रुपन्देही । लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाउने बताउनुभएको छ ।
३५ अर्ब पैसा प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९÷०८० को बजेट ३७ अर्बसम्मको बनाइने बताउनुभयो ।

आज बुटवलमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै उहाँले ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको बजेट आउने बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने बताउनुभयो ।
उहाँले कृषिमा अनुदान ९० प्रतिशत कटौती गरी कृषकलाई सहुलियत ऋणको व्यवस्था गरिने बताउनुभयो । स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउँदै उहाँले गरिबी निवारण घटाउने गरी बजेट बन्ने उल्लेख गर्दै प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने बताउनुभयो ।
बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै अब विकास निर्माणका बजेट पार्नका लागि पाँच वटा मापदण्ड पुरा गरेर मात्र बजेट माग गर्न सकिने उहाँको धारणा थियो ।
नयाँ प्रणाली सुरु गरिएकाले अब निवेदनको आधारमा मात्र, सांसद, नेताहरूको भनाइको भरमा बजेट नपाइने विधि सरकारले बनाएको उहाँको भनाइ छ ।
उहाँले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताउनुभयो । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएकोसमेत उहाँले बताउनुभयो ।
एमालेबाट निर्वाचित प्रदेश सांसद कमलप्रसाद श्रेष्ठले साधारण तर्फको खर्च घटाउने र पुँजीगत तर्फको खर्च बढाउने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो । ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको संवृद्धि हुने गरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने उहाँको सुझाव थियो ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धिमूलक बजेट बनाउनुपर्ने बताउनुभयो ।
उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयतलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको उहाँको सुझाव थियो ।
https://ujyaalonepalnews.com/archives/21269


