Home Blog Page 152

नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवः विश्वभरका आरोही नेपाल आउँदै

काठमाडौँ- विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउदैँछ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको सङ्घले यही कात्तिक १५ गते ५०औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त दिवसका अवसरमा कात्तिक १४ गते एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एशियाली पर्वतारोहण महासङ्घको साधारणसभा काठमाडौँ आयोजना हुदैँछ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासङ्घका अध्यक्ष, एशियाली पर्वतारोहण महासङ्घका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण सङ्घका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो ।

एशियाली पर्वतारोहण महासङ्घ र विश्व पर्वतारोहण महासङ्घका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो,“एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासङ्घका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा थप मद्दत पुग्ने छ ।”

एशियाली पर्वतारोहण महासङ्घको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने सङ्घका अध्यक्ष शेर्पाले बताउनुभयो । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ । सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै सङ्घले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु¥याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/32645

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
   सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिनुभयो ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुग्नुभएको हो । उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।
साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो ।।

https://ujyaalonepalnews.com/archives/32644

स्याफ्रुबेँसी–रसुवागढी सडकको काम अघि बढेन

काठमाडौँ- सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि र विसं २०७२ को नाकाबन्दीपछि सरकारले उच्च महत्त्वका साथ अघि बढाउने भने पनि त्यसअनुसार अघि बढ्न सकिरहेको छैन । यो खण्डको निर्माणका लागि केही समय पहिले चिनियाँ टोली आएर छलफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । अघि बढ्ने कुरा भए पनि उनीहरूले भनेअनुसार निर्माणस्थल खाली गराउन नसकिएको योजनाका इञ्जिनीयर सन्तराम पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको अडान काम गर्न पूरै खाली हुनुपर्छ भन्ने छ ।”

पहिले सरकार र चिनियाँ पक्षबीच सम्झौता हुँदा घरटहरा हटाउने, बिजुलीको पोल हटाउने जिम्मा सरकारको र निर्माणको काम चीन सरकारको हुने उल्लेख थियो । उनीहरुले ठेक्का पनि लगाएको तर उनीहरुको माग घरटहरा पूरै हटाइसकेर ‘साइट’ पूरै ३० मिटर खाली गर्नुपर्छ भन्ने रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले भनेअनुसार गर्दा स्याफ्रुबेँसी बजार पूरै उठ्छ । त्यसैले अहिले जति उपलब्ध छ त्यतिमा गर्नुपर्छ ।” सडक निर्माणका लागि ठेक्का भइसक्दा पनि स्याफ्रुबेँसीमा स्थानीयले ठाउँ नछाडेकाले निर्माणमा जान नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो ।

सडकको अधिकार क्षेत्र खाली गराउन अझै एक दुई ठाउँमा विवाद छ । जैसीले भन्नुभयो, “स्याफ्रुबेँसी क्लियर भएपछि आउँछु भन्छन् तर गर्न सकिएको छैन ।” यो सडकमा केन्द्रबाट १५/१५ गरी जम्मा ३० मिटर चौडाइ कायम गराउनुपर्ने हुन्छ । राजमार्गमा चौडाइ त्यति चाहिने भए पनि त्यहाँ जग्गा नै उपलब्ध नहुँदा जति उपलब्ध हुन सक्छ त्यतिमा मात्रै गर्नेगरी सहमति गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रूपमा स्थापित गर्ने सरकारको योजना थियो । सरकारले सडक ऐन, २०३१ को दफा ३ को खण्ड ‘ख’ अनुसार यसलाई ‘फिडर रोड’ तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर कायम गरिएको थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ ।

चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन् । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन् । सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ ।।

https://ujyaalonepalnews.com/archives/32643

आयात बढ्दा निर्यात घट्यो: व्यापार घाटा तीन  खर्ब ६६ अर्ब ८८ करोड

काठमाडौँ- चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।
सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।।

