Home Blog Page 153

नहर विभाग खाली गर्ने समय सिमा नजिकिदै – नगर प्रमुख लामा भन्छन “मुख्य राजनैतिक दलको दोहोर चरित्र मात्र वाधक”

राप्ती । राप्ती नगरपालिकावासीको चासोमा रहेको नहर विभागको जग्गा खाली गर्न दिइएको सुचनाको समयसिमा सकिन लागेको छ । कार्तिक १७, नगरपालिकाले दिएको अन्तिम समयसिमा हो । राप्ती नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको भण्डाराको पश्चिम पट्टी करिब २ सय २३ घरपरिवार बाढी पिडितको नाममा बसिरहेका छन । जसमा करिब ७ देखि १३ घर परिवारको कहि कतैपनि घर जग्गा रहेको छैन । उनिहरु अहिले राप्ती नगरपालिकाको सम्र्पकमा छन । २०५० सालको बाढीमा पिडित भएका राप्ती ६ का अधिकांश थारु परिवारलाइ तत्कालिन विपद व्यवस्थापन समितीले राजनैतिक दल र जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा राखेको हो । तर अहिले परिस्थिती फेरिएको छ । राप्तीको ड्याक बलियो हुदै गएको छ । जोखिम नभएको भन्ने जानकारी आएसंग सिचाइ डिभिजन कार्यालय भरतपुरले असार २९ मा आफ्नो नामको जग्गा खालि गरिदिन नगरपालिकालाइ अनुरोध गरेको हो । यो संगै असोज महिनामा आएर जिल्ला हुलाक कार्यालय चितवनले समेत आफ्नो नाममा रहेको जग्गा खालि गरिदिन अनुरोध गरेको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले कार्तिक १७ सम्ममा नहर विभाग खालि गर्ने बिषयमा आफु कानुन सम्वत तयार भएर बसेको बताए । लामाका अनुसार नहर विभागमा बसोबास गरीरहेका जनतालाइ बारम्बार सुचना जारी गरेको, घर वा व्यवसाय कहि कतै सार्न आवश्यक खर्चको बिषयमा जानकारी दिन अनुरोध गरेको बताए ।

अहिले सम्म ५० घर परिवार सम्र्पकमा आएको उनले बताए । बाकि परिवारको जिवनशैली , पारिवारिक अवस्था व्यवस्थित रहेको भन्दै नहर विभाग दावि गर्नु कानुन सम्वत नभएको उनको दावी रहेको छ । अहिले बाढी पिडितको अगुवाइ गर्नेहरुको महल जस्ता घर रहेको, ठाउ ठाउमा जग्गा जमिन भएको र अधिकांश परिवारको आफ्नै व्यापार व्यवसाय रहेको उनले बताए । उनिहरु आफुलाइ बाढी पिडित मात्र भन्ने तर सरकारी जग्गा हडप्ने काम भएको बताए । नहर विभागको अधिकांश परिवारका छोरा छोरी युरोप लगायत ठुला देशहरुमा अध्ययन र कामको सिलसिलामा रहेका छन । कति व्यक्तिलाइ त दशैमा समेत खाद्यन्न सहयोग गरिएको उनले बताए । सरकारी जग्गामा लामो समय बस्न नमिल्ने, नैतिकताको आधारमा समेत सो जग्गा खालि गर्नुपर्नेमा नगर प्रमुख शमशेर लामाको जोड रहेको छ । उनले आफ्नै परिवारका सदस्य समेत सो ठाउमा बसोबास गरिरहेका बताए । नगरका कार्यरत कर्मचारीको घर र व्यवसाय रहेको उनले बताए । तर सवैले मानिरहेको अवस्थामा एउटा झुण्डले ठाउ नछाड्ने भन्दै भ्रम सिर्जना गरेको बताए । उनले भने यो कदापि हुदैन सरकारी जग्गा जमिन व्यक्तिले प्रयोग गर्न मिल्दैन, भाडा उठाएर जिविकोपार्जन गर्न मिल्दैन । यदि कुनै व्यवसाय गर्न चाहाने हो भने, आफ्नो शिप प्रयोग गर्ने हो भने नगरपालिकाले अनुदान दिन्छ यसरी सरकारी जग्गा हडप्न कदापी पाइदैन । नहर विभागको बिषयमा राप्तीका जनप्रतिनिधिमा दुइ वटा चिरामा चिरिएका छन ।

