Home Blog Page 125

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताउनुभएको छ ।

भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पुर्‍याउने बताउनुभयो । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच-पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ । स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उहाँ राहत वितरण कार्यमा केन्द्रित हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/33099

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौँ- अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो ।

आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उहाँका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् ।

हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ छ दशमलव ४१५ किलोमिटरमध्ये तीन दशमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दशमलव ३५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ ।

सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ ।

द्रुतमार्गमा ८२ मिटर अग्ला ‘टावर’ तथा चार सय मिटरभन्दा लामा पुल निर्माण हुनेछन् । सेनाले उक्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेगरी १३ वटा प्याकेज बनाइ निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नं १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् ।

आयोजनाको पुरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवं वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुख कटानमा जटिलता थपिएको सेनाले जनाएको छ ।

यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा आयोजनाको दुवैतर्फका प्रवेश बिन्दु तथा विश्रामस्थलमा इन्टरचेञ्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका पठाएको थियो ।

सो पूरक ‘डिपिआर’ स्वीकृत नहुँदा बाँकी प्याकेजमा ठेक्का लगाउन नसकिएको सेनाले जनाएको छ । पूरक डिपिआर स्वीकृतिका लागि सम्बन्धित निकायसमक्ष समन्वय भइरहेको र त्यसम्बन्धी कार्य छिट्टै निष्कर्षमा पुग्ने सेनाले विश्वास लिएको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहणमा देखिएका समस्याको हालसम्म निक्र्योल हुन नसक्दा भने आयोजनालाई तीव्रता प्रदान गर्ने कार्यमा केही बाधा अड्चन पुगिरहेको छ ।

सेनाले भने सो खोकना इलाकामा दु्रतमार्गको सुरु बिन्दु निर्धारण, सवारी अवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।

सरकारले विसं २०७४ वैशाख २१ गते काठमाडौँ र तराई–मधेसलाई जोड्ने सो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । विसं २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढबाट सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो । उक्त डिपिआरअनुसार द्रुतमार्गको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ । आयोजनामा छ वटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कूल लम्बाइ १० दशमलव ०५५ किलोमिटर रहेको छ ।

देविचौरमा एक, सिसौटारमा शून्य दशमलव ३९, चन्द्राम भिरमा दुई दशमलव २५, महादेवडाँडामा तीन दशमलव ३५५, धेद्रेमा एक दशमलव ६३० र लेनडाँडामा एक दशमलव ४३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन् ।

अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त द्र्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ । सो सडकमा दुईपाङ्ग्रे सवारी गुडाउन निषेध गरिनेछ ।

आयोजनामा १२ दशमलव ८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ । मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुनेछन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ ।

द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ । सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन ।

यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एक/एक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ । कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ ।

उक्त आयोजना विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रू दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33098

काठमाडौँमा हल्का वर्षा

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिनुभयो । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ ।

सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, उहाँले भन्नुभयो, “अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्नेछ ।”

पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताउनुभयो । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

आज बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ ।

https://ujyaalonepalnews.com/archives/33097

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

जाजरकोट- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् ।

त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।”

बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताउनुभयो । उहाँका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ ।

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो ।

नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताउनुभयो । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उहाँको भनाइ छ ।

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् ।

आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताउनुभयो ।

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आउनुभएका मालबहादुर सिंहले गुनासो गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33096

बिदा सुरु भएसँगै बढ्यो तिहार मनाउन घर जानेहरुको चहलपहल

काठमाडौं- तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।

धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं काठमाण्डौ फर्केकै छैनन् । तर विभिन्न कामको सिलसिलामा राजधानीमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि एकाबिहानैदेखि चहलपहल बढेको हो ।

यात्रुहरु घर जान निस्किएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे । हिजो साँझदेखि नै घर जानेहरुको संख्या बढेको थियो । आज शनिबार र भोलिदेखि तिहारको बिदा परेको छ ।

यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।

https://ujyaalonepalnews.com/archives/33095

यमपञ्चकको पहिलो दिन आज काग तिहार

काठमाडौं- यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।

काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहीआएको छ ।

https://ujyaalonepalnews.com/archives/33094

मुगु हत्या प्रकरणः सुन लुट्ने मनसायले आफन्तबाटै सामूहिक हत्या

मुगु- मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ ।

गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो । यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।

हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ ।

उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ । २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०÷१२ तोला सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताउनुभयो ।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराज शाहीले लुकाइछिपाइ राखेको नगद रु एक लाख ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

घटनाको अनुसन्धानका लागि सुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको दुई वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी प्रक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा सीआइबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

अनुसन्धानमा चार टोलीका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो । प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने पनि प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33093

मकवानपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न रोक

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रशासन राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरेको हो ।

सुरक्षा समितिको बैठकले राती ९ बजेसम्म मात्र देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री बितरण तथा ओसारपसारमा रोक लगाएको छ । जुवा, तास जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै २०७९ साउन ११ नेपाल सरकारले प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा पूर्ण रोक लगाइएकोले उक्त कार्य नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । प्रचलित कानुन विपरितका कार्य गरेमा कारबाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/33091

साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ ।

एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतःरिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गरेपछि आयोगले गत असोज २९ साह पदमुक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयविरूद्द साहले सर्वोच्च अदालत रिट निवेदन दायर गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33090

नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।

https://ujyaalonepalnews.com/archives/33089