खोइ सेनिटाइजर र सर्जिकल मास्क ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छाडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ ।

कलंकीमा बस्दै आएका सन्देश विष्टले भने, ‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै प¥यो †’  यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्ममिटरको पनि अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्ममिटरको कृत्रिम अभाव सिर्जना गर्ने गरी कसैले लुकाउनु अपराध भएको बताए । उनले भने, ‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन–चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ ।’

नेपालमा तीन वटा उद्योगले सर्जिकल मास्क उत्पादन गर्दै आएको उत्पादकहरू बताउँछन्, जसमध्ये दुई कम्पनी त कच्चापदार्थ अभावमा बन्द नै भइसकेको मास्क उत्पादकको भनाइ छ । सर्जिकल मास्क उत्पादन गर्दै आएका शैलेश श्रेष्ठले भने, ‘गत आइतबारदेखि कच्चा पदार्थ नआएपछि उद्योग बन्द गरें । दैनिक रूपमा २५ हजार थान मास्क उत्पादन गर्दै आएको थिएँ ।’

चीन सरकारले मास्क बनाउने कच्चापदार्थ रोक लगाउने निर्णय गर्दा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए । मास्क उत्पादक श्रेष्ठले आवश्यक सहजीकरण गरिदिन सरकारलाई आग्रह गरे । यस्तै, सेनिटाइजरको पनि चरम अभाव खड्किएको छ भने ज्वरो नाप्नका लागि प्रयोग गरिने इनफारेड थर्ममिटरमा पनि कालोबजारी हुन थालेको छ । तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बरसम्म तिरेर थर्ममिटर खरिद गर्न उपभोक्ताहरू बाध्य छन् ।

केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएनका सचिव अर्जुन रायमाझीले कच्चा पदार्थ नआउँदा सर्जिकल मास्क उत्पादन गर्ने उद्योगहरू बन्द रहेको बताए । उनले भने, ‘माग बढी छ । तर, कच्चापदार्थ नआएको दुई महिना बितिसक्यो । सरकार पनि यस विषयमा गम्भीर हुनुपर्छ ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बजारमा यस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना गर्न नमिल्ने बताए । उनले भने, ‘सरकारले प्रभावकारी अनुगमन अघि बढाउनुपर्छ र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने बजारमा भएको हल्ला जस्तो कृत्रिम अभाव नभएको भन्दै उपभोक्ताले नै अनुगमन गर्नुपर्ने बताएका थिए ।

The post खोइ सेनिटाइजर र सर्जिकल मास्क ? appeared first on Rajdhani Daily News.

एमालेले बोलायो संसदीय दलको बैठक

Previous articleउत्सवका रूपमा होली मनाउन निषेध
Next articleआज देशभर मौसम सफा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।