चितवनमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा मृतकको संख्या २ पुग्यो

चितवन — चितवनमा आइतबार राति भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।

Previous articleचितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ
Next articleचितवनमा महिला हिंसाको अवस्था भयावह, १० महिनामा २१४ जनालाई गम्भिर प्रकृतिको हिंसा, ८९ जना आत्महत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।