डलरको सञ्चिती सन्तुलित अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री शर्माले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ७ महिना वरिपरि डलरको सञ्चिती सन्तुलित अवस्थामा भएकाले तल झर्न नदिन एनआरएनबाट डलर खाता खोल्ने लगायतका काम अगाडि बढिसकेको र नेपालको जिडिपी वृद्धि भएकाले यो वर्ष आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । 

अर्थमन्त्री शर्माले आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताउनु भएको हो । 

मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सबै क्षेत्र जबाफदेही हुनुपर्ने भन्नुहुँदै यो महिना मात्र  २६ हजार ७ सय ५० कम्पनी दर्ता भएकाले व्यवसाय, उद्योग गर्नेको सङ्ख्या र चाहाना बढिरहेको बताउनुभयो । 

मन्त्री शर्माले मुलुकको मुद्रास्फीति ६.५ मा राख्ने लक्ष्य भएपनि हाल ७.२८ प्रतिशत पुगेको जानकारी दिनुहुँदै चालु आर्थिक वर्षमा कर्जा विस्तार उच्च भएकाले बैङ्किङ तरलतामा चाप परेको जानकारी दिनुभयो । 

मन्त्री शर्माले यो वर्ष १६ सय ५ अर्बको आयात भएको र १ सय ७३ अर्बको मात्र निर्यात भएकाले  आयात निर्यात सन्तुलन नहुनु र अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्समा कमी आएको समेत जानकारी दिनुभयो । 

मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनालाई बजेटको अभाव नभएपनि प्रक्रिया झन्झटिलो हुँदा अहिलेसम्म बबई सिँचाइ, रानी जमरा सिँचाइ नबनेको भन्नुहुँदै पुँजीगत खर्च गर्न कानुनी र संरचनागत समस्या भएकाले संसदबाट यसलाई समाधान गर्न दलहरुबीच सहमति र सङ्कल्प हुनुपर्ने बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/20443

Previous articleसरकारको नीति तथा कार्यक्रम जेठ १० गते राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुहुने
Next articleफौजी किराको प्रकोप फैलिएपछि रामपुरका किसान चिन्तित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।