नहर विभाग हटाउने बिषयमा सवैको समर्थन तर कसले जस लिने भन्ने बिषयमा होडवाजी चलेको राप्ती नगर वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीको बुझाइ रहेको छ । अहिले राप्तीमा एमाले , काग्रेस र समाजवादीको सरकार रहेको भन्दै कसले जस लिने भन्दै अहिले तै चुप मै चुप अवस्थामा रहेको बताए । आफु नहर विभाग खालि गर्ने बिषयमा नगरपालिकाले निर्माण गरेको प्रतिवेदन तयार पार्ने समितीमा समेत रहेको भन्दै नगर प्रमुखले सवै प्रकृया पुरा गरि सक्नु भएको उनको तर्क रहेको छ । २०७९ पुषमा नगर उपप्रमुख देवेन्द्र लामाको संयोजकत्वमा बनेको समितीले अहिले असोजमा आएर काम गरेको छ । यस अघि समितीले कुनै पनि क्रियाकलाप गरेन । केहि दिन अघि नहर विभागको जनतासंग नगर उपप्रमुख लामा , वडाअध्यक्ष सहितको टोलिसंग विचार र विर्मश लिन छलफल गरेका थिए । लगत्तै उनले नगरस्तरिय सर्वदलिय बैठक ठाकेर राजनैतिक दलको प्रकतिकृया समेत लिएका थिए । यसले के जनाउछ भने समय सिमा सकिन लाग्दा नगरका उप प्रमुखले राजनैतिक दललाई बोलायर बैठक राख्दा नगर प्रमुखले गरेको काममा भाजो हाल्न लागेको संकेत दिन्छ तर त्यसो नहोस । यसमा काग्रेस र एमालेले डिप्पोम्याटिक जवाफ दिएको छ ।

नहर विभाग नहटाउने पनि नभन्ने र हटाइ हाल्नु पर्छ पनि भन्न सकेको छैन । तर राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी , रा प्र पाले तत्काल हटाउनु पर्नै आफ्नो विचार राखे । माओवादी केन्द्र उपस्थिती नभएको भएपनि कुनै पनि हालतमा हटाउनु पर्ने अडानमा रहेको छ । राप्तीका अगुवाहरुको अनुसार जस कसले लिने भन्ने बिषयमा मात्र लडाइ हो आज या भोलि नहर विभाग उठ्छ भन्दै आफ्नो आफ्नो तर्क दिएका छन । नहर विभागको मुख्य क्षेत्रमा व्यवसाय गरेर बसिरहेका करिब आधा दर्जन भन्दा बढी व्यवसायीले नया ठाउमा सरेका छन । अधिकांश व्यवसायीले नया खोजेका छन । हट्छ भन्ने पक्का हुदा हुदै पनि नहर विभागमा छरिएको भ्रमको कारण अन्यौलमा रहेका छन ।

 

राप्ती नगर प्रमुख शमशेर लामाले सो क्षेत्रमा रहेका व्यवसायी र उद्योगीलाइ सचेतना गराउने उद्देश्यले राप्ती उद्योग वाणिज्य र उद्योग संघलाइ परिपत्र गरिएको बताए । सो स्थानका व्यवसायी र उद्योगीले समयमानै ठाउ नसारे त्यसको क्षति नगरपालिकाले नव्यहोर्ने समेत बताए । एमाले र कांग्रेसबाट निर्वाचित जन प्रतिनिधिले नगरको कदमलाई सहयोग नगरे पनि आंसिक रुपमा एमाले र कांग्रेसका नेता कार्यकर्ताले सहयोग गरेको नहर प्रमुख लामाले बताए । समयसिमा भन्दा अगाडी आएर समन्वय गरे अन्यत्र जाने व्यवस्थापन पालिकाले गरि दिने बताए । अहिले सामाजिक सञ्जालमा नहर विभाग खाली गर्ने बिषयमा चर्चा सुरु भएको छ ।

https://ujyaalonepalnews.com/archives/32628

पूर्वीचितवनमा भएका दुई दुर्घटनामा १ को मृत्यु, ३ घाइते

१० कात्तिक, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् ।

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी र सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए ।

घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/32625

वर्षा सकिए सँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो ।

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उहाँको भनाइ थियो ।

बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्”, अध्यक्ष मल्लले भन्नुभयो, “दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।” विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।

मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।

यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति रु एक हजार पाँच सयसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।रासस

https://ujyaalonepalnews.com/archives/32622

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

सुर्खेत। ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।

उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए ।

स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढाेग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामकाे उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्युु भएकाे छ।

परिवारले घनश्यामकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंकाे अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए ।

कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

https://ujyaalonepalnews.com/archives/32619

स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते

मकवानपुर- काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।।

https://ujyaalonepalnews.com/archives/32616

अलैँची टिप्ने चटारोले बगानमै मनाए किसानले दसैँ

फुङ्लिङ- नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ  विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।
घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किनुभएको छैन । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उहाँको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उहाँले यस वर्षको दसैँ पनि यही बगानमा मनाउनुभयो ।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाउनुभयो । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उहाँले मङ्गलबार  अलैँची बगानमा पूजापाठ गर्नुभयो । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उहाँले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गर्नुभएको छ । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उहाँको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उहाँले भन्नुभयो, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उहाँले बताउनुभयो । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाउनुभयो । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन  । ठूलो बगानमा टिपिरहेका उहाँ तिहारअघि नै काम सकेर फर्कने तयारीमा हुनुहुन्छ ।
मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउनुहुन्थ्यो । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उहाँ बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खान समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।
यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।
अलैँची टिप्ने मजदुर पाउनै गाह्रो
विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताउनुभयो ।
केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।
यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।।

https://ujyaalonepalnews.com/archives/32615

नवदुर्गाको प्रसाद र आशीर्वाद लिने काम तेश्रो दिन पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ ।

केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि केही चहलपहल देखिन थालेको छ।

https://ujyaalonepalnews.com/archives/32614

धादिङमा अलग-अलग सवारी दुर्घटना हुँदा १७ जना घाइते

धादिङ- धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा  १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल  काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।
दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र  उहाँका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिनुभयो ।
बसमा सवार काठमाडाँै चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उहाँकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते हुनुभएको छ । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते हुनुभएको छ ।
थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते हुनुभएको छ । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई  र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथोे हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौँतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रोबस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको  कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए । त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए  ।।

https://ujyaalonepalnews.com/archives/32613

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा-नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ ।

एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ ।

सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।

एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण, विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनःनिर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन निर्माण, हेल्थ डेक्ससमेतका संरचनाको व्यवस्थापन रसुवागढीभन्दा केही तल निर्माण भएको १११ मेगावाट जलविद्युत्को ड्यामजस्ता संरचना र नेपाल घुम्ने चिनियाँ पर्यटकको आगमन तथा सामान आयात निर्यातका लागि मितेरी पुलबाट आवतजावत गरिरहने ट्रक कन्टेनरका चहलपहलले रसुवागढीको चहलपहल बढ्दै गएको छ ।

यस्तै टिमुरेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहको आधाजसो निर्माण, टिमुरे तथा घट्टेखोला क्षेत्रमा निजीस्तरका होटल निर्माण, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको भवन निर्माणजस्ता कार्यले टिमुरेदेखि रसुवागढीसम्मको रौनक निकै बढेको स्थानीय समाजसेवी सुनामओदी तामाङले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको पूर्वाधार विकास योजना, १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट पीडित बासिन्दालाई सहयोग योजनाजस्ता विकास कार्यक्रमले क्रमिकरूपमा टिमुरे, घट्टेखोला र रसुवागढीको मुहार फेरिँदै गएको र अबको दुई÷चार वर्षमा सबै प्रकारका संरचना बनिसक्ने आफूहरू आशावादी उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32611