https://ujyaalonepalnews.com/archives/32642

रिग र तिलाचन तालमा पर्यटकको चहलपहल

बागलुङ- शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् ।
दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । तिलाचन तालले बागलुङ र रोल्पाको सिमाना पछि छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै यी तालमा पुग्न सकिन्छ ।
बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने लोकमार्गमै पर्छ । यहाँदेखि रिगताल १५ मिनेट र तिलाचन ताल ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । चिसो मौसम, सिरसिर हावा चलिराख्नु र शान्त वातावरण यहाँको विषेशता हो । करिब तीन हजार तीन सय मिटरको उचाइमा पर्ने रिग र तिलाचन ताल एउटै ‘रेन्ज’ मा पर्छन् ।
आधादशक अगाडिसम्म सुनसान रहेका दुवै ताल अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन् । यतिबेला चाडपर्वको बिदा छ । त्यसले गर्दा क्याम्पस, विद्यालय तथा विभिन्न सङ्घसंस्था बन्द छन् । यो समयमा यहाँ दैनिक एक सयबढी पर्यटक आउने गरेको पाइएको छ । पहिले गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रुपमा रहेका यी क्षेत्रमा अहिले दैनिक पर्यटक पुग्छन् ।
तीन वर्ष अगाडि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै रिग र तिलाचन ताल चर्चामा आएका हुन् । रिग ताल पातीहाल्नेदेखि नजिक रहेको हुँदा बढी पर्यटक पुग्ने गरेका छन् भने तिलाचनमा केही कम पुगेका छन् । दुईवटै तालमा पहिले गोठालाले खानेपानी भर्ने गर्थे । बाह्रै महिना यहाँ फाट्टफुट्ट पर्यटक पुग्ने गरे पनि यो सिजनमा बढी आएको स्थानीय भीमबहादुर घर्ती मगरले बताउनुभयो ।
पन्ध्र दिनदेखि दैनिक दुई समयको हाराहारीमा यहाँ पर्यटक आउने गरेको उहाँको भनाइ छ । लोकमार्गमार्फत बढी पर्यटक गाडी तथा मोटरसाइकलमा आइरहेका घर्तीमगरले बताउनुभयो । पहिले आफूहरुले गाईभैँसी र भेडाबाख्रा चराउनेबेला सुनसान रहेका रिग र तिलाचन ताल क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको उहाँ बताउनुहुन्छ ।
“विसं २०३९/४० जति भयो मैले यस ठाउँमा बिताए, तर पहिले यहाँ पशुचौपाय र गोठालाबाहेक बाहिरी मान्छे आउँदैनथे, गोठाला पनि बर्खामा मात्रै बस्ने गर्थे तर अहिले देश विदेशका मान्छे आएर घुम्छन्, हामीहरुले पानी भर्ने तालमा फोटो खिच्ने, भिडियो बनाउने गर्छन्”, घर्ती मगरले भन्नुभयो, “हिउँद बर्खा जतिबेला पनि मान्छे आइराखेका छन्, ठाउँ पनि निकै राम्रो छ, दसैँ आउनुभन्दा पहिलेबाटै यहाँ मान्छे आउन थालेका थिए, अहिलेसम्म आइरहेका छन्, दिनदिनै यहाँ आउनेको सङ्ख्या बढि छ, चिसो ठाउँ छ र मान्छे घुम्न आएका छन्, यो देख्दा विकास भएको अनुभूति भएको छ ।”
रिग ताल मगर खाम भाषाबाट नामाकरण गरिएको हो । मगर भाषामा ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो गरेर जमेको भन्ने बुझाउँछ । त्यस्तै तिलाचन ताललाई गोठालाले पहिले ‘तिलाचन दह’ भन्ने गरिएको स्थानीय भीमबहादुर बताउनुहुन्छ । उहाँले लोकमार्गको स्तरोन्नतीपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउनुहुन्छ ।
रिग तालसम्म पुग्नका लागि दुई वर्ष अगाडि नै निसीखोला गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ भने तिलाचन तालमा गोरेटोबाटो मार्फत पुग्नुपर्छ । रुकुमपश्चिमबाट घुम्न आउनु भएका विशाल विष्टले यो क्षेत्र निकै रमणीय भएको हुँदा आफू तेस्रो पटक आएको बताउनुभयो ।
तीन वर्षदेखि लगातार दसैँ तिहारको बिदामा यहाँ आएको भन्दै यसपटक १३ जनाको समूह घुम्न आएको बताउनुभयो । रिग र तिलाचन तालसँगै ढोरपाटनसम्म पुगेर फर्किने योजना बनाएर भ्रमणमा निस्किएको उहाँको भनाइ छ । लोकमार्ग कालोपत्र हुनुपूर्व यी तालको नाम नै नसुनेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल हुँदै गएको विष्ट बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “खलाङ्गाबाट तीन÷चार घण्टामै आउन सकिन्छ, बाटो पनि निकै राम्रो छ, पहिले कच्ची बाटो हुँदा समस्या थियो, बागलुङतिर आइँदैनथ्यो, सडकको स्तरोन्नतिपछि यता आइराखेकै हुन्छ, यहाँको ताल घुम्न त म तीन पटक आएँ, ताल मात्रै होइन, यहाँको डाँडापाखा, जङ्गल र खोलाले पनि धेरैलाई आइराखौँ झैँ बनाउँदोरहेछ, बागलुङबाट त आउने नै भए, रुकुम तिरबाट पनि धेरै मान्छेहरु घुम्न आएको पाइयो ।”
गुल्मीको रिडीदेखि घुम्न आउनुभएका भरत पुरीले गलकोटको गाईघाट झरना अवलोकन गरि बुर्तिबाङ बजार हुँदै रिग र तिलाचन ताल घुम्न आएको बताउनुभयो । करिब १२ जनाको समूह भएर पूर्वी रुकुमको कमल दहसम्मको यात्रामा हिँडेको भन्दै लोकमार्ग नजिकै रहेको हुँदा यी दुवै ताल अवलोकन गरेको उहाँको भनाइ छ ।
दुईवटै तालसम्म पुग्नका लागि सरोकारवाला निकायले सडक निर्माण गर्न र अन्य पर्यटन पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने पुरीको भनाइ छ । रिग तालसम्म मोटरबाटो पुगेर सहज भए पनि तिलाचन तालसम्म पुग्नका लागि पातीहाल्नेदेखि पदमार्ग निर्माण गर्नसके पर्यटकलाई थप सहज हुने उहाँले बताउनुभयो ।
ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाको सहजरुपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्यूठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तुक पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् । यी तालमा पुग्न बागलुङ सदरमुकामदेखि गाडीमा साढे पाँच घण्टा, गलकोटबाट तीन घण्टा र बुर्तिबाङबाट एक घण्टामा पुग्न सकिन्छ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट करिब तीन घण्टा, पश्चिम रुकुमको सदरमुकाम खलङ्गा मुसिकोटबाट साढे चार घण्टा लाग्छ ।।

