Home Blog Page 73

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

७ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल पावर प्लेमा आक्रामक सुरुवात चाहन्छ । रोहित पौडेल, कुशल मल्ल, गुलशन झा र सन्दीप जोराले पनि जिम्मेवारी लिनुपर्छ । करण केसी र सोमपाल कामीको सुरुवाती स्पेल महत्वपूर्ण हुनेछ ।

युएईका ब्याटरको स्पिनरविरुद्ध त्यति राम्रो इतिहास छैन । त्यसैले दीपेन्द्र र ललितको स्पेल निर्णायक बन्न सक्छ । साउदी अरेवियासँगको खेलमा खेलेका प्रतिश जिसीकोे स्थानमा सोमपाल फर्किने पक्काजस्तै छ ।

युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् । एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन् । आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् ।

मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । यसअघि जस्तो वासिममा मात्रै युएई निर्भर देखिँदैन । बलिङ युएईको कमजोर पक्ष हो ।

हेड टु हेड

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।

आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो

भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाएका हुन्।

बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो।

मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

रकम हराएको जानकारी आएपछि कास्की प्रहरी प्रहरी नायब उपरीक्षक शर्माको नेतृत्वमा खोजतलासमा खटिएको थियो।

यूएईमा बाढीमा परी चितवनका एक युवाको मृत्यु

Cars Are Stuck On A Flooded Road After A Rainstorm Hit Dubai, In Dubai, United Arab Emirates, April 17, 2024. (Photo: Reuters/Rula Rouhana)

चितवन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर चितवनका एक श्रमिकको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे । यूएईमा तीन दिनदेखि निरन्तर पानी परेर बाढी आइरहेको छ ।

ट्रक र म्याजिक ठोक्किँदा चितवनमा १७ जना घाइते

चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन्।

आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा म्याजिकमा सवार चालक सहित घाइते भएका १७ जनाकाे भरतपुरको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–४ की ४८ वर्षीय माया राना र ईच्छाकामना–३ की ३३ वर्षीय तारा गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा अपरेशन भइरहेको चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

ट्रकचालक मकवानपुर वकैया गाउँपालिका–३ बस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरु सबै इच्छाकामना गाउँपालिकाका रहेका छन्।

 

ग्लाेबल ट्याक्स सर्भिसको सेवा अब सौराहाबाट पनि

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा बुधवारदेखि ग्लाेबल ट्याक्स सर्भिस सञ्चालनमा आएकाे छ ।

पर्सामा रहेकाे ग्लाेबल ट्याक्स साेलुसनकाे शाखाकाे रुपमा साैराहामा ग्लाेबल ट्याक्ट सर्भिस सञ्चालनमा ल्याइएकाे हाे ।

उक्त काममा अनुभवी भाेला ढकाल र मुक्ति शर्माले सयुक्त रुपमा साे सेवा सुरु गरेकाे हाे ।

बुधवार आयाेजित एक औंपचारिक कार्यक्रममा वडा नं ७ का वडाध्य‍क्ष सजना महताेले उद्घाटन गरेका हुन् ।

साे कार्यालयबाट अनलाइन कर तिर्ने व्यवस्था, कर सेवा र कर परामर्श, अर्डिट तथा प्राेजेक्ट रिपाेर्ट तयार, बैङकिङ कागजात तयार, सबै प्रकारका व्यवसाय, फर्म,प्यान, भ्याट दर्ता, प्यान,भ्याटसेवा, व्यवसाय कर चुक्ता लगायतका सेवा प्रदान गरिने सञ्चालक मुक्ति शर्माले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष महताेले ग्लाेबल ट्याक्स सर्भिसले प्रदान गर्ने सेवाले साैराहाका व्यवसायी लाभाम्वित हुने बताए ।

कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभाेक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मन्तव्य राखेका थिए । व्यवसाय लेखाजाेखाका लागि परामर्श र डकुमेण्ट तयार गर्ने ग्लाेबल ट्याक्स सर्भिस साैराहाका पहिलाे कार्यालय हाे ।

२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता

रत्ननगर । वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले साैराहामा दुई प्रतियाेगिता गरिएकाे छ ।

चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकाला र बक्तृत्वकाला प्रतियाेगिता गरिएकाे हाे ।

मृगकुञ्ज उपभाेक्ता समिति र समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयाेजना गरेकाे साे प्रतियाेगिताकाे उद्घाटन साहित्यकार धनराज गिरीले गरेका थिए ।

चित्रकला प्रतियाेगितामा न्यू स्पीडि इङ्लिस बाेडिङ स्कुलकी प्राश्ना महताे प्रथम, लाइसीयम बाेडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् ।

बक्तृत्वकला प्रतियाेगितामा ग्रिनसाेसाईटी पब्लिक स्कुलकी सायाेना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पाैडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पाैडेल सान्त्वनाले स्थान हासिल गरेका छन् ।

चित्रकला प्रतियाेगिताकाे निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियाेगिताकाे निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए ।

चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएकाे छ ।

उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहकाे महत्वपूर्ण कार्यक्रमकाे रुपमा विद्यालय स्तरीय प्रतियाेगिता गरिएकाे बताए ।

उनले वन तथा वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा पु-याउने उद्देश्यले प्रतियाेगिता गरिएकाे बताए ।

सप्ताह अन्तर्गत भाेली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेकाे बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेकाे कार्यक्रममा रिभर च्याम्पियन उषा महताेले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा वर्ड एजुकेशन साेसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकाैली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकाैली वनका सहसचिव फडिन्द्र चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

चित्रकलाकाे सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयाेगी संस्था रहेका थिए ।

मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा घाटका कामदार ठहरै

बिराटनगर । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो ।

सोमबार दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भईरहेको इटहरीका डिएसपी टेक बहादुर कार्कीले बताए ।

फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले फेरि मूल्य बढाएको हो ।

ग्यास र हवाई इन्धनको मूल्य यथावत्

निगमले भारतबाट खरिद गर्ने क्रममा नै भाउ भढेको भन्दै यसअघि प्रतिलिटर ४ रुपैयाँ पेट्रोलको मूल्य पढाएको १५ दिनको अवधिमा फेरि यो मूल्य समायोजन गरेको जनाएको छ यसअघि निगमले गत १ अप्रिलमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको थियो । त्यसको १५ दिन नबित्दै अहिले फेरि प्रतिलिटर थप ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले ढुवानी लागत खर्चका आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरी भिन्दाभिन्दै मूल्य तोकेर मुलुकभर इन्धन बिक्रीवितरणको व्यवस्था मिलाउँदै आएको छ ।

सोही व्यवस्थाबमोजिम समायोजन गरिएको नयाँ मूल्यअनुसार यो मूल्य तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालयलगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

यसअघि काठमाडांैमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ थियो । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७७ रुपैयाँ पर्नेछ ।

यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७४ थियो । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा थियो ।
मंगलबारदेखि नै बढाइएको नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दीपालयलगायतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६१ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १ सय ५९ रुपैयाँ थियो ।

यसपालि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यबमोजिम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९६ पैसा बढेको र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेर आएको थियो । यसरी बढेर आएको खरिद मूल्यअनुसार नै निगम सञ्चालक समितिले सोमबार नयाँ मूल्य समायोजन गरेको हो ।

निगम सञ्चालक समितिले हाललाई पेट्रोल, डिजल र मट्टितेलको मूल्यबाहेक खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ । यसभन्दा अघि हरेक १५/१५ दिनमा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गर्दै आएको थियो । अहिले पुनः मूल्य बढेपछि उपभोक्ता थप मारमा परेका छन् ।

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ

काठमाडौँ। नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका वडा नं.१ स्थायी घर भई का.जि.का.म.न.पा.वडा नं.७ चाबहिलमा फ्रेण्डसिप ब्युटी एन्ड स्पा सञ्चालन गरी बस्ने ३४ वर्षिया पुजा लोवा र जिल्ला चितवन बिरेन्द्रनगर गा.बि.स.वडा नं.१ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.७ गंगाहिटी बस्ने ४३ वर्षिया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन्।

उनीहरुले पीडित नाबालिका (२६ बबरमहल (२८२) लाई पूर्वी नवलपरासी स्थितको एक रेस्टुरेन्ट तथा काठमाण्डौको चाबहिलमा रहेको फ्रेण्डसिप ब्युटी एन्ड स्पामा ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलिले का.म.न.पा वडा नं.७ चावहिल तथा पुजा मगर भन्ने ओम कुमारी पुनलाई का.म.न.पा वडा नं.३० ज्ञानेश्वरबाट आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ।

अभियुक्तहरुले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेस्टुरेन्ट तथा स्पा लगाएतका स्थानहरुमा आकर्षक तलब सुविधा हुने काममा लगाइदिने प्रलोभन दिएको,शुरुमा नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओम कुमारी पुनले पूर्वी नवलपरासी स्थितको एक रेस्टुरेन्टमा पठाई रेस्टुरेन्ट सञ्चालक द्वारा ललाई फकाई तथा धाक धम्की दिई वेश्यावृत्तिमा लगाएको,तत्पश्चात् निज नाबालिकालाई जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.७ चाबहिलमा रहेको फ्रेण्डसिप ब्युटी एन्ड स्पामा नवलपरासीबाट ल्याई काममा लगाएको पाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रदेश सरकार चलाउँदा संघीय गठबन्धन नै धरापमा

काठमाडौं । बलजफ्ती जोडिएको केन्द्रीय राजनीति सत्ता समीकरणमा सहभागी ठूला दलहरूले प्रदेश सरकारमाथि हस्तक्षेप गरेसँगै गठबन्धन फुट उन्मुख अवस्थामा पुगेको छ।

