काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका थिए । त्यसको केही दिनभित्रै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस लेनदेनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भयो ।
अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्रीबाट राजीनामा त दिएका छन् । तर यो प्रकरण यत्तिकै सेलाउने देखिएको छैन ।
प्रधानमन्त्री ओलीले केही दिनअघि भनेजस्तै ओली सरकार ढाल्ने षड्यन्त्र भइरहेको चर्चा राजनीतिक वृत्तमा चलेको छ । सरकार ढाल्ने प्लान अरु कसैले नभएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै बनाइरहेको नेकपा स्रोतले दाबी गरिरहेका छन् ।
स्रोतका अनुसार बाँस्कोटा प्रकरणले ओली समेत आशंकाको घेरामा रहेका बेला मौका छोप्दै सरकार ढाल्न सकिने सपना प्रचण्डले देखाएका छन् भने नेकपाभित्रका ओली विरोधी शीर्ष नेतासँग प्रचण्डले छलफल समेत अगाडि बढाएका छन् । बाँस्कोटाको प्रकरणमा ओलीलाई घेर्ने र राजीनामा गर्न लगाउने प्रचण्ड लगायत नेताहरूले रणनीति लिएका छन् ।
विभिन्न समाचारमा ओलीले झण्डै दुई महिनाअघि नै बाँस्कोटाले घुस मागेको अडियो सुनिसकेर पनि कुनै कारवाही नगरेको सार्वजनिक भएको छ । कमिसन प्रकरणमा प्रधानमन्त्री समेत जोडिएकाले नेकपालाई क्षति हुने हुँदा ओलीले राजीनामा दिनुपर्ने गरी नेकपाभित्र छलफल चलेको छ ।
प्रधानमन्त्री ओलीले कमिसन प्रकरणबारे यथार्थ जानकारी गराउनुपर्ने वा नैतिक दायित्व बहन गर्दै राजीनामा दिनुपर्ने सुझाव प्रचण्ड लगायत नेताले दिने भएका छन् । नेकपा सचिवालय बैठकमा सबैले ओलीलाई घेर्ने र घुस प्रकरणमा मुछेर बद्नाम बहिर्गमन गराउने रणनीति समेत ओली विरोधी नेताले लिएका छन् ।
ओलीविरुद्ध सर्वत्र प्रश्न उठिरहेका बेला यसबारे उनले कुनै अभिव्यक्ति दिएका छैनन् । सेक्युरिटी मेसिन खरिदको निर्णयदेखि घुस अडियोबारे थाहा हुँदाहुँदै बाँस्कोटालाई संरक्षण गरेको गम्भीर आरोपबाट ओलीमाथि प्रहार गर्ने रणनीति नेकपाभित्र बनेको स्रोतले जनाएको छ ।


