https://ujyaalonepalnews.com/archives/32680

https://ujyaalonepalnews.com/archives/32680

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु ।
सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” लेख्नुभएको छ । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ ।
आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।।
https://ujyaalonepalnews.com/archives/32679

१२ कात्तिक, काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।
श्रीमानको हत्यामा दोषी ठहर भइ जेलमा रहेका योगराज ढकाल (रिगल) लाई सरकारले कैद मिनाहा दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या घटनामा दोषी ठहर भई जेल परेका रिगललाई गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि भारतीले विरोध गर्दै आएकी छन् ।
२०७२ सालको असारमा दुई समूहबीच विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
https://ujyaalonepalnews.com/archives/32674

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो ।
सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र प्रवेश गरेका थिए । निकुञ्जले जीपबाट मात्रै ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ । निकुञ्ज भ्रमण गर्नेमा सौराहा सेक्टरबाट सबैभन्दा बढी पर्यटक छन् । यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले निकुञ्ज भ्रमणमा गएका थिए ।
सौराहा क्षेत्रबाट मात्रै झण्डै ८८ प्रतिशत पर्यटक निकुञ्ज गएको देखिन्छ । नेपालीबाट निकुञ्ज जाँदा प्रति ब्यक्ति १५०, विदेशीलाई २ हजार, सार्क देशका पर्यटकलाई १ हजार, प्रत्येक जीपलाई एकपटक भित्र जाँदा ५ हजार लिने गरिन्छ । दसैंको बेला आएको पर्यटक र बढेको राजश्वले सकारात्मक अवस्था आएको सूचना अधिकारी तिवारीले बताए ।
https://ujyaalonepalnews.com/archives/32671

काठमाडौँ, असोज ३० गते । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरोका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै फरक नपार्ने देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले पशुमा लम्पीको सङ्क्रमणकै कारणले दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा प्रयोग गर्ने अवस्था मात्रै कुल गार्हस्थ उत्पादनसँग जोडिने भएकाले यसले तत्कालै ठुलो असर नपार्ने बताउनुभयो । “तर कृषि र पशुपालनले कुल गार्हस्थ उत्पादनमा ठुलो योगदान पु¥याउने भएकाले यसले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहनु पर्छ,” उहाँले भन्नुभयो।
उहाँले अहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा भने असर पार्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको र त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशुको क्षेत्रबाट भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने दाबी गर्नुभयो । यद्यपि यो वर्षकै गार्हस्थ उत्पादनमा खासै अन्तर नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारी संरचनासँग लम्पी स्किनको वास्तविक तथ्याङ्कको अभाव छ । पशु सेवाका क्षेत्रमा तल्लो तहसम्म नियमित रिपोर्टिङ हुने संरचना नरहेपछि यो क्षेत्रबाट समयमै तथ्याङ्क आउन नसकेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्विकार्नुभयो । यसको बृहत् अनुसन्धान आवश्यकता देखेर पशु सेवा विभागको अगुवाइमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), पशु चिकित्सा परिषद् मिलेर लम्पी स्किनले पारेको आर्थिक, सामाजिक र सांस्कृतिक क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोज शाहीले अगामी वर्ष पनि लम्पीको जोखिम रहेकाले विभागको अगुवाइमा बृहत् अनुसन्धान सुरु भएको जानकारी दिँदै अध्ययनपछि त्यसको विस्तृत प्रतिवेदनसमेत तयार पारिने बताउनुभयो ।
उहाँले लम्पी स्किन सङ्क्रमणले पारेको तत्कालीन असर मात्रै देखिएको र यसको दीर्घकालीन असरको खोजमा सङ्घीय, प्रदेश र स्थानीय तहले ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सहरको रकम ग्रामीण किसानको घरसम्म पुग्ने भरपर्दाे स्रोत नै दुध र मासु भएकाले यसमा सबै क्षेत्र उत्तिकै जिम्मेवार बन्नु आवश्यक रहेको औँल्याउनुभयो ।
पशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील रहनुभएको पशु चिकित्सक मणि सापकोटाले लम्पी स्किन सङ्क्रमित पशुबाट दुध र मासु उत्पादनमा ह्रास आउने र पशुमा प्रजनन समस्या देखिने बताउनुभयो । उहाँले लम्पीबाट निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्ने हुँदा गरिब किसानका लागि चुनौती थपिएको बताउनुभयो ।
खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले पनि पशु चिकित्सा परिषद्ले आँकलन गरेको क्षतिको विवरणका आधारमा सो क्षेत्रमा काम गर्ने हिसाबले योजना बनाइरहेको डा. सुरेश कार्कीले बताउनुभयो । उहाँले यसका असर समेटेर केही गर्न सकिन्छ कि भनेर योजना बनाइरहेको उल्लेख गर्नुभयो ।
एसियाली विकास बैङ्कले पनि यो वर्ष तराई र मधेशमा राम्रोसँग वर्षा हुन नसक्नु र लम्पी स्किनले पशु धनमा क्षति पारेकाले चालु आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरे अनुसारको आर्थिक वृद्धिदर नहुने प्रक्षेपण गरेको छ । लम्पी स्किनको कारणले एक खर्ब २८ अर्ब रुपियाँको क्षति हुने अनुमान गरिएकोमा ७४ अर्ब रुपियाँ बराबरको क्षति भइसकेको छ । लम्पी स्किनको जोखिम भने अझै पनि कायमै रहेको पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । नेपालमा अझै पनि ७३ हजार ६३६ पशुमा लम्पीका जीवाणु सक्रिय छन् । लम्पीको कारणले हालसम्म ५२ हजार ५४८ पशु मरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन । त्यसरी नै आर्थिक वर्ष २०७८/७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो । त्यस्तै गरी आर्थिक वर्ष २०७९/८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएकोमा मनाङ र मुस्ताङमा नियन्त्रणमा आइसकेको छ ।
https://ujyaalonepalnews.com/archives/32668

