वय थापा र शर्माले जाजरकोट र रुकुमपश्चिममा सयौँ विद्यालय पूर्णरुपमा क्षति भएको तथा विद्यालय बन्द रहेको र २०७२ सालको भूकम्पले हामीलाई सिकाएकाले यस्तो बेलामा विद्यालय पुनःनिर्माण नहुँदासम्म विद्यार्थीको सिकाइ प्रभावित हुन नदिन अस्थायी सिकाइ केन्द्र निर्माण र सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँहरुले वैकल्पिक सिकाइ प्रारम्भ गर्नुपर्ने र यसका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई विद्यार्थीको सिकाइ प्रभावित नहुनेगरी पठनपाठन सञ्चालन भएको सुनिश्चितता गर्न प्रम दाहालको ध्यानाकर्षण गराउनुभएको छ । भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको अध्ययनको अभिभावकत्व मानवीय भावनाका शिक्षासेवीको साथले कांग्रेसले लिने उहाँहरुले जानकारी गराउनुभएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले व्यवसायी र व्यवसायको संरक्षण एवं श्रमिकलाई सहयोग पुग्ने गरी उच्च प्राथमिकता साथ आर्थिक उत्प्रेरणाको कार्यक्रम ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको छ । व्यवसाय क्षति भएका व्यक्तिलाई पुनःस्थापनामा सघाउन सरकारले राष्ट्र बैंकसँगको समन्वयमा सहज बैंकिङ ऋणको व्यवस्था र ऋणको साँवा र ब्याज चुक्ता गर्न निश्चित समयावधि थप गर्नुपर्ने महामन्त्रीद्वयको सुझाव छ ।

https://ujyaalonepalnews.com/archives/33109

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले चार स्थान तोक्यो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ ।

दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो ।

महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डे स्पष्ट पार्नुभयो ।

महानगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गर्दै आगामी दिनमा अझ व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ ।

नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ ।”

विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सो अवसरमा जानकारी दिइयो । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ ।

अध्यक्ष तामाङले उपभोक्तालाई नेपाली उत्पादनको प्रयोगका लागि आह्वान गरिएकाले अस्वाभाविक मूल्यवृद्धि नगर्न र सहुलियत मूल्यमा उपलब्ध गराउन किसान र व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपाल चेम्बर्स अफ कमर्श काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्‍याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पुर्‍याउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि सुनिता न्हेमाफूकीले मुलुकको फूलको ठूलो बजार काठमाडौँ उपत्यका भएकाले महानगरपालिको स्वदेशी उत्पादन प्रवद्र्धन र सम्मान गरौँ भन्ने अभियानले किसानलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष उद्धव अधिकारीले नेपाल बहुधार्मिक, बहुसास्कृतिक र बहुभाषिक, बहुजातीय मुलुक भएकाले प्रत्येक दिनहुँजसो मनाइने पर्व र सांस्कृतिक कार्यक्रममा कुनै न कुनैरुपमा फूलको प्रयोग हुँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयात र निर्यातबीचको सन्तुलन कायम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न फूललगायत उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । तिहारमा नेपाली फूलको प्रयोग अभियान पनि त्यसको एउटा हिस्सा हो ।”

गाउँघरमा आफ्नै खेतबारीमा उत्पादन हुने भए पनि अधिकांश किसानले यसलाई व्यावसायिक प्रयोजनसित जोड्न सकेका छैनन् । तिहारमा मात्रै सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा त्यसमध्ये सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब रु ३५ करोड बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/33108

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33107

आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।

यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

https://ujyaalonepalnews.com/archives/33106

आज कुकुर तिहार मनाइँदै

काठमाडौं- यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।

हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।

आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।

यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ ।

आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33105

गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताउनुभएको छ ।

साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।”

पद्मरत्न तुलाधरले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएको बताएको स्मरण गर्दै उहाँले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल सम्वत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल सम्वत्बारे कुरा हुँदा त्यसलाई राष्ट्रिय सम्वत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, अब राष्ट्रिय सम्वत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीलगायत उपलब्धिको रक्षा गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33104

विचौलियाले अस्पताललाई बद्नाम गरिरहेका छन् : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताउनुभएको छ ।
वीर अस्पताल सरसफाइ अभियानको आज यहाँ शुभारम्भ गर्नुहुदै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बद्नाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताउनुभयो ।
“केही स्वार्थी कर्मचारी र विचौलियाले अस्पतालको बद्नाम गरिरहेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न केही कर्मचारीलाई उचालिरहेकाले यसतर्फ सबै सजक रहन जरुरी छ”, उहाँले भन्नुभयो । वीर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले तिहारका बेला अरु ठाउँ सफा सुग्घर र झिलीमिली बनाए जस्तै अस्पतालमा पनि सरसफाइ अभियानको सुरुआत गरिएको बताउनुभयो । यो कार्यले निरन्तरता पाउने उहाँको भनाइ थियो ।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले विभिन्न समूह बनाएर अस्पताल सरसफाइ अभियान थालिएको जानकारी दिनुभयो । सरसफाइ अभियानमा न्याम्सका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/33103

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

काठमाडौँ- जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ ।

समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो ।

भेटमा समितिका सभापति खतिवडाले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् ।

