Home Blog Page 144

मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुखः प्रधानमन्त्री

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उहाँको भनाइ छ ।

बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्नुहुँदै अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएको दाबी गर्नुभयो । “हामी ब्याजदरलाई एकल अङ्कमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौं”, उहाँले भन्नुभयो, “विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ । जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ ।”

प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गर्नुभयो । यसैगरी पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको उल्लेख गर्नुहुँदै आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो ।

“सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा यस्ता धेरै काम अगाडि बढेका छन् जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।”

प्रधानमन्त्री दाहालले निकै ठूलो मेहनत र सङ्घर्षको प्रतिफलबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले संविधानमा गरिएको उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

उहाँले रूपन्देही क्षेत्रमा मानवसेवामा समर्पित प्रतिष्ठित जापानी डाक्टर सिगेरू सुगानामी सहितका व्यक्तिको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुवैले आमा र बालबालिकाको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

“बालबालिका तथा महिलालाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीकोसमेत स्तरीय उपचार गर्नुले अस्पतालको भूमिका महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिकस्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धिपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।”

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले अस्पतालको सेवा राम्रो रहेको बताउनुभयो । उहाँले अस्पतालको काम र सेवा प्रवाह पवित्र उद्देश्यका साथ पारदर्शी रूपमा हुनुपर्नेमा जोड दिनुभयो ।

नेता गिरीले रुपन्देही जिल्लामा सञ्चालित विकास आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका नागरिकले समस्या भोग्नुपरिरहेको बताउदै बुटवल–सुनौली ६ लेन बाटो १२ वर्षदेखि निर्माण पूरा हुन नसक्नु, तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बुटवल–नारायणबाट सडक अलपत्र अवस्थामा रहनु, भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्दा कारणले यहाँको आर्थिक क्षेत्र पनि चलायमान हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

“मुलुकका समस्या तत्काल समाधान किन गर्न सकिएको छैन यसबाट जनता दुखि छन्”, उहाँले भन्नुभयो, “जनता आत्तिएका छन्, यस्तै कारणले पनि लोकतन्त्रकाविरूद्व र हाम्रा विरूद्व भड्काउने शक्ति सक्रिय बन्न खोजेका छन् ।”

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले बाल तथा महिला अस्पताल नमुना अस्पताल, लुम्बिनी प्रदेशमा बालबालिका बचाउने अस्पतालको रूपमा स्थापित भएको र आमा तथा बाल स्वास्थका लागि परिचित रहेको बताउनुभयो ।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले आफू बुद्ध धर्मालम्बी भएको र बुद्धका बिचारबाट प्रभावित भएको बताउनुभयो । उहाँले गएराति सपनामा बुद्धलाई देखेको र बुटवलमा स्थापना गरिन लागेको मेडिकल कलेज निर्माणमा नेपालका प्रधानमन्त्रीले खुलेर सहयोग गर्ने बताउनुभएको भन्दै प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो ।

उहाँले आम्दा नेपाल जस्तो संस्था आफ्नो जेठो छोरा जस्तै भएको बताउँदै यहाँ मेडिकल कलेज निर्माण गरेर यसबाट उत्पादिन जनशक्तिले विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32803

रिगललाई आममाफी दिने निर्णय बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं- संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले आममाफी बदर गरेको छ ।

बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो । फैसलासँगै तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ गते रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।

त्यस विरुद्द मानन्धरकी पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो ।

https://ujyaalonepalnews.com/archives/32802

सियारी-४ मा सुबिधा सम्पन्न वडा कार्यालय बन्दै

भैरहवा- रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ । २०८१ बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सो वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शिलन्यास गर्नुभयो ।

१ करोड १७ लाख लागतमा निर्माण हुने भवन सुबिधा सम्पन्न र स्मार्ट वडा कार्यालय बन्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

कार्यालय भित्रबाट सम्पुर्ण प्रशासनिक काम हुनुका साथै वडा अध्यक्षसहित वडा सदस्यहरुका लागि कक्षको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेको भनाइ छ ।