काठमाडौं, १२ कात्तिक । दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो ।
यसदिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा पुगेर बन्द भएको छ । २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहँदा कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरमा नकारात्मक सकिर्ट लगेको छ ।
https://ujyaalonepalnews.com/archives/32666

कालीकोट, कात्तिक १२ गते । जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको बताइन्छ ।
निर्माण भइरहेका बेला गोरखापत्रसहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो ।
सहरी विकास कार्यालय जुम्लाका प्राविधिक चन्द्र खड्काको निर्माण कम्पनीले गर्ने धेरै काम यस्तै गुणस्तरहीन हुने गरेको आरोप छ । व्यक्तिगत पहुँचको प्रयोग गरी खड्काले प्राविधिक प्रतिवेदन आफैँ तयार गर्ने र ठेक्का पनि पार्ने गरेको आरोप लाग्दै आएको छ । यो सडकमा पनि त्यस्तै खेल भएको अनुमान गर्ने धेरै छन् । उहाँका भाइ समुन खड्काले ठेक्का कार्य सञ्चालन गर्दै आउनुभएको छ । कालीकोटको एकीकृत भवन, जिल्ला अदालत र गेस्ट हाउस निर्माण उहाँकै निगरानीमा भएका थिए तर बनेको एक वर्षमा चर्किनेदेखि कोठामा हालिएको फोर्ससमेत उप्किँदै जाने गरेपछि पुनः मर्मत गर्दै आएको कार्यालयका कर्मचारीको भनाइ छ ।
खड्काले निगरानी गरेको सरकारी वकिलको कार्यालय कालीकोट पनि उस्तै गुणस्तरहीन छ । त्यसैले औपचारिक रूपमा उक्त कार्यालय बुझिएको छैन । सडकको आरसिसीको काम पनि गुणस्तरहीन हुने गरेको छ । काम छिटो सक्ने नाममा खड्काले जग्गा विवादलगायतका कुरा सुल्झाउनुको साटो आफू अनुकूलतामा अन्यत्र लैजाने गरेको स्थानीयको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजार आरसिसीका लागि सम्झौता भएका ठेक्का उच्च व्यक्तिको मनसायका आधारमा सार्ने गरिएको छ । मान्म बजारदेखि कोटदरबार हुँदै कर्णाली राजमार्गमा जोड्ने आरसिसी सडक उहाँले वडा नं. ४, जहाँ कामै नलाग्ने ठाउँमा सारेर बजेट सकेको स्थानीयको आरोप छ ।
https://ujyaalonepalnews.com/archives/32663

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ ।
नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् ।
दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौँलगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।।
https://ujyaalonepalnews.com/archives/32651

