रत्ननगर १६ मा वातावरण मैत्री अन्तरक्रिया तथा सामाग्री वितरण

Click Image

उज्यालो नेपाल। चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा वातावरणमैत्री वडा घोषणाको लागी अन्तरक्रिया तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ।

वडा कार्यालयको सहयोगमा पिठुवा सामुदायिक सिकाई केन्द्रले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा १३ वटा टोलबाट झण्डै १२० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा हरेक टोललाई वातावरणमैत्री वडा घोषणाको लागी पुरा गर्नुपर्ने सूचकहरु उल्लेख गरिएको होडिङ बोर्ड र डस्टविन वितरण गरिएको केन्द्रका कोषाध्यक्ष विजय खनालले जानकारी दिए।

नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यबाहक वडाध्यक्ष ज्ञानेन्द्र रेग्मी, वडा सदस्यहरू चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, रिता वि. क, वडा सचिव मञ्जु पौडेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वाग्लेले स्वस्थ जीवनको लागि स्वच्छ वातावरण आवश्यक रहेको बताउँदै वडा कार्यालय र सिकाई केन्द्रको वातावरण मैत्री घोषणा अभियानको मुक्त कण्ठले प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक वडाध्यक्ष ज्ञानेन्द्र रेग्मीले वडा कार्यालय र सिकाईकेन्द्रको प्रयासले मात्र वातावरण मैत्री घोषणा सम्भव नभएको उल्लेख गर्दै सम्पूर्ण वडाबासी एक भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति नेत्र घिमिरेले दूषित वातावरणकै कारण अनेक रोगाव्यादि लागेर अकालमा ज्यान गुमाउनुपर्ने घटना बढ्दै गएको सन्दर्भमा वडा कार्यालयसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रकी सचिव सर्मिला लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

वडालाई वातावरणमैत्री वडा घोषणाको लागी गतसाल देखिनै विभिन्न संघसंस्थासँगको सहकार्यमा विविध कार्यक्रम सञ्चालन हुँदै आएको छ।

युवा समाज नेपाल भरतपुरसँगको सहकार्यमा गएको वर्ष प्रत्येक टोलटोलमा समिति गठन तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

Previous articleकालिकामा अवैध होडिङबोर्ड हटाउन सुरु
Next articleएसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।