कतार प्रहरीमा पठाउने भन्दै अ’वैध धन्दा गरेर करोडौ उठाउने ३ म्यानपावर छ महिना निलम्बित
काठमाडौं (कास)– कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ । एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् । अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ । यी कम्पनीले श्रमिक भर्ना प्रक्रिया नै उ’ल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएका थिए ।

आफ्ना एजेन्टमार्फत अन्तर्वार्ताका लागि गोप्य भर्ती गर्न युवालाई भेला गरिएको थियो । उनीहरूले भेला गरेका युवाको अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारी काठमाडौं आएका थिए । विभागको टोलील छापा मार्दा होप इन्टरनेसनलमा अन्तर्वार्ता लिइरहेका बेला कतारी अधिकारीहरूसमेत फेला परेका थिए ।
कारबाहीमा परेका म्यानपावर कम्पनीका सञ्चालकहरूसँग बयान लिइने भएको छ ।

विभागका अधिकृत कुशल बरालले ती म्यानपावरको बयान कार्य आइतबारबाट सुरु गर्ने बताए । म्यानपावर कम्पनीले पेस गरेको लिखित जवाफ चित्त नबुझेपछि बयान लिन लागिएको हो । गत वर्षको पुसमा यी तीनवटै म्यानपावर कम्पनीले गोप्य रूपमा एक सय ७९ जना नेपालीलाई कतारी प्रहरीमा भर्ती गरेका थिए । त्यतिखेर यी म्यानपावरले भर्ती हुने युवासँग ८ देखि १२ लाख रुपैयाँसम्म असुल गरेको खुलेको थियो । वैदेशिक रोजगार ऐनअनुसार भर्नालाई पारदर्शी बनाउनका लागि सार्वजनिक सूचना जारी गर्नु अनिवार्य छ ।

नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई दैनिक पत्रिकामा सूचना जारी भएको सात दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ । दोस्रो चरणमा झन्डै ३ सय जनालाई भर्ती गर्ने तयारी थियो । दोस्रो लटमा भने २० करोड रुपैयाँको खेल भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघले पनि यी म्यानपावरसँग स्पष्टीकरण सोधी कारबाही गर्ने निर्णय गरेको छ । विश्वकपलाई समेत लक्षित गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने कतारको योजना छ ।

प्रहरी सेवामा भर्ती हुनका लागि भने उमेर २५ देखि ३६ वर्षभित्र, उचाइ ५.८ फिटको हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि भने ६ हजार रियाल पाउने बताइएको छ ।
श्रम स्वीकृतिको प्रक्रिया छलेर भिजिट भिसामा पठाउने काममा संलग्न रहेको भन्दै विभागले तीनवटा म्यानपावर कम्पनीमाथि शुक्रबार छापा मारेको छ । एउटा म्यानपावर कम्पनीलाई सिल गरिदिएको छ । अनुसन्धान अधिकृत बरालको नेतृत्वमा गएको टोलीले स्काई अफ द वर्ल्ड म्यानपावर कम्पनी, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा छापा मारेको हो ।

विभागले मल्टिपल ट्राभल एन्ट टुर्समा छापा मारेपछि यी म्यानपावर कम्पनीले भिजिट भिसामा श्रमिक पठाउने गरेको खुलेको थियो । ती म्यानपावरले मल्टिपललाई आफूले संकलन गरेको राहदानीलाई भिजिट भिसा लगाइदिन भन्दै पत्राचार गरेको तथ्य फेला परेको बरालले बताए । विभागले मल्टिपल ट्राभल्सको कम्प्युटरको सीपीयू नै ज’फत गरी अनुसन्धान गरिरहेको छ । विभागले सुर्खेत ओभरसिजको कार्यालयलाई भने सिल गरेको छ । दुई घण्टासम्म पर्खंदा पनि कार्यालय नखुलेपछि सिल गरेको बरालले बताए ।

मल्टिपल र स्काई अफ द वर्ल्डका सञ्चालक दिनेश राई हुन् । नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरेपछि म्यानपावर कम्पनीले मोटो रकम लिई भिजिट भिसामा श्रमिकलाई पठाउन थालेको हो । वैदेशिक रोजगार ऐनले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने कार्यलाई अपराध मानेको छ । कान्तिपुर दैनिकमा खबर छ!
देशभरिका कार्यकर्तालाई बद्लिएको कांग्रेस हेर्ने हुट्हुटी जागेको छः महामन्त्री शर्मा