https://ujyaalonepalnews.com/archives/32641

महासचिव गुटेरेस र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उहाँहरुबीच शिष्टाचार भेट भएको हो । सो अवसरमा उहाँहरुबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक  हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणको पहिलो दिन आज यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।
साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।।

https://ujyaalonepalnews.com/archives/32640

उपप्रधान तथा रक्षामन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता  भएको छ ।

महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गर्नुभएको थियो । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुग्नुभएको हो ।

उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरिसक्नुभएको  छ भने कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नुहुनेछ ।।

https://ujyaalonepalnews.com/archives/32639

गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुद हुनेछ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
        महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
 उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ ।” जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
 त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।
नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।
“असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ । मौसम परिवर्तनका असरबारे पनि छलफल भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्व शान्ति निर्माणका लागि नेपालको शान्ति सेनाले खेलेको भूमिकाको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि हाम्रो योगदानको सम्मान होस् भन्ने विषय राख्यौँ ।”
राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो ।।

https://ujyaalonepalnews.com/archives/32638

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।सन्दीप लामिछानेलाई पनि समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम )ढकाल र सागर ढकाल टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ

https://ujyaalonepalnews.com/archives/32636

रत्ननगरमा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्धघाटन खेलमा वडा नंं. १० र ११ विजयी

रत्ननगर, कार्तिक १० । रत्ननगरमा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा रत्ननगर-८ बाघमाराको खेल मैदानमा विजया दशमी, शुभ दिपावली- २०८० को पावन अवसरमा प्रतियोगिता सुरु भएको हो ।

फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा रत्ननगरका- १६ वटै वडाका टिमको सहभागिता रहेको छ ।

शुक्रवार भएको प्रतियोगिताको पहिलो खेल वडा नं. ११ र १६ बिच भएको थियो । दुबै टिमको खेल निर्धारित समयमा २-२ गोलको बराबरीमा सकिएपछि वडा नंं १६ लाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ विजयी भएको हो ।

यस्तै दोस्रो खेल वडा नं. ८ र १० बिच भएको थियो । वडा नं. ८ लाई १-० गोलले पराजित गर्दै वडा नं. १० विजयी भयो ।

यही कार्तिक १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद रु ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद रु २५ हजार सहित शिल्ड मेडल, मेडल र प्रमाण पत्र प्रदान गरिने रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष तथा खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।

भोली (शनिवार) पहिलो खेल वडा नंं १ र वडा नं. ३ तथा दोस्रो खेल वडा नं. ४ र वडा नं. १२ बिच हुने चौधरीले बताए ।

उद्धघाटन खेलमा रत्ननगरका १६ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/32630