टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् ।

राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु !’

उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेखेका थिए ।

०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए । पार्टी छाडेका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको छ ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै पछिल्लो समय दर्जनबढी नेताहरूले रास्वपा छाडिसकेका छन् ।

Previous articleजेनजी आन्दोलनबारे बीबीसीको खुलासा : फिल्डबाट गोली चलाउन अनुमति मागेपछि खापुङले भनेका थिए- ‘कर्फ्यू लागिसक्यो, आदेश माग्नुपर्दैन’
Next articleरास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।