चितवन । राप्ती नगरपालिकामा नहर विभागको जग्गा खाली गराउन पाँच राजनीतिक दलले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर समितिले आज संयुक्त विज्ञप्ति जारी गरी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र इलाका हुलाक कार्यालयको अतिक्रमित जमिन खाली गराउन सहयोग र सहजिकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राप्ती नगरपालिकाले साउन १७ गते ९० दिने सूचना जारी गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो । वास्तविक सुकुम्वासी, घर विहिन र क्षतिपुर्तिको माग दावी गर्न पनि सूचना प्रकाशित गरेपछि केहि घरधुरी सम्पर्कमा आएको र केहि व्यापारीहरुले जग्गा खाली गराएको नगरपालिकाले जनाएको छ ।
यद्यपी अझै केहि व्यक्तिले जग्गा खाली नगराएकाले बल प्रयोग गर्ने तयारीमा नगरपालिका छ । नगरपालिकाको तयारीलाई बल पुग्ने गरी पाँच दलले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘त्यहाँ रहेका वास्तविक पिडित र भुमिहिनको सम्बन्धित कार्यालयले जारी गरेको समय अगावै बैकल्पिक व्यवस्थापन गरी जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय र ईलाका हुलाक कार्यालयको अतिक्रमित जमिन खाली गराउने कार्यमा सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछ र राप्ती नगरपालिकालाई सहजीकरणको लागी गरेको कार्यको सम्पादन प्रति विशेष धन्यवाद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
खाली भएको जमिनलाई सिंचाइ विकास र हुलाकको समन्वयमा राप्तीका सबै जनताको मनोभावना बमोजिम समृद्ध राप्ती निर्माण गर्ने कार्यमा सदुपयोग गर्न पनि दलहरुले सुझाव दिएका छन् । राप्ती नगरपालिका–५ मा रहेको नहर विभाग र ईलाका हुलाक कार्यालय भण्डाराको जमिनमा २०५० सालमा गएको बाढीको कारणले राप्ती नगरपालिका वडा नं ६ को विभिन्न वस्तीहरुमा क्षति बनाएको थियो।
बाढीले क्षति बनाएका जमिनको उचित व्यवस्थापन र राप्ती–लोथर ड्याक पनि पक्की निर्माण भई कतिपय वस्तीहरु आ–आफ्नै स्थानमा फर्कि गईसकेको अवस्थामा त्यस स्थानमा रहेका वस्तीहरु ३० वर्ष भई सक्दा पनि फर्कने प्रत्याभुती नरहेकोले केही व्यक्तिहरु व्यापारिक मानसकिताले स्थान छोड्न तयार नभएको बताइएको छ ।
https://ujyaalonepalnews.com/archives/32691
