लमजुङ । लमजुङमा दोस्रो बेंसीसहरमेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । बेसीशहर नगर खेलकुद विकास समितिको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० लाई समेत ध्यानमा राखेर बेंसीसहर नगरपालिका– ७, सहजीस्थित खेल मैदानमा दोश्रो मेयर कप शुरु गरिएको हो ।
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले प्रतियोगिताको उदघाटन गर्दै खेलमा खेलाडीको हिम्मत, लगनशीलता, क्रियाशीलता र अनुशासनको खाँचो हुनुपर्ने बताए । उनले युवामा एक प्रकारको जोश जागर हुने भएकाले युवा शक्ति खेलमा लागेर जिल्ला र राष्ट्रको नाम उज्वल बनाउन सक्ने उल्लेख गरे । खेल आफैंमा महत्वपूर्ण विधा भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको उनले बताए । खेल क्षेत्रको विकासका लागि खेल संचालन मात्र नभई व्यवस्थित खेल मैदान, तालिमको व्यवस्था हुनुपर्ने भन्दै यसमा नगरपालिकाले पहल गर्ने बताए ।
कार्यक्रममा नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, एन्फाका केन्द्रीय उपमहासचिव विश्व पौडेलले शुभकामना मन्तव्य राखेका थिए । बेंसीसहर नगर खेलकुद विकास समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षतामा भएका उदघाटन कार्यक्रममा बेसीशहर नगर खेलकुद विकास समितिका सदस्य इन्द्रबाहदुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगितामा नगरपालिकाभित्रका– ११ वडाका ११ टिमले भाग लिएका छन् ।
उक्त प्रतियोगिताको बिहीबार तीन खेल सम्पन्न भएको छन् । पहिलो खेल वडानं ५ र ३ का बीचमा भएकोमा ३– ० गोल अन्तरले ५ वडा विजयी भयो । त्यस्तै, दोस्रो खेलमा ८ ले र ११ विरुद्ध ७– ६ गोल अन्तरले विजयी भएको छ । यसैगरी, तेस्रो खेल २ र १ नंबर वडाका बीच भएकोमा ६– ० गोलको भारी अन्तरले २ नंबर विजयी भएको छ । ती खेलमा म्यानआफ दि म्याच क्रमशः वडानं ५, का मोहन गुरुङ, वाडानं ११, का अर्जुन तामाङ र वडानं १ का जेनिस मगर घोषित भएको आयोजकको भनाई छ ।
नगरपालिका भित्रका युवाको खेल प्रतिको रुची, क्षमताको पहिचान र खेलाडीहरुलाई हौसला प्रदान गर्न दोस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता २०७६ शुरु गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष खड्काले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुने समूहलाई १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फवार्डलाई ३/३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको प्रवन्ध गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष खड्काले बताए । उनका अनुसार प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।
The post दोस्रो बेंसीसहर मेयर कप फुटबल प्रतियोगिता शुरु appeared first on Rajdhani Daily News.
खाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु


