Home Blog Page 143

भरतपुर महानगरपालिकामा ‘महानगरीय रिङरोड’ बनाउने अभियान तीव्र

चितवन- चितवनको भरतपुर महानगरपालिकामा महानगरीय रिङरोड बनाउने अभियान तीव्र पारिएको छ । केन्द्र, प्रदेश र महानगर आफैले वजेट विनियोजन गरि झण्डै ८८ रिङरोड (चक्रपथ) मध्ये अहिलेसम्म ४५ किलोमिटर सडक निर्माण सम्पन्न भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

सडक सञ्जाल विस्तार बिना यहाँको विकास पुरा नहुने भन्दै आफुहरुले बहुबर्षिय योजना अन्तर्गत महानगरीय रिङरोडलाई प्रथामिकता दिएर काम गरेको बताउनुभयो । अभियान अन्तर्गत नै महानगरीय रिङरोडको पश्चिम खण्डको उद्घाटन गरिएको छ ।

वागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा बनेको करिब आठ किलोमिटर सडकको बिहिबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री दुलालले भरतपुरको विकासका लागि रिङरोडले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘अहिले राजधानीमा २८ किलोमिटर मात्र रिङरोड छ । यहाँ ८८ किलोमिटर बन्दै छ । यसले सिंगो भरतपुर महानगरपालिकालाई समेट्छ,’ उहाँले भन्नुभयो । त्यसबखत उहाँले वागमती प्रदेश सरकारको स्रोतबाट एक हजार किलोमिटर सडक कालोपत्रे गरिएको पनि जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय चितवनको नेतृत्वमा निर्माण भएको करिब आठ किलोमिटर सडक शिसवार, शिशै, वनकट्टा, मगनी नमुनाचोक, पिपरा, ददहनी क्षेत्रलाई समेटेको छ ।

भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको यस रिङरोडको काम विभिन्न चरणमा भइरहेका छन् । पश्चिम खण्डको ८ किलोमिटर सडक निर्माण भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

वि.सं. २०७८ साल पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी वि.सं. २०८० साल असोज ८ गते सडक कालोपत्रे गरिएको हो । १४ करोड ६० लाख ६६ हजार ६५५ रुपैयाँमा भीमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवा कम्पनीले निर्माण सम्पन्न गरेको हो ।

समयमै काम सम्पन्न गरेको भन्दै सो अवसरमा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान समेत गरिएको थियो । सडकको भाग १० मिटरको रहेपनि स्थानीयले ३० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32821

‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’- राजदूत खनान गोडेर

काठमाडौँ- नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा उहाँले आफ्नै निवासमा आयोजना गर्नुभएको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या गर्नेलाई आफ्नो देशको सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि कारबाही गरेरै छाड्ने बताउनुभयो ।

“हामी शान्ति चाहन्छौँ, हमासबाहेक गाजा क्षेत्रका हाम्रा दाजुभाइलाई हामी सैनिक आक्रमणको सिकार बनाउन चाहँदैनौँ, त्यहाँबाट तत्काल अन्यत्र जान अनुरोध गरेका छौँ ।

हाम्रो अनुरोधअनुसार गाजालगायत द्वन्द्व अतिप्रभावित प्यालेष्टिनी भूमिबाट आठ लाख मानिस सुरक्षित स्थानतर्फ गएका छन्”, हमासले आत्मसमर्पण गरेमा मात्र सैनिक कारबाही रोकिने बताउँदै राजदूत गोडेरले भन्नुभयो ।

इजरायलमाथि गरिएको आतङ्कवादी हमलाका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीसहित सबै दुई सय ४० जनालाई निःशर्त रिहा गर्न राजदूत गोडेरले आग्रह गर्नुभयो ।

हमाससँग युद्धविराम गर्न इजरायल तयार रहेको तर त्यसो गर्दा अर्को अतिवादी समूह हेजबुल्लाहले आक्रमण गर्ने जोखिम उत्तिकै रहेको र हमासले पनि शक्ति सञ्चय गरी निर्दोष नागरिकलाई मार्ने भएकाले उक्त समूहलाई विश्वास गर्न सक्ने आधार नभएको बताउनुभयो ।

हमासलाई परास्त गर्न एक हजार चार सय इजरायली सुरक्षाकर्मीले प्राणको आहुति दिएका बताउँदै विश्वका ५७ देशले इजरायललाई तारो बनाएकामा दुःख व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव शरद्राज अरणले संसारका जुनसुकै भागमा हुने आतङ्कवादी हमलाको नेपालले सधैँ निन्दा गर्दै आएको र आतङ्कवादका जुनसुकै रुप र प्रकटीकरणका विरुद्धमा नेपाल रहेको स्पष्ट गर्नुभयो ।

सभामा हमासको आक्रमणबाट ज्यान बचाएर स्वदेश फर्किएका तीन जना विद्यार्थीले असोज २० गते आफूले भोगेको त्रासदीको वर्णन गरेका थिए । सभामा दिवङ्गत नेपाली सम्झनामा मैनबत्ती बालिएको थियो ।

https://ujyaalonepalnews.com/archives/32820

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ- तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।

विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

बिहिबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिनुभयो । आज काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उहाँले जानकारी दिनुभयो ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”

सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगनम गर्ने निर्णय बैठकले गरेको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32819

बारामा अज्ञात महिलाको शव फेला, हत्याको आशंका

बारा- बारामा फेरी अर्को अज्ञात महिलाको हत्या भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– ६ स्थित घुसुकपुर भन्ने ठाँउको खेतबाट पहिचान नखुलेको एक महिलाको शव प्रहरीले बिहीबार फेला पारेको हो ।

मधेसी मुलकी करिब २५ बर्षीय महिलालाई हत्या गरी फालिएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभएको छ ।

शवको प्रकृति हेर्दा कुर्ता सुरुवालमा रहेकी मृतक महिलाको शरिरमा घाउ चोट देखिएकोले कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विभिन्न कोणबाट अनुसंन्धान थालिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनु भएको छ ।

घटना शंकास्पद देखिएकोले तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगि अनुसंन्धान थालेको प्रहरले जनाएको छ ।

एक हप्ता अघि जितपुरकै हलखोरियामा एक जनाको हत्या भएको अवस्थामा लास फेला परेका थियो । पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ ।

असोज ८ गते, ९ गते पचरौता नगरपालिका वडा नम्बर १ र ६ मा दुई जनालाई गोली हानी हत्या भईसकेको छ । दुई दिन अघि कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय बाराको ५ मिटर दुरीमा बालएकता वोर्डिड स्कूलका संचालक सर्राफलाई गोली हानी हत्या भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32818

गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री

बुटवल- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताउनुभएको छ ।

बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनुभएको ह‍ो ।

प्रधानमन्त्रीले भन्नुभयो, “परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं ।”

पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थिय‍ो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो । तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ ।

विचारको पक्षमा चिन्तन, मनन् कमजोर भएको छ, त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन् । तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ ।”

“पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन” उहाँले भन्नुभयो, “गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ। पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।”

“परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको छ। केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौं ।”

“भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं । हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कुटनीतिक बाटो लिनुपर्छ । त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कुटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ । अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।”

https://ujyaalonepalnews.com/archives/32817

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32816

कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

नेपालगन्ज- बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

https://ujyaalonepalnews.com/archives/32815

रिगलको कैद मिनाहा बदरमा रवि भन्छन्: सर्वोच्चको फैसलालाई स्वागत गर्दछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको बताएका हुन्।

उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने उनले बताए।

उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ। सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ। महशुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ।

राजीनामा धेरै परको कुराकानी भयो। राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन। नैतिक रुपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो। हामीले पनि उठाउँदै आएको कुरा थियो। त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भनेपनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ।

दिए त हुन्थ्यो नि। हामीबाट गल्ती भएको रहेछ। आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ। विधिको शासन भन्नेकुरा पनि केही हो भन्ने महशुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ।’

https://ujyaalonepalnews.com/archives/32813

सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

काठमाण्डाै – कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सर्वाेच्चकाे आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्जकाे सेतु विक चोकबाट पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । सर्वोच्चको आदेशपछि रिगल मोबाइल अफ गरेर भाग्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । तर निगरानीका कारण उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

रिगललाई सरकारको सिफारिसमा गएकाे असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जकाे धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएकाे असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

https://ujyaalonepalnews.com/archives/32811

नेपाल र युएईबिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न क्यानको अनुरोध

आइसिसी टि२० विश्वकप एसिया छनौट अन्र्तगत नेपाल र युएईबिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न नेपाल क्रिकेट संघ क्यानले अनुरोध गरेको छ।

आज ओमानसंग ५ रनले हारेर समूह ए को उपविजेता बनेपछि नेपालको सेमिफाइनल खेल समूह बीको बिजेता युएईसंग मुलपानी क्रिकेट मैदानमा हुने खेलमा मैदानका कारण क्यानले अन लाइन मार्फत ३५ सय मात्र टिकट बिक्री गर्ने भएकाले सकभर यो खेल घरमै टेलिभिजनमा हेर्न खेलप्रमी दर्शकहरुलाई आज विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो । मैदान परिसरमा टिकट बुथ नहुने पनि नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

साथै क्यानले यो खेलका लागि पास र भिभिआइपी टिकट मूल्य भने राखेको छैन।यस अघि क्यानले भिभिआईपी टिकट मूल्य १० हजार राखेको थियो । उक्त टिकटमा पारस खड्का लगायत क्रिकेट खेलाडी भेट र खानाको व्यवस्था गरेको थियो । साथै क्यानले टिकटको मुल्य पनि बृद्धि गरेको छ । सेमिफाइनल खेलमा समूह चरणको भन्दा टिकट मूल्य १ सय रुपैयाँ बढाएको छ । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ।

खेल भोलि बिहान ११ बजे देखि सुरु हुनेछ । त्यसैगरी भोलि विहान ११बजे नै ओभान र बहराइन विच किर्तिपुर क्रिकेट मैदानमा अर्को सेमिफाइनल खेल हुनेछ । फाइनलमा पुग्ने दुबै टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार किर्तिपुर क्रिकेट मैदानमा हुनेछ।

https://ujyaalonepalnews.com/archives/32806