खैरहनी, चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का २३ वर्षीय महेबुब रजा र मोटरसाइकलको पछाडि सवार महोत्तरीको गौशला नगरपालिका–५ की ३३ वर्षीया अजिमा प्रबिन रहेका छन्। उनीहरू आफ्नै दिदी–भाइ रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए।
उनीहरू शनिबार दिउँसो खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा महेबुबको दिउँसो १ः५५ बजे र अजिमाको २ बजे मृत्यु भएको थियो। उनीहरूको परिचय भने थप अनुसन्धानपछि खुलेको हो।
बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