योग्यताको कसीमा विधागत पत्रकार

काठमाडौँ- मिडिया क्षेत्र संस्थागत नहुँदा नहुँदै पनि र पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था दुरुह रहँदा रहँदै पनि नेपालमा केही वर्षयता पत्रकारको योग्यताका मामिलामा मन्द बहस जारी छ । कसैले पत्रकार हुनका परीक्षा दिनुपर्ने तर्क दिइरहेका छन् भने कसैले त्यसको विरोध गरेका छन् ।

परीक्षा–पक्षधरहरूको तर्कअनुसार कानून व्यवसायी, चिकित्सक, इन्जिनीयर, शिक्षक मात्र नभएर सवारी चालकसम्मले परीक्षा उत्तीर्ण गरेर मात्र पेशागत अभ्यास गर्न पाउँछन् भने व्यापक प्रभाव राख्ने सीपमूलक पेशाकर्मी पत्रकार किन अपरीक्षित ? ठीक विपरित जिकीरअनुसार संविधान–प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकजस्ता मौलिक अधिकारको अभ्यासकर्ता पत्रकारितामा प्रवेश गर्नै बारबन्देज गर्नु नागरिक हकको प्रतिकूल हो । यी दुईथरि मत पेशाको गुणस्तरीयता कायम गर्ने र नियन्त्रण वर्जित गर्ने हदसम्म मात्र सीमित नभएर कतिपय अवस्थामा उच्च शिक्षा प्राप्त र अप्राप्त पत्रकारहरूको मतको रूपमा समेत अभिव्यक्त हुने गरेका छन् । यस मामिलामा सम्पादकहरूको अनुभव भने यथार्थ अलि फरक पाइन्छ ।

उनीहरूका अनुसार कक्षा कोठामा कुशल भनिएका पत्रकारिताका विद्यार्थी समाचार कक्षमा कमजोर पाइएका छन् । तर, त्यस्ता विद्यार्थी भने तिनै सम्पादकको शैक्षिक योग्यतामाथि खिसीट्यूरी गरिरहेका भेटिन्छन् । यो आम पत्रकारिताको कुरा भयो । केही हप्तायता विशेषज्ञ पत्रकारिता अर्थात विधागत पत्रकारिताका बारेमा आमसञ्चारका माध्यममा मेरा आलेखहरू प्रकाशित भइरहँदा मैले भने केही फरक प्रतिक्रिया पाएको छु । ती प्रतिक्रिया विश्वविद्यालयको प्रमाणपत्र वा कुनै परीक्षा प्रणालीको पक्ष वा विपक्षमा छैनन् । त्यसअनुसार, विधागत पत्रकारिता गर्नका लागि आमरुपमा पत्रकारका लागि चाहिने गुण, विशेषता, सीप, क्षमता आदि त चाहिन्छन् नै; त्यस अतिरिक्त यो विशिष्टीकृत क्षेत्र भएकाले अरू विशिष्ट योग्यता, विशेषता, सीप र क्षमता पनि जरुरी हुन्छ । हो, वास्तवमै आम पत्रकारको आँखामा वाञ्छनीय ठानिएका गुण विशिष्टीकृत क्षेत्रका लागि त अत्यावश्यक तत्व नै हुन् ।

विशिष्ट गुणका कारणले नै विधागत पत्रकारितालाई विशिष्टीकृत पत्रकारिता मानिएको हो । “विधागत पत्रकारितामा विषयगत ज्ञान र सीपका साथै खास तथ्य वा सन्दर्भसँगै सञ्चारशैली र सूचना प्रवाहको खासखास धार हुन्छन्” भन्नु हुने नेपाली पत्रकारहरूका गुरू प्राध्यापक रामकृष्ण रेग्मीले ‘उहिलेको पत्रकारिता’ मा उल्लेख गरेअनुसार प्रत्येक विधामा ‘विशेष मर्म, मौलिक मूल्य र मान्यता’ हुन्छन्, जसको जगेर्ना पत्रकारिताले गर्नै पर्छ । जनसम्पर्क र सूचनाको स्रोतका लागि त विधागत पत्रकारले पनि आम पत्रकारले जस्तै विधि अपनाउँछन् । विषयवस्तुसँग परिचित हुने हुनाले विधागत पत्रकारहरू विषयवस्तुको भित्री तहसम्म पुग्नैपर्छ । त्यसैले उनीहरूले सीधा तथ्यको रिपोर्टिङ्का अतिरिक्त अन्तर्यमा पुगेर भित्री कथा र टिप्पणी पनि दिनसक्नुपर्छ । व्यापक स्रोतहरूसँगको सु–सम्बन्ध नै गतिला समाचारका आधार हुन् । सम्बन्ध कायम नरहे विश्वास कायम रहँदैन ।

