‘बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि’

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय भएको बताउनुभएको छ ।

नववर्ष २०७९ को पूर्व सन्ध्यामा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वःस्फूतरूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, ”बीमा कम्पनीहरूसँग ३० दिनभित्र पुँजी वृद्धिको योजना मागेका छौँ । पुँजी वृद्धि गर्नुपर्छ ।  पुँजी वृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउन सक्छ ।“

बीमा व्यवसायलाई स्थापित रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सात वटै प्रदेशमा तालिम सञ्चालन गर्न इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिनुहुँदै बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रदेश स्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्नुहुँदै समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक सङ्का अध्यक्ष निर्मल काजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी तथा दिनेश कुमार लाल, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र बीमा समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/18817

Previous articleबेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम
Next articleजनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्न आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।