१३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।”

भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33102

सेतीमा एक अर्बको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिँदै

कास्की- पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो ।

पोखरा–मुग्लिन राजमार्ग सुधार आयोजनाअन्तर्गत पृथ्वीराजमार्गमा निर्माण हुने उक्त पुलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमबीच शिलान्यान्स गर्नुभयो । आगामी २०८२ भदौसम्म निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ सो पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ ।

सेती नदीमा हाल रहेको पुलको दुवैतर्फ थप दुई लेनका एक÷एक पुल निर्माण गरिने मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताउनुभयो । पुल निर्माणपछि यसले पोखरा पर्यटनको थप गन्तव्य बन्ने विश्वास लिइएको छ ।

प्रमुख पौडेलका अनुसार निर्माण हुने ‘सिग्नेचर आर्च’ पुल विशिष्ट खालको र आकर्षक हुनेछ । उहाँले भन्नुभयो, “पुल निर्मापछि यातायात व्यवस्थापनसहित पोखराको पर्यटन विकासमा समेत मद्दत पुग्नेछ । यो पुल पोखराको सेल्फी ब्रिजका रुपमा चिनिने छ ।”

पृथ्वीचोकमा चार दशकअघि निर्माण गरिएको हालको पुल साँघुरो हुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सडकअनुसार पुल साँघुरेको हुँदा पृथ्वीचोकमा लामो समयसम्म जाम हुने समस्या पुल निर्माणपछि हट्ने विश्वास छ । सोही पुल हुँदै देशका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन तथा मालवाहक सवारी दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने बताइन्छ । पुल निर्माणको प्रारम्भिक काम भने यसअघि नै सुरु भइसकेको छ । निर्माण कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले स्थानीयस्तरमा समस्या नआएको खण्डमा पुल तोकिएको मितिमै सम्पन्न हुने बताउनुभये । उहाँले भन्नुभयो, “काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ । निर्माण कम्पनीका तर्फबाट हामी प्रतिबद्धता गर्न चाहन्छौँ ।”

कार्यक्रममा मन्त्री ज्वालाले सेती नदी ऐतिहासिक र प्रकृतिको अनुपम उदाहरण रहेको उल्लेख गर्दै आकर्षक पुल निर्माणले पोखरामा थप सौन्दर्य थपिने बताउनुभयो । उहाँले पुल निर्माणमा स्थानीय र प्रदेश सरकारबाट निर्माण व्यवसायीलाई सहयोग हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33101

 गणतन्त्र र सङ्घीयता रक्षाका लागि नयाँ अभियान: प्रधानमन्त्री दाहाल

कीर्तिपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) द्वारा आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले विगतबाट शिक्षा लिँदै जनतामा आशा जगाउने कार्य गर्न थालेको बताउनुभयो । “विगतमा निष्ठाबाट विचलित हुँदा र पार्टी विभाजन हुँदा फेरि प्रतिक्रान्तिले टाउको उठाउने र अहिलेको परिवर्तनलाई उल्ट्याउने सपना देख्न थाले । त्यसपछि नयाँ ढङ्गले जानुपर्ने भएकाले पार्टीले देशभर अभियान सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो ।

यसक्रममा आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि देशको अवस्थामा देखिने गरी परिवर्तन गर्न विशेष रुपले लागिपरेको प्रम दाहालले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीमा गएका करिब चार लाख श्रमिक र अनौपचारिक क्षेत्रमा रहेका हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने कार्य गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । यसैगरी सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, भूमाफियालाई असफल पार्ने कार्य तथा तस्करीको जालो हटाउने कार्यको सुरुआतबाट ‘अब चाहिँ केही हुन्छ’ भन्ने कुराको अनुभूति जनतालाई दिने कार्य गरेको उहाँले उल्लेख गर्नुभयो ।

संयुक्त राष्टसङ्घका महासचिवबाट हालै भएको नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चहरुमा मौसम परिवर्तनप्रति विश्वकै ध्यानाकृष्ट गरेपछि उक्त भ्रमण सफल भएको बताउनुभयो ।

मौसम परिवर्तनको सन्दर्भमा नेपालको हक स्थापित गर्न सरकार सफल भएको उहाँको भनाइ थियो । सरकारको मेहेनतको फलस्वरुप मुुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

“श्रीलङ्काकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्लो समय विगत सय वर्षको विद्युत् उत्पादनभन्दा बढी हुने गरी १० हजार एक सय मेगावाटको कर्णाली–चिसापानी परियोजना अघि बढाउने तथा मूलपानी, भरतपुर र विराटनगरका क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने र निजगढको विमानस्थल तथा द्रुतमार्गका काम अघि बढाउने पनि सरकारले निर्णय गरेको उहाँले बताउनुभयो ।

कीर्तिपुरवासीको जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक २०६४ मा कीर्तिपुरबाट जितेर प्रधानमन्त्री भएका बेला गर्न नसकिएका कतिपय काम यसपटक गर्नका लागि पहल गरिरहेको बताउनुभयो । कीर्तिपुरका स्ववासी जग्गा दर्ता, लायकु दरबार पुनःनिर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत कार्य गर्न विशेष पहल गरिने उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33100