विधा विशेषमा अनुभवी पत्रकारले सो विधामा आधिकारिक रूपमा लेख्न सक्छ । यो नै सबैभन्दा ठूलो तागत हो । आ–आफ्नो बिटका कानून, नीति, कार्यक्रम र तिनको कार्यान्वयनको अवस्थाबारे सबै बिटका पत्रकारलाई ज्ञान हुनु जरुरी छ । दर्जनौं पुस्तकका सम्पादक तथा प्रतिष्ठित अमेरिकी पत्रकार क्रिष्टोफर स्क्यानलानका विचारमा विधागत पत्रकारले आफ्नो विधाका समाचारका स्रोत चिन्नुका साथै भाषा र प्रक्रिया पनि सिक्नुपर्छ । शब्द, शैली, संस्कृति, संकेत, संवेदनशीलता, सबलता÷दुर्बलतासमेत बुझ्नु त्यस्तो पत्रकारको आवश्यकता हो । त्यसैअनुसारको विशिष्ट÷प्राविधिक शव्दावली र तिनको अर्थ, कार्यस्थलको वातावरण आदि पनि जान्नुपर्छ ।

टेक्सस युनिभर्सिटीका पत्रकारिताका प्राध्यापक डेभिड राइफका अनुसार, पत्रकारलाई कुनै बीटमा रिपोर्टिङ् गराउँदा सञ्चार संस्थाको लगानी हुन्छ र पत्रकारहरू निपूर्णता हासिल गर्न मनैदेखि लागेका हुन्छन् । त्यो भनेको मूलतः मिडिया हाउसको आर्थिक लगानी हो भने पत्रकारको समय, श्रम र भावनाको लगानी हो । आफ्नो बिटमा कुनै घटना हुने बित्तिकै स्रोतहरूबाट तत्काल जानकारी लिनु र समय–सीमाभित्र लेखिसक्नुलाई सम्पादक स्क्यानलान ‘पत्रकारको ठूलो तागत’ ठान्छन् ।

स्रोतलाई सधैं खुशी राख्न सम्भव नहुन सक्छ तर सम्बन्ध कायम राख्न भने आवश्यक नै हुन्छ । विधागत पत्रकारिताका अनुसन्धानकर्ताहरूले बीट रिपोर्टर र समाचार–स्रोतबीच व्यावसायिक दूरी कायम राख्नमा तीन वटा जोखिम देखेका छन् ।

मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार पहिलो हो– बिट रिपोर्टरहरू स्रोतप्रति धेरै बफादार भएमा स्रोतले प्रयोग गरिदिनसक्छ । दोस्रो– पत्रकारहरू स्रोतप्रति धेरै विरोधी भए पनि पाठक÷दर्शक÷स्रोतालाई मन पर्दैन र पत्रकारले विश्वास गुमाउन सक्छन् र तेस्रो जोखिम हो– बिट रिपोर्टरले आफूलाई उनीहरूको स्वार्थका पक्षधर जस्तो ठान्न थाले भने तिनीहरू कार्यकर्ता हुन पुग्छन् । यी तीन वटै अवस्थाले पत्रकारितालाई क्षय नै गर्छन् ।

