भिमसेनको शिलामा १५ औं पटक पसिना: अनिष्ट हुने जनविश्वास

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेको प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा १५ औं पटक पसिना आएको छ । पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जन विश्वास रहि आएको छ ।
भिमसेनलाई बाँया भागमा पसिना आउँदा मुलुक र दाँया भाग बाट पसिना आउँदा जनतामा अनिष्ट हुने बिश्वास रही आएको छ । यस पटक सुरुमा बाँयाबाट आएको पछि एक घण्टा पछि दाँयाबाट पनि आएको मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले बताए ।

मुलक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित बाजाहरु बजाई पसिना कपासाले पुछ्ने प्रचलन रही आएको पुजारी श्रेष्ठले जानकारी दिए । उनले भने‘ बिहाना साढे पाँचबजे आउँदा सामान्य भिजेको जस्तो लाग्यो , भक्तजनहरुले नरिवाल फुटाएर पानी हालेको की भन्नेमा परेँ कसैलाई खबर पनि गरिन । पछि झन झन पानीका फोका बनी पसिना आउन लागेपछि ६ बजेर २५ मिनेट जाँदा अरुलाई खबर गरेको हुँ ।’ पुजारीले भने । उनी भन्छन पसिना दुईघण्टा सम्म निरन्तर आयो ।

भिमेसनको शिलामा पसिना आएपछि स्थानीय प्रशासनका प्रमुख ,सेना ,प्रहरी र स्थानीयवासीहरुको बाक्लो भिड लागेको छ । पुजारीहरु र भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका स्थानीयहरु भेला भएर घण्टा, नगरा, बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने प्रचलन रहेको छ । शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताउँदै स्थानीय युवा समाजसेवि भरत नारायण प्रधानले भने ‘ शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई पसादको रुपले दिने गरिन्छ ।’ यो कपास प्रसादका रुपमा घर तथा व्यक्तिले राखेको खण्डमा अनिष्ट नहुने जनविश्वासका साथ कपास लिनेको भिड लाग्ने गरेको प्रधानले बताए ।
यसअघि २०७० साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । भिमसेनलाई पसिना आएको करिव दुई बर्ष पछि २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भएको थियो ।

भिमसेनलाई १५ औं पटक पसिना आएको छ । भिमसेनको शिलामा पसिना आउनुलाई ठूलो परिवर्तन वा अनिष्टको सूचक मानिन्छ । पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जन विश्वास रहि भीमेश्वर नगरपालिकाका २ ,का वडा अध्यक्ष बिराज श्रेष्ठले बताए । भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका छन् । शिलामा पसिना आएपछि राजदरवारलाई हानि पुरयाउने बिस्वास स्वरुप पुछिएको कपासलाई पहिले दरवार पठाउने गरे पनि गणतन्त्र आए पछि २०६४ जेठ ५ गते पसिना आउँदा प्रधानमन्त्री कार्यालयमा पुराएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने २०७० सालमा पसिना आउँदा पसिना पुछिएको कपासलाई ‘महाप्रसाद’ को रुपमा राष्ट्रपतिलाई पठाईएको थियो ।

धार्मिक व्यक्तित्व शान्तकृष्ण श्रेष्ठले भने १९९० सालमा भिमेसनलाई पसिना आउँदा महाभूकम्प आयो । उनी भन्छन १९९७ सालमा चार जना सहिदलाई फाँसि दिईएको थियो ।यस्तै, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य, २०११ मा पसिना आएपछि २०१३ सालमा राजा त्रिभुवनको मृत्यु भएको थियो । यसैगरी २०१८ मा बाढि पहिरो, २०२८ मा राजा महेन्द्रको मृत्यु, २०३५ मा जनमत सँग्रह, २०४५ मा पसिना आए पछि २०४६ सालमा प्रजातन्त्र पुर्न वहाली भयो । २०५७ सालको माघ १ र १५ गते गरी एकै महिना दुई पटक भिमसेनलाई पसिना आएको थियो । त्यसको दुई बर्षपछि राजा बिरेन्द्रको पुरै बँश नाश भएको श्रेष्ठले बताए ।

२०६१ सालमा पसिना आएको एक बर्ष पछि २०६२ र ६३ को जनआन्दोलन भएको थियो । यस्तै, २०६४ साल जेठ ५ गते पसिना आएको एक बर्ष पछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र घोषणा भएको थियो । २०७४ साल असोज १० गते पनि दिउँसो २ बजेट ५५ मिनेट जाँदा पसिना आएको श्रेष्ठले बताए ।

The post भिमसेनको शिलामा १५ औं पटक पसिना: अनिष्ट हुने जनविश्वास appeared first on Rajdhani Daily News.

सुजल श्रेष्ठ सम्मानित

Previous articleछैठौँ संस्करणको माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक
Next articleबास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालय डा. खतिवडाले हेर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।