आहा–रारामा पुलिस सेमिफाइनमा, आयोजकको यात्रा टुंगियो

विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा चरणमा प्रवेश गर्दा आयोजक सहारा क्लब आहा–रारा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ।

पुलिस क्लबले आयोजक सहारा क्लबलाई टाइब्रेकर ४–२ ले पराजित गरेको हो ।

पोखरा रंगशालामा शनिबार निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा पुलिसका लागि भारत साह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे। पुलिसका अनुप लिम्बूको प्रहारलाई सहाराका गोलरक्षक अर्पण कार्कीले बचाए।

सहाराका लागि पहिलो प्रहार नै सफल भएन। उलरीच सिवेको प्रहार पुलिसका रोशन खड्काले विफल पारे। सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा त्रिदेव गुरुङको प्रहार भने बाहिरियो।

त्यसअघि खेलको ७५ औं मिनेटमा पुलिसले भारत साहको गोलमा अग्रता लिएको थियो। तर, सहाराले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा लम्ब्यायो। सहाराका लागि वैकल्पिक अजय श्रेष्ठले गोल गरेका थिए। थप गरिएको ३० मिनेटमा दुबै टोलीबाट गोल हुन सकेन।

यद्यपि अतिरिक्त समयको अन्तिम समयमा भोला सिलवालले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा सीमित भयो।

खेलको आठौं मिनेटमा पुलिसका निरकुमार राईको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दा सहाराका गोलरक्षक अर्पण सामान्य घाइते भएका थिए। खेलको २४ औं मिनेटमा सहाराका अनिष पोमु लिम्बुको हेडर क्रसबार नजिकैबाट बाहिरियो। खेलको ३९ औं मिनेटमा पुलिसका निरकुमार राईको प्रहार क्रसबारमा लाग्दै पर्कियो।

शारीरिक रुपमा बलियो देखिएको पुलिसले सहारालाई दबाबमा राखे पनि गोल गर्न भने सकेन। खेलको ६४ औं मिनेटमा सहाराका सुमित श्रेष्ठको उत्कृष्ट प्रहार सेकेन्डबारमा लाग्दै फर्कंदा सहारा अग्रता लिनबाट चुक्यो। पुलिसका गोलरक्षक रोशन खड्काले नभेटेको बल सेकेन्डबारमा लाग्दै खड्काको हातमा आएको थियो।

ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो। पुलिसले भने बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो। प्रतियोगिताको सेमिफाइनलमा अब पुलिसले रुस्लान थ्री स्टार र भारतीय टोली गान्तोक फुटबल क्लबको विजेतासँग खेल्नेछ।

आइतबार हुने दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दीले झापा–११ फुटबल क्लबको सामना गर्नेछ।

यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज

Previous article‘अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’
Next articleदाङको ज्योतिपुञ्ज माविको सबै गतिविधि अब मोबाइलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।