त्यसो भए विधागत पत्रकारितालाई कसरी प्रभावकारी बनाउने त ? पत्रकारिताको २५ वर्षभन्दा लामो समय अनुभव सँगालेका अमेरिकी प्राध्यापक टोनी रजर्स त्यसका लागि चार वटा उपाय पेश गर्छन् । उनका अनुसार, पहिलो उपाय हो– आफ्नो बीटको बारेमा चाहिने सबै कुरा सक्दो सिक्न र जान्नका लागि यस क्षेत्रका धेरैभन्दा धेरै मानिससँग कुरा गर्नु र पढ्नुपर्छ । प्राविधिक विधामा काम गर्ने पत्रकारका लागि यो विशेष चुनौतीपूर्ण छ ।

तर, पत्रकारले पनि वैज्ञानिकले जति नै जानेको होस् भनेर कसैले अपेक्षा गर्दैन । पत्रकारले आम गैरप्राविधिक मान्छेले जति भने जान्नै पर्छ । त्यति भएमा प्राविधिक मान्छेसँग ठीक प्रश्न सोध्न र उसका जवाफलाई सबैले बुझ्ने गरी सम्प्रेषण गर्न सक्ने हुन्छ ।

दोस्रो उपाय, आफ्नो बिटका खास–खास खेलाडी को–को हुन् भनेर सकेसम्म बढी जानकारी राख्नु पर्छ । तेस्रो– आफ्नो बिटका मान्छेलाई समान्यरूपमा चिन्ने मात्र हैन, तीमध्ये केहीलाई भरपर्दो समाचार–स्रोत बनाउनुपर्छ । समाचार–स्रोत गतिलो नभएको पत्रकारसँग वास्तवमा केही पूँजी नै हुँदैन ।

पत्रकारहरूको एउटा कमजोर पक्ष हो, समाचारको स्रोत “ठूलो” हुनुपर्छ भन्ने भ्रम । हो, ठूला समाचार ठूलै ठाउँमा पाक्छन् । त्यसको अर्थ त्यो कुरा “ठूला”हरूबाट मात्र थाहा पाइन्छ भन्ने होइन । सहायक कर्मचारी ठूला समाचारका स्रोत हुन सक्छन् । महत्वपूर्ण कागजात र अभिलेख तिनैसँग हुन्छन् । उदाहरणका लागि– प्रधानमन्त्रीको किनमेलको विवरण सुरक्षागार्डबाट पाउन सकिन्छ भने राष्ट्रपतिको स्वास्थ्य अवस्थाको जानकारी अस्पतालका नर्सले दिन सक्छन् । नेपाल आएका विदेशी सेलेब्रिटीसँग पहुँच नपाए पनि उनीहरू बसेको होटलका बेयरा पत्रकारको पहुँचमा हुन सक्छन् ।

स्रोतसँग बलियो सञ्जाल विकास गरेका बिट रिपोर्टर समाचार–स्रोतको रुचिअनुरुपका सामग्री मात्र लेख्ने चेपुवामा पर्ने खतरा त छँदैछ । त्यस्तो अवस्थामा पत्रकारले के गर्ने त ? आफैँलाई केही प्रश्न सोध्नुभन्दा राम्रो उपाय केही हुन सक्दैन । प्रश्न सामान्य हुन्छन् । जस्तै ः यसले मेरा पाठक÷स्रोता÷दर्शकलाई कस्तो प्रभाव पर्ला ? तिनले के सोच्लान् ? यो उनीहरूलाई चाहिने कुरा हो कि होइन ? यस्तै–यस्तै । जवाफ नकारात्मक आए भने स्पष्ट छ, त्यो समाचार आवश्यक छैन ।यसबाहेक पनि प्रभावकारी बिट रिपोर्टिङ्का विभिन्न उपाय हुनसक्छन्, अलिकति तिनको चर्चा गरौं ।

पहिलो हो, सिधै पाठक-दर्शक-स्रोतासँग कुरा गर्नु । तिनका छिमेकी, साथी–सङ्गी र पाठकका आफन्तका बारेमा पनि स्थानीय समाचार–कथाहरूले रिपोर्ट गर्छन् । तर, तिनका बारेमा कुरा गर्ने होइन, सिधै पाठक-दर्शक-स्रोतासँगै कुरा गर्ने उपाय अपनाउनुपर्छ । अर्को हो, पत्रकार पहरेदार हो, पहरेदार नै बन्नुपर्छ । विधागत पत्रकार मार्गदर्शक पनि बन्नसक्छ । परम्परागत रूपमा पत्रकारिताले अधिकारीहरूलाई जवाफदेही बनाउँछ । यसबाहेक असल र सिर्जनशील पत्रकारले समुदायलाई समाधान र प्रगतिको बाटो पनि देखाउन सक्छ ।

