रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले एक बर्षको अवधिमा पूर्वाधार विकास संगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा जोड दिएको छ । छ मिटर सम्म चौडाई भएका मुल सडक कालोपत्रे गरेको सो वडाले सो भन्दा कम चौडाईका भित्री सडकहरूमा मोज्याक टायल र ढलान गरेको हो । प्रदेश, नगर र वडा स्तरिय वजेट बाट एक बर्षको अबधिमा १० वटा सडक कालोपत्रे गरिएको वडाध्यक्ष कलाधर पौडेलले जानकारी दिए ।
सो अबधिमा वडा भित्र तीन वटा सडक ढलान तथा पाँच वटा सडकमा मोज्याक टायल विच्छ्याईएको छ । नमुना टोलमा रहेको चौधरी बस्तीमा ९५ मिटर सडकमा मोज्याक टायल लगाइएको छ । साढे तीन लाखको लगानीमा सो सडकमा मोज्याक टायल लगाइएको हो । त्यस्तै शिवनगर टोलमा एउटा ९५ मिटर र अर्काे ५० मिटर गरि दुई वटा सडकमा सात लाखको लगानीमा मोज्याक टायल लगाइएको छ । हरिहर टोलमा ५० मिटर र श्रीकृष्ण टोलमा साढे तीन लाखको लगानीमा १०५ मिटर मोज्याक लगाइएको छ । त्यसैगरी माया केसीको घरबाट डिल्लीराम पोखरेलको घर सम्म ११० मिटर सडक ढलान गरिएको छ ।

साढे ६ लाखको लगानीमा ढलान गरिएको हो । श्रीप्रभात टोलमा साढे ११ लाखको लगानीमा २५० मिटर सडक ढलान गरिएको छ । कैलाश टोलमा १४ लाखको लगानीमा २३० मिटर सडक ढलान गरिएको छ । बैरियामा खोप केन्द्र र पशुसेवा केन्द्र सञ्चालन गरिएको छ । नमुना टोलमै चौधरी बस्तीका विपन्न परिवारको आयआर्जनको लागि ३१ परिवारलाई ३२ वटा बाख्रा वितरण गरिएको र त्यहाका बासिन्दाले व्यवसायिक रुपमै बाख्रापालन सुरु गरेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

सोही वडा अन्तर्गत पर्ने टिकौलीमा कृष्णसार राख्न पूर्वाधार निर्माण गरिएको छ भने हरियाली पार्क निर्माण र पञ्चनदी तटबन्धन गरिएको छ । कृष्णसार राख्न प्रदेश सरकारको ४२ लाखको लगानीमा पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारकै ४० लाख लगानीमा हरियाली पार्क र नदी तटबन्धनको काम भइरहेको छ । अबको एक महिना भित्र बर्दियाबाट कृष्णसार ल्याउने गरी तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष पौडेलले बताए ।
सोही ठाउँमा पोखरी निर्माण गरेर मोटरबोट सञ्चलनको तयारी गरिएको छ । त्यसका लागि नगरपालिकाले एक करोड र केन्द्र सरकारले एक करोड २० लाख विनियोजन गरेको छ । श्रीकृष्ण प्रणामी मन्दिर टिकाैलीमा नगर स्तरीय बजेटबाट मोज्याक टायल लगाइएको छ ।
बैरिया माविमा शिक्षाको गुणस्तर सुधार र प्रविधिक शिक्षाको लागि वडा कार्यालयले विभिन्न कामहरु गरेको छ । नगर स्तरीय योजना अन्तर्गत १२ लाख पर्खाल, ५ लाख पशु गोठ, ३ लाख बाल विकास र ४ लाख सामाजिक ल्याब तथा वडा स्तरीय बजेटबाट सो विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक व्यवस्थापनको काम गरिएको छ । त्यसका लागि वडाले सात लाख रुयैया लगानी गरेको छ ।
सोही विद्यालयमा स्कुल बस खरिदका लागि १५ लाख रूपैया प्रदान गरिएको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । सो वडामा एक बर्षको अबधिमा संघ,प्रदेश र स्थानीय सरकारको गरी करिब ५ करोडको काम भएको छ । कृषि र पशुपालनको विकासको लागि किसानहरुलाई अनुदान रकम प्रदान गरिएको छ । विहीबार वडा कार्यालयले पत्रकार सम्मेलन गरि एक बर्षको अबधिमा भएको विकास निर्माणको भौतिक प्रगतिबारे जानकारी गराएको हो ।


