पिठुवा डेरीले सुरु गर्यो महिको व्यवसायिक उत्पादन

निराजन घिमिरे- पूर्वीचितवनमा किसानबाट दुध संकलन गरेर अन्य जिल्लामा पैठारी गर्ने पुराना सहकारीहरु मध्ये एक हो ‘पिठुवा डेरी’ अर्थात पिठुवा दुग्ध उत्पादक सहकारी संस्था । तिस वर्षदेखि पिठुवाका किसानले उत्पादन गरेका दुध संकलन र विक्रिवितरण गरेर नगद भित्राउन मुख्य भूमिका खेलेको संस्थाले अहिले दुधको विविधिकरण र बजारीकरण समेत सुरु गरेको छ ।

केहिवर्ष अगाडीदेखि दहि, पनिर्, नौनी, खुवा, घ्यु लगायतका दूधजन्य पदार्थ उत्पादन गरेर बजारीकरण सुरुगरेको संस्थाले यहि चैत्र ८ गते शुक्रबार देखि महिको व्यवसायिक उत्पादन सुरु गरेको छ । स्वास्थ्य सचेतनाको वृद्धिसंगै क्यान्सर उन्मुख पेयपदार्थहरुको उपभोग कम हुँदै गएको अवस्थामा सहकारीले महिको उत्पादन र बजारीकरण सुरु गरेको संस्थाका अध्यक्ष गंगाराम गुरुङले जानकारी दिए ।

सहकारीलाई महि उत्पादन गर्ने मेसिन खरिदको लागी रत्ननगरको वडा नं. १६ ले आर्थिक सहयोग गरेको छ । वडा कार्यालय र सहकारीको संयुक्त लगानीमा एकलाख सन्ताउन्न हजारको लगानीमा महि तथा लस्सी उत्पादन गर्ने मेसिन जडान गरिएको हो ।

परिक्षणको रुपमा बजार पठाईएको महिले राम्रो प्रतिक्रिया पाएपछि यसको व्यवसायिक उत्पादन सुरु गरिएको सहकारीका सचिव रोहिणी बजगाईंले बताए । अहिले दैनिक २०० बोतल महि उत्पादन गरेर बजार पठाईएको छ । सहकारीले “पिठुवा मोही” नाम दिएर ५०० मिलि क्षमताको बोतलमा प्याकेजिंग गरि बजारीकरण सुरु गरेको हो। उत्पादन भएको मितिले सातदिन सम्म उपभोग गर्न मिल्ने ५०० मिलि महिको उपभोक्ता मूल्य रु ३५ रहेको छ।

खैरहनीको एउटा पार्टी प्यालेसको भोजमा राखिएको पिठुवा मोही

चितवनमा केहि सहकारीले यस अघिनै महि उत्पादन सुरु गरिसकेका छन् । विहेब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा समेत कोल्डड्रिंक्सको सट्टा महिको उपयोग बढ्न थालेको छ । घरमा दहि जमाएर महि खाने प्रचलन हराउंदै गएपछि पछिल्लो समय कोल्डड्रिंक्सको उपभोग ह्वात्तै बढेको थियो । तर अहिले भोजभतेरमा समेत महिको प्रयोग बढेको छ ।

महि स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी छ । महीले झाडापखाला, कब्जियत, पायल्स, कोलेस्टोरल, उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि सहयोग गर्ने चिकित्सकहरु बताउँछन् । दही–महीमा पाइने बेसिलस भन्ने ब्याक्टेरियाले खाना पचाउँछ र आन्द्रा तथा पेट सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।’

 

 

 

 

 

 

 

 

Previous articleप्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने
Next articleचेपाङ संरक्षण केन्द्रलाई एसवाई प्यानलले गर्यो नगद सहित खाद्यान्न सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।