रिपोर्टिङ्मा ध्यान केन्द्रित गर्नु प्रभावकारी बिट रिपोर्टिङ्को अर्को उपाय हो । छोटा समाचार–कथालाई पनि राम्रोसँग विकसित गर्न सकिएमा गहन–रिपोर्टिङ हुनपुग्छ । गहन रिपोर्टिङ्मा व्यक्तित्वका सूक्ष्मता र नगण्य जस्ता लाग्ने विषय पनि सङ्कलन गरिन्छ । वास्तवमा यस्ता विवरण महत्वपूर्ण र रोचक हुन्छन् । समाचार–कथाको प्रमुख तत्वलाई अगाडि प्रस्तुत गरेर त्यसपछि मात्र घटनाको पुनः वर्णन गरियो भने ‘पानी–घडी’ जस्तो संरचना बन्छ, त्यो पाठकका लागि रुचिकर हुन्छ ।

जटिल समस्या आए अनुवाद गर्नैपर्छ । बिट रिपोर्टिङ्ले पाठक÷दर्शक÷स्रोताका जटिल समस्याको गाँठो फुकाइदिन्छन् भन्ने अपेक्षा गरिन्छ । त्यसका लागि पत्रकारले अनावश्यक पृष्ठभूमि नहाली आवश्यक विवरण मात्र दिनुपर्छ । मानवीय विवरण समाचार–कथाको मूल मर्म हो । अधिकांशतः स्थानीय वा बिट रिपोर्टहरूमा चित्रित व्यक्ति स्थानीय बासिन्दा हुन्छन् । स्थानीय सहज सार्वजनिक ठाउँहरूमा भेटिने उनीहरूप्रति निकटता देखाउनैपर्छ । सांस्कृतिक अन्तर्दृष्टि अर्को महत्वपूर्ण पक्ष हो । स्थानीय समाचारमार्फत स्थानीय संस्कृतिबारे थाहा पाउने र त्यसलाई विकास गर्ने प्रयास गर्नुपर्छ । यसो गर्दा टाढाका पाठकलाई पनि समाचार–कथाले नजिक ल्याइपु¥याउँछ ।

यसै पनि पत्रकार भनेका पाठक÷श्रोता÷दर्शकका आँखा हुन् । उनीहरूलाई हेर्ने बनाउनु र उनीहरूकै ठाउँबाट उनीहरूलाई संसार देखाउन सक्नु हरेक लेखकका लागि चुनौती हो । त्यसका लागि विधागत पत्रकार सदैव तम्तयार रहनुपर्छ ।

यसअलावा, आफ्नो विधाका समाचारलाई आफू संलग्न मिडियाको प्राथमिकतामा माथि पार्नमा विधागत पत्रकारले सदैव ध्यान दिनुपर्छ ।

समाचार तथा सूचनाका स्रोत हुनसक्ने स्थानीय, प्रादेशिक तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाको सम्पर्क–सूची बनाउनु र तीमार्फत गहिरो समाचार ल्याउनु यसका लागि एउटा उपाय हो । सूचनाको चाङ्बाटै समाचारीय महत्व र प्राथमिकता निर्धारण हुने हो ।

विधागत पत्रकारहरूले स्रोतको पहिचान गर्ने, इन्टरनेटमार्फत समाचार तथा सूचना पत्ता लगाउने तर नचाहिएको सूचनामा बरालिनबाट जोगिनेमा बढी नै ध्यान दिनु पर्छ । त्यसैगरी स्थानीय तथा प्रादेशिक सन्दर्भका सामग्रीलाई राष्ट्रिय महत्वका सामग्रीको रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रिय घटनालाई राष्ट्रिय मिडियामा सान्दर्भिक बनाउने अक्कलमा विधागत पत्रकारको खास योगदान हुनसक्छ ।

