मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधीका लागि विभिन्न व्यक्ति चर्चामा रहेका थिए ।

प्रदेशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता चाल्नु भएको कदमको लागि उहाँलाई महामुर्खको उपाधी प्रदान गरिएको मिनापले जनाएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधी प्रदान गर्ने गरेका छन ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको होलीको अवसरमा महामूर्ख बनाइएको छ ।

मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला लगाई महामूर्ख सम्मानपत्र सहित सम्मानित गरिएको छ । मुख्यमन्त्री साथै प्रदेश सांसदहरु मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकैवा, रामचन्द्र मण्डललाई सिलौटशंकर र रामआशिष यादवलाई हराशंखको उपाधि दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो यो क्षण हाम्रो लागी अविस्मरणीय रहनेछ । किनकी आजसम्म म कतैपनि महामूर्ख बने थिएन, यहाँ आएर महामूर्खको उपाधि पाएर आफू गौरवान्ति भएको छु ।

सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बैलघोगना, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरलाई खेसारी लाल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई खाबसुरतको उपाधि दिइएको छ ।

त्यस्तै प्रधानाध्यापक बलराम साहलाई बज्रकीट, कवियत्री पूनम मिश्रलाई अदलबदली, रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई लोहाशंकर र युवा अभियन्ता शुशिल कर्णलाई वंशकुरहरको उपाधी दिइएको हो ।

महामूर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधी दिएसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको उदघाटन प्रदेशका मन्त्रीहरु महिलाप्रति आकर्षित हुने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली मधेशलाई कसरी फुट गराइरहेको रहेको शिर्षकको हास्य नाट्य मंचनबाट गरिएको थियो ।

महामूर्खका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका अतिरिक्त पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस नेता प्रदीप गिरि र पूर्व मन्त्री मातृकाप्रसाद यादवको नाउँ चर्चामा रहेका थिए ।
महामूर्ख सम्मेलनमा हजारो दर्शकहरू सहभागी रहेका थिए ।

महामूर्ख सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुने गरेको छ । जनकपुरधाममा यो सम्मेलनले निकै उचाई प्राप्त गरेको छ । तर यसको प्रारम्भ नेपालको विरगंजबाट भएको स्थानीय जानकारहरु बताउँछन । मैथिली साहित्य परिषद विरगंज २०५० सालमा यसप्रकारको पहिलो आयोजना गरेका थिए । पहिला महामूर्ख लाला माधवेन्द्र जी भएका थिए । यो सम्मेलनको परिकल्पनाकार मध्येका एक मैथिली साहित्य परिषदक पूर्व महासचिव एवं वरिष्ठ पत्रकार चन्द्र किशोर झा भन्नुहुन्छ— ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रुपले बदलाबको समय थियो । त्यही बदलाबको बेला समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिको पनि योगदानको आवश्यकता रहेको थियो त्यहीबेला यसप्रकारको कन्सेप्ट आएको होे ।’

समाजमा रहेको विकृति विसंगतिलाई समाप्त पार्र्न ब्यंग्यले धेरै कार्य गर्ने गरेको उहाँको कथन रहेको छ ।
जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२मा एमाले नेता शीतल झा, २०६३मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४मा सदभावना नेता ओमकुमार झा, २०६५मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा सांसद रामसरोज यादव, २०७०मा राजपाका नेता एवं पूर्व सांसद डा. विजयकुमार सिंह, २०७१ मा नेकपा नेता एवं सांसद शत्रुधन महतो र २०७२मा श्मसान घाटलाई स्वर्गद्वारा बनाएर चर्चा कमाउनु भएका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो ।

२०७३ सालमा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । भने २०७४ सालमा राजसभा सदस्य एवं राजपा नेता वृषेशचन्द्र लाललाई महामूर्खको उपाधी प्रदान गरिएको थियो । गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई महामूर्ख बनाइएको थियो ।

महामूर्खको छनौट कसरी हुन्छ ?

महामूर्खक छनौट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । सहीमा कम मेहनतको कुरो होइन धेरै दिमाग खियाउनु पर्छ आयोजकहरु बताउँछन ।

महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष मदन ठाकुर भन्नुहुन्छ —‘महामूर्खको छनौटका लागि तैयारी आयोजनासँग खोजी शुरु भइहाल्छ । यसका लागि एकटा कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कसेर लागेको हुन्छ ।

जनकपुरधामको स्थानीय पत्रिकाहरु एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाउँमा चर्चा चलाएको हुन्छ । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र भन्नुहुन्छ —‘महामूर्ख जनकपुरधामको एकटा लोकप्रिय कार्यक्रम रहेको छ त्यसलाई मिडिया क्यास नगर्ने कुरै आउँदैन । फेरी मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढने गरेको छ । समान्यतया धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपाली म महामूर्ख बनु ।

२०६५ सालका महामूर्खक उपाधि प्राप्तकर्ता एवं मैथिलीक बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल भन्नुहुन्छ ‘उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि रहेको छ, प्रेमले मानिस हरेकथोक अर्थात विषपनि पिउने गरेको इतिहास रहेको छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो । २०७५ सालका महामूर्ख लालकिशोर साहले महामूर्खको उपाधि प्राप्त गर्नुलाई उपलब्धिको रुपमा पाएको बताउनु भयो ।

The post मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित appeared first on Rajdhani Daily News.

रत्ननगर १६ को वडाध्यक्षमा हरिराम श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

Previous articleथान्सिङलाइ कोइरालाफाँट उपाधि
Next articleभारतमा रिङटोनको ठाउँमा कोरोनाबाट बच्ने टिप्स
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।