बजेटको सुनिश्चितता गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उक्त कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने कार्यसँगै हुलाक सेवा पनि सुचारु हुने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा मिना निर्माण सेवाले पाएको छ । भवनलाई सम्झौता मिति भित्रै सक्ने गरी निर्देशन दिएको वडा अध्यक्ष श्रीराम यादवले जानकारी दिनुभयो । सियारी ४ मा अहिले स्वास्थ्य सस्थाको भवनबाट सेवा प्रभाव गर्दै आइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/32801

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।
अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताउनुभयो । “खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,” उहाँले भन्नुभयो, “अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।”
धान झाँट्ने थ्रेसरको प्रयोगले एकै दिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताउनुभयो ।
जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
“यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकामा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,” तिवारीले भन्नुभयो । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उहाँको भनाइ थियो ।
जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका जनाउँदै तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताउनुभयो । “जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ,” उहाँले भन्नुभयो, “जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।”
यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/32800

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अछाम- अछाम जिल्लामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । एक जना अर्की युवती अरिङ्गालको टोकाइबाट बिरामी परेकी छिन ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाबाट घटना स्थलमै मृत्यु भएको हो ।

मृतक बालक सुदर्शन आभारभुत बिद्यालय बारलामा बालबिकाश केन्द्रका विद्यार्थी हुन ।

उनकै १८ बर्षीया दिदी पनि अरिङ्गालको टोकाइबाट विरामी परेकी छिन ।

उनीहरु डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भिर विरामी परेकी राधा संज्यालको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको र अवस्था सामान्य रहेको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले बताउनु भयो ।।

https://ujyaalonepalnews.com/archives/32799

विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित

काठमाडौँ-    आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यसजितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो ।
ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने करण केसीले १५ रन जोडे ।
नेपालले सुरुआतदेखि नै लगातार विकेट गुमाएको थियो । आसिफ शेखले पाँच रन जोड्दै आउट भए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२÷१२ रन जोड्दै आउट भए । त्यस्तै गुलशन झाले ३ रन जोडे ।
ओमानका विलाल खानले तीन किकेट झारे भने अकिब इलयास, सकिल अहमद  र मेहरान खानले समान दुई÷दुई विकेट लिए । त्यस्तै कप्तान जिशान मकसुदले एक विकेट लिए ।
 त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ४५ रनको योगफल बनाएको थियो ।
ओमानका लागि जिशान मकसुदले सर्वाधिक ३२ रनको योगदान दिए । उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाएका हुन । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४,सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक-एक विकेट लिए ।
नेपालले भोलि हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ ।

https://ujyaalonepalnews.com/archives/32798

सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।”

उहाँले संसद्को मूल काम कानुन निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गर्ने हो भन्नुभयो । उहाँले भन्नुभयो “संसद्मार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको छ ।”

संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसद्को पक्षमा रहेको उहाँको भनाइ थियो । “संसद्का काम कारबाही जीवन्त रुपमा काम गर्नुपर्छ । संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ,” प्रमुख सचेतक लेखकले भन्नुभयो, “लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ । त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।”

संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको जनाउँदै उहाँले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई पनि छैन भन्नुभयो । यो संविधान मुलुकमा ठूलो राजनीतिक अभियान, राजनीतिक यात्राबाट प्राप्त भएको उल्लेख गर्दै उहाँले संविधानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “सर्मथन र विरोध लोकतन्त्रको गहना हो । संसद्मा आलोचना र विरोध हुन्छ” उहाँले भन्नुभयो ।
प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । उहाँले सदनका उठेका सबै विषयमा सरकारको यथेष्ट ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो ।।

https://ujyaalonepalnews.com/archives/32797

संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी

काठमाडौं- संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्न मन्त्रीपरिषद् बैठक अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।

हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक सञ्चालन तथा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य हुँदै गर्दा संक्रमणकालीन न्यायसम्बन्धी संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्तिशुद्धीकरण सम्बन्धी विधेयक अर्को अधिवेशनमा सरेको छ ।