अन्तर्राष्ट्रिय सूचनाका सही स्रोत थाहा पाउने, अन्तर्राष्ट्रिय र राष्ट्रिय सरकारी तथा गैरसरकारी प्रमुख संस्था पहिचान गरेर सूचनालाई समृद्ध बनाउने, शक्तिशाली व्यक्ति तथा संस्थाको प्रभावबाट मुक्त रहेर नागरिक–केन्द्रित पत्रकारिता गर्ने जस्ता चुनौती पनि विधागत पत्रकारिताको अभ्यासमा निकै आइलाग्छन् ।

नीतिगत निगरानीका विषय पत्ता लगाउनु, त्यस निम्ति आफ्नो विधाका कानूनी तथा नीतिगत विषय÷व्यवस्थाबारे चाल पाउनु, महत्वपूर्ण प्रतिवेदनहरूबाट समाचारीय महत्वका जानकारी भेट्टाउनु, केलाउनु र आधिकारिता जाँचेर पस्कनु विधागत अभ्यासका रोचक पक्ष हुन् ? कुनै पनि समाचार सामग्रीलाई मूलप्रवाहको अर्थात आम चासोको सामग्री बनाउन सकिने यिनै आधारमा हो ।

यसरी सैद्धान्तिकदेखि अनेक व्यावहारिक पक्षका बीच सफल विधागत पत्रकार बन्नेहरूका लागि मिडिया जगतमा स्थापित हुने अवसर प्रशस्तै देखिन्छन् । विधागत पत्रकारितामार्फत पनि पत्रकारिताको मूल प्रवाहमा स्थापित हुनसक्ने भविष्य मात्र हैन, प्रधान सम्पादक नै बन्न सकिने अवसर देखिइसकेको छ, देखिइरहेको छ ।

पेशागत नैतिक आचारको प्रतिकूल नहुने गरी सम्मानित वा पुरस्कृत हुने राष्ट्रिय संभावना त छँदैछ, बीट रिपोर्टिङ्मै अन्तर्राष्ट्रिय पुरस्कार पनि उपलब्ध छन् ।

कोलम्बिया विश्वविद्यालयले सन् १९९१ देखि २००६ सम्म दिएको ‘बिट रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ त्यस्तो सबैभन्दा प्रख्यात पुरस्कार हो । सो पुरस्कार सन् २००७ यता बन्द गरिएको भए पनि ‘स्थानीय रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ भित्रै बिट रिपोर्टिङ् समेटिन सक्ने ढोका खुलै छ ।

आवश्यक योग्यता, सीप र जाँगरसहित विधागत पत्रकारिता गर्दा पत्रकार सीमित हैन, धारिलो हुन्छ । त्यस्तो पत्रकारको न त अध्ययनको खोजी आवश्यक हुन्छ, न त उसको सीपका बारेमा प्रश्न गर्ने ठाउँ नै मिल्छ ।

बरू, ऊ त पत्रकारितामा मात्र नभएर उसको विशिष्टताको क्षेत्रमा समेत प्रतिष्ठित र स्थापित भएर निर्भिक पत्रकारिता गर्न योग्य हुन्छ । यसका लागि पत्रकारको पेशागत सुरक्षा भने आवश्यक हुन्छ । पत्रकारिताको संस्थागत विकासको वातावरण त त्यसको पूर्वशर्त नै हो । त्यसतर्फ अभिमुख हुने उद्देश्यका साथ अग्रसरतापूर्वक सार्थक वहस गर्नु जरुरी छ ।

अन्यथा पत्रकारको योग्यताको मन्द बहसको बाटोसम्म आइपुगेको नेपाली पत्रकारिता अन्य अपत्रकारीय मन्द विषको प्रभावमा जकडिन पुग्नेछ । त्यसो हुनु श्रम र पूँजीका लगानीकर्ताका लागि मात्र हैन, समग्र समाजकै अग्रगतिका लागि प्रतिकूल हुने पक्का छ । (लेखक ढुङ्गेल पत्रकारिता र आमसञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ)

https://ujyaalonepalnews.com/archives/32610