काठमाडौँ । कास्कीको लेखनाथमा फागुन २६ गतेदेखि जारी १७ औँ संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ ।
चैत्र २६ गतेदेखि १२ दिनसम्म सञ्चालन भएको महोत्सवको २ लाख २० हजार दर्शकहरूले अवलोकन गरेको र ६ करोड ४५ लाख बराबरको आर्थिक कारोबार गर्न सफल भएको आयोजकले जनाएको छ ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटकीय हिसाबले सम्भावना बोकेको लेखनाथ क्षेत्रको प्रचार प्रसारको लागी उद्योग वाणिज्य सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पर्यटकीय विकासको लागी उचित कार्ययोजना ल्याउन सकेको खण्डमा आगामी वर्षबाट नै प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले तनहुँ र कास्कीको सिमानामा रहेको पुडीटार क्षेत्रलाई प्रदेश सरकारले औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै आगामी एक दुई महिनाभित्रै नेपाल सरकारसँग जग्गाको भोगाधिकार लिन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले पर्यटकीय क्षेत्रको विकासका लागि राज्यको मुख मात्र ताक्ने नभई सबै व्यवसायी मिलेर सहकार्यमूलक ढङ्गले अगाडी बढ्नुपर्ने बताउँदै कम्पनी मोडेलको रुपमा पूर्वाधारको विकास गरी पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष आत्रेयले आगामी १८ औँ संस्करणको लेखनाथ महोत्सव आगामी पुस ७ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइराला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्य लगायतले धारणा राख्नुभएको थियो ।
महोत्सवमा राखिएका करिब ३ सय स्टलमध्ये सिटिजन फर्निचर ट्रेड प्रालीले सबैभन्दा उच्च कारोबार गर्न सफल भएको थियो भने स्थानीय कृषि उत्पादनमा हेम्जा तरकारीको स्टलले सफल कारोबार गर्न सफल भएको थियो ।

महोत्सवमा राखिएको कोरोनाको खोप लगाउने स्टलमा महोत्सव अवधिभर करिब ७ सय जनाले खोप लगाएको पनि आयोजकले जनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) तथा धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले गर्नुभएको थियो ।


