रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सब स्टेशन सञ्चालनमा आएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले आज मुसिकोटमा आयोजित कार्यक्रममा सब स्टेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सब स्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिने छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकाले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताउनुभयो । मन्त्री भुसालले जगेडा भएको विद्युत् निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।
अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गर्नुभयो । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’ मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्री समेत रहनुभएका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताउनुभयो ।
सल्यान सित्तलपाटी सब स्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सब स्टेशन सञ्चालनमा ल्याएको हो । सब स्टेसनमा तीन एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सब स्टेशन सञ्चालनमा आएपछि रुकुममा विद्युत्को भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।
https://ujyaalonepalnews.com/archives/17985