संघीयताको मर्मविपरीत सत्ता गठबन्धनमा मुख्य राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकार अपदस्त गरेर नयाँ सरकार बनाउन थालेसँगै गठबन्धनमा भाँडभैलो शुरू भएको हो।

गत फागुन २१ मा भएको नयाँ सत्ता समीकरणमा बलजफ्ती सहभागी हुन पुगेको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिमको प्रदेश सरकार निर्माणमा केन्द्रीय सत्ता गठबन्धनविपरीतको सहकार्य गरेपछि सत्ता गठबन्धनमा संकटको संकेत देखिएको गठबन्धनका नेताहरूले नै बताएका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सुदूरपश्चिम प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहकार्यमा बन्ने दोहोर्‍याउनुभएको छ। यसअघि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले नै अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका नेताहरूको व्यवहारमा भर पर्ने बताउनुभएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाउँदै नेपालले भन्नुभएको थियो– ‘सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्रीअन्तर्गत शुरूमा एकीकृत समाजवादीलाई दिने सहमति गर्नुभएको थियो। रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। अहिले रञ्जितालाई पनि मनाउन सक्नुभएन। हामीलाई दिन खोज्नु नै भएन। त्यसैको परिणाम हामीले कांग्रेससँगको सहकार्यमा प्रदेश सरकारमा उन्मुक्तिलाई सहयोग गर्न बाध्य भयौं ।’ यद्यपि, संघीय सरकारबारे के गर्ने भन्ने सोच बनाइनसकेको प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भन्नुभयो–‘प्रचण्डजी र ओलीजीले कस्तो व्यवहार गर्नुहुन्छ त्यसमा भर पर्छ । हामी पर्ख र हेरको अवस्थामा छौं ।’

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा सुदूरपश्चिममा आइतबार नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । सुदूरपश्चिमको जस्तै घटना वागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने अध्यक्ष नेपालले संकेत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसलाई स्वागतयोग्य ठानेको छ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डबाट धोका खाएर सत्ता बाहिर पुगेको कांग्रेस एमालेसँगको सत्ता सहकार्यमा हात फैलाइरहेको अवस्थामा गठबन्धनभित्रै कलह चुलिएपछि प्रचण्ड– केपीको गठबन्धन फुटाउन सहज हुने आसमा छ। कांग्रेस नेता प्रदीप पौडेलले यो गठबन्धन लामो समय नजानेमा आफूहरू विश्वस्त रहेको जिकिर गर्दै भन्नुभयो– ‘बिना जग जबरजस्त लगाइएको काँचो ईंटा चाँडै भत्किन्छ भन्नेमा हामी विश्वस्त छौं । योे कुनै वैचारिक, सैद्धान्तिक र देश निर्माणका लागि बनाइएको गठबन्धन नै होइन । केवल अस्थिरताकै लागि निर्माण गरिएको एउटा नाटकीय समूह मात्रै भएकाले धेरै टिक्दैन ।’

संसद्मा १० सिट रहेको सत्ता साझेदार दल एकीकृत समाजवादीको व्यवहारप्रति सत्ताको मुख्य साझेदार दल एमाले पूर्णरूपमा रुष्ट बनेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार संसदीय दलको बैठकमा एकीकृत समाजवादीको दक्षिणपन्थी चरित्र नाङ्गो ढंगले प्रकट भएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्योलता, निराशा पैदा हुने गरी, नेकपा एस भन्ने पार्टीले कदम चाल्यो । त्यसका बोली, व्यवहार, बार्गेनिङ, आन्तरिक रूपमा छँदै थिए । तर, हिजो बाहिर नै प्रकट भयो । कांग्रेस केन्द्रित गठबन्धनलाई समर्थन गर्ने एकीकृत पार्टीको दक्षिणपन्थी, अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो ।’

सत्ता गठबन्धनमा रहेका एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालको अभिव्यक्तिले गठबन्धभित्र ठूलै संकट आइसकेको संकेत दिएको छ। तर, पनि यही गठबन्धनलाई जोगाएर आगामी बजेट तर्जुमा गर्ने र केही महिनासम्म टिकाउने प्रयत्नमा प्रधानमन्त्री प्रचण्ड लाग्नुभएको माओवादी केन्द्रका एक नेताले बताए।

उनले नेपाल समाचारपत्रसँग भने–‘पछिल्लो गठबन्धन त्यति दर्बिलो देखिएन । यद्यपि, कम्युनिस्ट, वाम शक्तिहरूबीच भएको गठबन्धन अलि सैद्धान्तिक हुने भएकाले हामीले यसलाई लामो समय लान चाहन्छौं। प्रधानमन्त्रीजीले पनि पार्टीले धेरै कुराहरू छाडेर गठबन्धन टिकाउन लाग्नुभएको छ। सायद प्रदेश सरकार गठनकै विषयलाई लिएर अहिले नै सत्ता गठबन्धनमा ठूलो समस्या आउँदैन।’ नेपाल समाचारपत्रमा खबर छ ।