काठमाडौं। सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेकी छन् । काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् । जितसँगै सुजनाले १ अंक जोडिन् ।
त्यस्तै, सिन्डिरा जोशीले नयन्शा भट्टराई, विनिता कपालीले कुसुम दाहाल, कृतिसरा अधिकारीले रिया झा, आभा पुडासैनीले सन्ध्या केसी, सुशीला गुरुङले अनुषा लामा, ज्योति लामिछानेले अञ्जु शाह र सविना बजगाईंले रोमिका त्वानाबासुलाई सुरुवाती चरणमा हराउँदै समान १–१ अंक बटुलेका छन् ।
शीर्ष ५ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष तीनमा रहने खेलाडीलाई बेलुन नेपाल प्रालिका निर्देशक सविन महर्जनले ११ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा गरे ।
प्रतियोगिताको पूर्वयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा ३९ खेलाडीको सहभागिता रहेको आयोजक काठमाडौं जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जनाएका छन् । अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताए । आयोजकका अनुसार महिलाको मात्रै छुट्टै राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता १२ वर्षपछि भएको हो ।
प्रतियोगितामा यू–१२, यू–१४ र यू–१६ उमेर समूहमा पनि प्रतिस्पर्धा भइरहेको छ । उमेरसमूहमा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको समापन अन्तर्राष्ट्रिय नारी दिवसका दिन आइतबार हुनेछ ।
The post सुजनाको विजयी सुरुवात appeared first on Rajdhani Daily News.
सुन तस्करको अनेक दाउ; फ्लाई दुबईमा आएका यात्रुले ल्याए मलद्वारमा लुकाएर सुन