चितवनमा दुई महिना भन्दा बढी समयदेखि विद्युत् महसुल नतिरेका ग्राहकहरुको लाइन काट्न थालिएको छ।नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आइतबार देखि दुई महिनाभन्दा बढी समयदेखि विद्युत् महसुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको लाइन अभियान नै सञ्चालन गरेरै काट्न थालेको हो।
अभियान अन्तर्गत आइतबार बिहान लामो समयदेखि विद्युत् महसुल नतिरेका ‘टप टेन’ भित्रकाका ग्राहकको लाइन काटिएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।
‘आइतबार बिहानै विद्युत् महसुल नतिर्ने ‘टप टेन’ भित्रका ग्राहको लाइन काटियो, हाम्रो टोली अझै लाइन काट्ने अभियानमै छ,’ इन्जिनियर पौडेलले भने, ‘समयमा विद्युत् महसुल नतिर्ने सबै ग्राहकको लाइन काटिन्छ।’ लाइन काटिनेमा सबैभन्दा धेरै उद्योग रहेका छन्।
इको पोलोमर उद्योग, अनमोल फिड्स, शक्ति प्लाष्टिक, दलिमा केटार, लेक ट्वान्टी फार्म एण्ड रिसोर्ट, इनर्जि फुड, फोर सिर्जन रेष्टुरेण्ड, लाइम एण्ड लेमन क्याफे, न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योग र डिल्लीराज विष्टको लाइन काटिएको छ।
भरतपुर वितरण केन्द्रमा सबैभन्दा धेरै इको पोलोमरले नौ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ। उसले चार महिना देखि बिद्युत् महसुल तिरेको थिएन। अनमोल फिड्सले छ महिनादेखिको आठ लाख ३० हजार रुपैयाँ तिर्न बाँकी छ। शक्ति प्लाष्टिक उद्योगले सात महिनाको छ लाख १३ हजार, दलिमा केटारले छ महिनाको चार लाख ७९ हजार, लेक ट्वान्टी फार्मर एण्ड रिसोर्टले चार महिनाको चार लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी छ।
यस्तै इनर्जि फुडले १२ महिनाको चार लाख २२ हजार, फोर सिर्जन रेष्टुरेण्डले पाँच महिनाको तीन लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महिनाको तीन लाख ५८ हजार रुपैयाँ तिरेका छैनन्।
न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योगले तीन लाख ५७ हजार र डिल्लीराज विष्टले १२ महिनाको तीन लाख १८ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। यो रकममा जरिवाना नजोडिएको इन्जिनियर पौडेलले जानकारी दिए। उनीहरुलाई २५ प्रतिशत जरिवाना लाग्ने उनले बताए।
विद्युत् लाइन छ महिना बढी समयदेखि काटिएको र बक्यौता भुक्तानी भएको छैन भने त्यस्ता ग्राहकलाई कालोसूचीमा राख्ने तयारी भएको छ। हालसम्म केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। जसबाट ७३ लाख तीन हजार रुपैयाँ रकम उठ्न बाँकी छ।
भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँ बढी विद्युत् महसुलको बक्यौता उठाउन बाँकी छ। सडक बत्ती, कालोसूचीमा परेका, सरकारले उद्योगलाई दिएको छुट, उद्योग, पार्टी कार्यालय लगायतबाट ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेको हो।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समयको ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ। केन्द्रले दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी देखिन्छ।
दुई महिनादेखि छ महिनासम्मको चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको दुई करोड आठ लाख २८ हजार, १२ महिनादेखि २४ महिनासम्मको तीन करोड २९ लाख ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ।
विद्युत् महसुल नियमित नतिर्नेमा स्वयम नेपाल सरकार, राजनीतिक दल र ठुल्ठुला उद्योग रहेका छन्। सरकारले तिर्ने गरी उद्योगहरुलाई दिएको विद्युत् महसुलको छुट अहिलेसम्म सरकारले तिरेको छैन।
दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ प्राधिकरणलाई सरकारले दिन बाँकी रहेको प्राधिकरणका इन्जिनियर रुद्रराज विष्टले जानकारी दिए।
‘कोरोनाको बेला सिँचाइ, होटेल लगायतको उद्योगहरुमा सरकारले दुई महिनाको महसुल छुट दिने भनेको थियो। हामीले उनीहरुलाई छुट दियौँ,’ उनले भने ‘सरकारले अझै पनि प्राधिकरणलाई विद्युत् महसुल तिरेको छैन।’
भरतपुर महानगरपालिकाले पनि सडक बत्तिको रकम नियमित तिरेको छैन। सडक बत्तिको मात्रै १२ करोड छ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ। घरायसी बिजुलीको आठ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यवसायी तीन करोड ११ लाख आठ हजार, सामाजिक संस्थाहरूको एक करोड १५ लाख दश हजार बक्यौता रहेको छ।
मनोरञ्जन क्षेत्रकाले पाँच लाख ६९ हजार छ सय ६७, औद्योगिक क्षेत्रको दुई करोड ९२ लाख ४१ हजार, खानेपानीको तीन लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख, धार्मिक सङ्घ संस्था र सामाजिक सघ संस्थालगायतले तिर्न बाँकी रहेको उनले जानकारी दिए।
कालो सूचिमा परेका ग्राहकहरु सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन सक्ने पौडेलले बताए। बक्यौता रकम अविलम्ब भुक्तानी गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ। लाइन काटिएका ग्राहकहरुलाई विद्युत् दिएको पाइएमा दिएका व्यक्तिको समेत लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ।
https://ujyaalonepalnews.com/archives/32649

काभ्रे- दसैँको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपातर्फ फर्कँदै गरेको बा १४ च ७०७७ नम्वरको बोलेरो पल्टँदा एमाले नेताहरु घाइते भएका छन ।
बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्ग नजिकै निगाले भन्ने स्थानको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले जानकारी दिनुभयो ।
गाडीमा एमाले नेताहरु पुर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए ।

घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए ।
७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।
स्थानीय र प्रहरी तथा जनप्रतिनिधिहरुले घाइतेहरुलाई अस्पताल पठाउन सहयोग गरेका थिए ।
घाइतेहरुलाई बनेपा र धुलिखेल ल्याइएको हाम्रा काभ्रे संवाददाता देवराज केसीले जनाएका छन ।।
https://ujyaalonepalnews.com/archives/32646
