Home Blog Page 149

श्रोत नखुलेको झण्डै ११ लाख रुपैयाँसहित एक जना पक्राउ

सप्तरी- सप्तरी प्रहरीले श्रोत खुल्न नसकेको झन्डै ११ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय जयप्रकाश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार राति ९ बजेको समयमा मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाईकलमा सवार यादवलाई छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ स्थित विष्णुपुर–सखडा नहर सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवले मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रकम रु. १० लाख ९८ हजार बरामद भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

रकम र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानाकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/32705

नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै

पर्वत- पर्वतमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ९ सय ४९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यका अनुसार पर्वतमा साउन, भदौ र असोज महिनाको अन्त्यसम्म ८ सय १ जनाले नयाँ नागरिकता लिएका छन् भने ९ सय ४९ जनाले प्रतिलिपि नागरिकता लिएका हुन् ।

यस बीचमा जिल्ला प्रशासन कार्यालय पर्वतले नेपालमा नै पहिलोपटक गैह्र आबासीय नेपाल नागरिकताको प्रमाण पत्र समेत प्रदान गरेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ घर भएका गैह्र आवासीय नेपाली संगठनका निवर्तमान अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता प्रतिलिपि लिनेको संख्या धेरै भएको पाइएपछि सरकारी कागजातहरु सर्वसाधारणले सुरक्षित गर्न नसकेको समेत बताउनुभयो । नागरिकता जस्तो संवेदनशील कागजातलाई पनि सर्वसाधारणले हेलचक्राई गर्ने गरेको उहाँले बताउनुभयो ।

आचार्यले कतिपय अवस्थामा पूर्ण अशक्त भएका नागरिकलाई घरमै पुगेर पनि नागरिकता प्रदान गरिएको समेत बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32702

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

गण्डकी- नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्नुहुने जनाइएको छ । महासचिव गुटेरेसको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको छ ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ ।

https://ujyaalonepalnews.com/archives/32701

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

काठमाडौँ- दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।

मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ । हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

https://ujyaalonepalnews.com/archives/32700

गुल्मी जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्रहीको चाप बढेको छ । नेपालीको महान पर्व बडादशैं मनाउन घर फर्किएकाहरुले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हो ।

यतिबेला दशैं मनाउन घर आएका मानिसले समयको सदुपयोग गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवालिने सेवाग्राहीको संख्या दोब्बरले वृद्धि भएको छ । अन्य समयमा सरदर नयाँ नागरिकता ४० वटा, राहदानी ५० वटा, बन्ने गर्दथे ।

दशैं पछि कार्यालय खुलेका एकै दिनमा नयाँ नागरिकता ८४ वटा, प्रतिलिपी ४९ वटा, राष्ट्रिय परिचयपत्र १४० वटा, राहदानी ६० वटा र साधारण निवेदन १४० जनाले बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
चाडपर्वको बिचको समयमा सेवाग्रही चाप दैनिक जसो बढ्ने गरेको गैरेको भनाइ छ ।

कार्यालयको क्षमता भन्दा सेवाग्रहीको संख्या अत्यधिक बढदै गएकाले भिड बढने गरेको हो । प्रशासन कार्यालयलमा सेवाग्राही बिहान सात बजेबाटै बेलुका अबेरसम्म नयाँ नागरिकतासँगै प्रतिलिपी, राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढ्ने गरेको छ ।

दशैं लगायतका चाडपर्वको समयमा प्रशासन भिडभाड हुने गर्दछ । चाडपर्वको समयमा बढ्दो सेवाग्राहीको चापलाई सहज सेवा प्रवाह गर्न विहान वेलुका अतिरिक्त समयमा पनि कार्यालय संचालन गरेर सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32699

सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

काठमाडौँ- लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।

कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरुलाई सेवाबाट हटाउने कारबाही हुने छ ।”

नेपाल प्रहरीको सम्पर्कमा नरहेका प्रहरीमा प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी, भुपाल क्षेत्री रहेका छन् ।

यसैगरी प्रहरी जवानमा टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतोे, प्रकाश कुँवर, नीरज बढई तथा वसन्त ढकाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32698

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

गण्डकी- नेपालको औपचारिक भ्रमणका क्रममा पोखरा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुग्नुभएको छ ।

सोमबार दिउँसो पुम्दीकोट पुग्नुभएका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गर्नुभएको थियो ।

महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गर्नुभएको थियो । महासचिव गुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा विताउनुभएको समितिका सदस्य मातृका बरालले जानकारी दिनुभयो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताउनुभयो ।

जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको बताउँदै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको जानकारी दिनुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरी काम गरिरहेको छ ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने विश्वास लिइएको छ ।

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।

समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी कामअघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत छ ।

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचाआदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्गआदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताउनुुभयो ।

“महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचिपूर्वक अवलोकन गर्नुुले यहाँको विश्वव्यापी प्रवद्र्धन भएको छ”, उहाँले भन्नुुभयो, “उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।”

महासचिव गुटेरेसले फेवातालमा नौका विहार गर्नुभएको छ । उहाँको भ्रमणले पोखराको पर्यटन विश्वव्यापीरुपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो ।

महासचिव गुटेरेस फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुगी दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/32697

एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि: अध्यक्ष ओली

कास्की- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताउनुभएको छ ।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भन्नुभयो, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।”

कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन ।”

वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको बताउनुभयो ।

एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा एमाले पार्टीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुसमेत उहाँले जोड दिनुभयो ।

एमालेका पालामा विकास निर्माणका काम धेरै भएको दाबी गर्दै अध्यक्ष ओलीले वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ, गाउँगाउँमा सडक बाटो, शिक्षा–स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको बताउनुभयो ।

आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष ओलीले कम्बोडियामा आफ्नो लगानी नभएको र त्यो भ्रम छर्न रचिएको प्रपञ्च भएको बताउनुभयो । सुन तस्करी काण्डमा मुछिएकालाई कानुनी दायरामा ल्याउनसमेत उहाँले जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापाले एमाले समाजवादको बाटोमार्फत देश र जनताको समृद्धितर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले एमालेको दसौँ महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको विश्वास दिलाउनुभयो ।

नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्ने थापाको भनाइ थियो । सो अवसरमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहणसमेत गराइएको थियो ।

https://ujyaalonepalnews.com/archives/32696

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ- मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उहाँको भनाइ छ ।

प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।

https://ujyaalonepalnews.com/archives/32695

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

भोली कात्तिक १५ गते पनि देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

https://ujyaalonepalnews.com/archives/32694