सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यसअघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा निकुञ्जले हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको हो ।
तोकिएको समयावधिमा बेरुजु फर्छ्यौट नभए उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यसअघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानबिन समितिका संयोजक मनोजकुमार मण्डलले पेश गरेको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको उहाँले बताउनुभयो ।

पटक पटक ताकेता गर्दा पनि ११ वटा हेलिकप्टर कम्पनीले उडान अवतरणको बेरुजु रकम फर्छ्यौट गर्नका लागि तदारुकता नदेखाएपछि जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले उडान अवतरणमा रोक लगाउने निर्णय गरेको थियो ।
निकुञ्जले सिम्रिक एयर, कैलाश, मनाङ, माउन्टेन, फिस्टेल, हेली एभरेस्ट, डाईनेष्टि अल्टिच्यिुड, प्रभु, श्री एयरलाइन्सलाई राजश्व दाखिला गर्न अन्तिम पटक पत्राचार गरेको हो ।
कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार रुपियाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र एयर डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्याङ्क छ ।
अन्य सात कम्पनीहरूको भने चार लाख रुपियाँ भन्दा कम बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर, हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको दाबी गर्दै आएका छन् ।
https://ujyaalonepalnews.com/archives/18815


