पिठुवा सिंचाईको ३१ औं साधारणसभा; जमिन रिचार्ज र बाँध निर्माणमा जोड

रत्ननगर, चितवन । रत्ननगर–१६ स्थित भुत्याहामा पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३१औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। साबिक पिठुवा गाविस (हाल रत्ननगर–१४, १५ र १६) का करिब १ हजार बिगाहा भूभागमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको सो संस्थाले भुत्याहा कार्यालयमा कार्यक्रम गरि वार्षिक प्रगतिसँगै आगामी वर्षका प्राथमिकता र योजनाहरू सार्वजनिक गरेको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष देवबहादुर रानाले वार्षिक प्रतिवेदन र नीति कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस्तै लेखा समिति संयोजक शिवप्रसाद पुडासैनीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले गत आर्थिक वर्षमा संस्थाले रु. ७८ लाख ५५ हजार ५८१ आम्दानी गरि रु. ७७ लाख ८९ हजार ४१४ खर्च गरेको र रु. ६६ हजार १६६ बचत गरेको छ ।

सिँचाइ सुधार र व्यावसायिक खेतीमा जोड

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाले सिँचाइ कृषि उत्पादन र समृद्धिको आधार भएको बताउँदै सिँचाइ प्रणाली सुधारका लागि बजेट र सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। उनले किसानहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक खेती प्रणालीमा जान आग्रह गर्दै पक्की बाँध निर्माणका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

विशिष्ट अतिथि वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले वडा कार्यालयले सिँचाइमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ बढी सहयोग गर्ने बताए।

जमिन रिचार्ज र मुहान संरक्षणमा जोड

पिठुवा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले अन्धाधुन्ध भू–जल दोहन रोक्न र भविष्यमा पानीको संकट टार्न जमिन रिचार्जका लागि पोखरी निर्माण र मुहान संरक्षण गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरू शिवप्रसाद तिवारी, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, वडा सचिव मन्जु पौडेल, स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरका संचालक समिति अध्यक्ष राजेन्द्र अधिकारी, पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे, पिठुवा गरिबी निवारण साना किसान सहकारीका अध्यक्ष दिनेश घलान, एकीकृत कृषक साकोसका अध्यक्ष विष्णुप्रसाद अर्याल लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नारायण अधिकारीले राखेका थिए भने सञ्चालन सचिव मदन भुजेलले गरेका थिए।

Previous articleXL Casino: A Comprehensive Guide to One of the UK’s Premier Online Casinos
Next articleचितवनको इच्छाकामना बलेरो दुर्घटनाः ४ घाइते, एकको अवस्था गम्भिर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।