टीआरसी संसदीय समितिमै छ भने सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेश भएको छ ।

https://ujyaalonepalnews.com/archives/32796

खानेपानी उद्योगमा शिलबन्दी

काठमाडौं- सरकारी अनुगमन टोलीले आज काठमाडौंको टोखा नगरपालिका चक्खुस्थित एक पानी उद्योगमा शिलबन्दी गरेको छ ।

टोलीले कञ्चनजंघा न्याचुरल स्प्रिङ मिनरल वाटर नामको पानी उत्पादन गर्ने उद्योगमा शिलबन्दी गरेको हो । अनुगमन टोलीले प्रशोधन कक्षको दुईवटा ढोकामा शिलछाप गरि उत्पादन कक्ष बन्द गरिदिएको छ ।

उद्योगको दर्ता बिनानै पिउने पानी उत्पादन गर्ने गरेको, दर्ता प्रमाण पत्र र संचालक फेला नपरेको, जार भर्ने धारामा कपडा लगाइएको उद्योग भौतिक पुर्वधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार नपाईएकोले शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जानकारी दिएको छ ।

अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वय रहेको थियो । मंगलबारबाट अनुगमनमा होमिएको टोलीले काठमाडौंको ५ वटा पानी उद्योग अनुगमन गरिसकेको छ ।

https://ujyaalonepalnews.com/archives/32793

सञ्चारको पहुँच पुग्न नसकेको एउटा गाउँ

स्याङ्जा- सूचना एवम् प्रबिधिले निकै फड्को मारेको पाचौँ जेनेरेसनको अवस्थामा आईपुगेको सञ्चार जगत् कुनै ठाउँ यस्ता पनि छन् जहाँ सञ्चारबिहिन बन्न पुगेका छन् । त्यसैको उदाहरणको रुपमा रहेको छ, स्याङजाको पुतलीबजार-१२ पेल्काचौर जहाँ अहिलेसम्म टेलिकमको टावर पुगेको छैन ।

यो समस्या सुन्दर रमणिय ठाउँ स्याङ्जाको पुतलीबजर-१२ पेल्काचौरको हो । यहाँ चार सयभन्दा बढी स्थानीयको बसोवास छ । सदरमुकाम निकट रहेपनी अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा यहाँका स्थानीय संचार जगत्‌बाट पछाडी परेका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीका लागी बिदेश गएका स्थानीयहरु परिवारबिच सूचना आदान प्रदान तथा कल सेवा, ईन्टरनेट सेवा लिनवाट वञ्चित भएका छन् भने नेटवर्क टिपाउन चौतारी तथा अग्लो पडाडमा जानुपर्ने बाध्यता छ । जसले गर्दा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गर्नवाट बन्चित रहेको बताउछन् प्रकाश अर्याल र चिरन्जिबि शर्मा ।

नेटवर्क ब्यावस्थापनका लागी प्रदेश तथा संघमा समन्नय गरी ३ बर्ष अगाडि टेलिकमबाट प्राविधिक टोली आई निरीक्षणको काम गरेपनी टावर ब्यावस्थापनमा कुनै पहल नभएकाले नमस्ते सिम प्रयोग गर्नवाट वञ्चित भएका स्थानीयलाई सुबिधा पुर्‍याउनका लागी पहल गर्ने बताउनुहुन्छ पुतलिबजार-१२ का वडाध्यक्ष गन्जसीङ गुरुङ ।

दिनानुदिन सूचना संचार प्रबिधिले फडको मारेको अबस्थामा सदरमुकाम निकट भएको ठाउँमै टेलिकमको नेटर्वक नपुग्दा स्थानीय सेवा सुबिधावाट वञ्चित हुनु दुःखद अवस्था हो । यसको उचित पहल गरी सूचना संचार सेवा प्रदान गर्नु सम्बन्धित निकाएको दायित्व हो । बेलैमा यसको उचित कार्यान्वयनका लागी पेल्काचौरबासीको माग रहेको छ ।

https://ujyaalonepalnews.com/archives/32789