मकवानपुर- मकवानपुरमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका–८ र ३ को सिमाना चिसापानीस्थित बकैया खोलामा डुबेर एक पुरुषको ज्यान गएको हो।
हिजो वैशाख ७ गते सोमबार दिउँसो करिब १:५० बजे भएको घटनामा बकैया गाउँपालिका–९ च्याउच्याउ निवासी अन्दाजी ३५ वर्षीय लाक्पा भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भोलन आफ्नी करिब १० वर्षीया भतिजीसँग खोलातर्फ गएका थिए। उनले भतिजीलाई बाहिर राखेर खोलामा पौडी खेल्न गएको बेला अचानक डुबेका थिए। घटनालाई प्रत्यक्ष देखेकी भतिजीले तत्काल स्थानीयलाई खबर गरेपछि स्थानीयवासीले उनलाई पानीबाट बाहिर निकालेका थिए। तर, बाहिर निकाल्दासम्म उनको मृत्यु भइसकेको थियो।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मकवानपुर पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



