रवि सत्य होलान् भनेर गृहमन्त्री बनाएको थिएँ, तर अपराधी निस्किए: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति आरोप लगाउँदै उनी अपराधी निस्किएको टिप्पणी गरेका छन्।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा आयोजित मतदाता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले लामिछानेलाई विगतमा आफूले नै विश्वास गरेर गृहमन्त्री बनाएको प्रष्टीकरण दिएका हुन्।

रास्वपा नेताहरूको पछिल्लो कार्यशैली र अभिव्यक्तिप्रति रुष्ट देखिएका ओलीले लामिछानेलाई सुध्रिने अवसर दिइए पनि त्यसको दुरुपयोग भएको बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘रवि सत्य होला, केही राम्रो काम गर्ला भनेर मैले नै पहल गरेर उपप्रधान तथा गृहमन्त्री बनाइदिएको हुँ। त्यतिखेर त मुद्दामामिला लागेको थिएन, सुध्रिएला भन्ने थियो। तर, तिनै मान्छे अपराधी निस्किए, त्यतिखेर मलाई अपराधी हुन् भन्ने थाहा थिएन।’

सोही क्रममा ओलीले नयाँ भनिएका दलहरूबाटै समाजमा अराजकता र हिंसाको मानसिकता विकास गर्न खोजिएको भन्दै रास्वपाको कार्यशैलीको आलोचना गरे।

लामिछानेले केही दिनअघि दिएको भ्रष्टाचारीको घरमा डोजर चलाउने अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै ओलीले भने, ‘पाए भने यिनीहरूले मान्छेलाई रुखमै बाँध्छन्, घरै जलाइदिन्छन्।’

Previous articleरास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश
Next articleएन्जल फाउन्डेसनको सहयोगमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, विशेषज्ञसहितको सेवाबाट स्थानीय लाभान्वित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।