‘लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाइने’

रुपन्देही ।  लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाउने बताउनुभएको छ । 

३५ अर्ब पैसा प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९÷०८० को बजेट ३७ अर्बसम्मको बनाइने बताउनुभयो । 

आज बुटवलमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै उहाँले ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको बजेट आउने बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने बताउनुभयो । 

उहाँले कृषिमा अनुदान ९० प्रतिशत कटौती गरी कृषकलाई सहुलियत ऋणको व्यवस्था गरिने बताउनुभयो । स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउँदै उहाँले गरिबी निवारण घटाउने गरी बजेट बन्ने उल्लेख गर्दै प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने बताउनुभयो । 

बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै अब विकास निर्माणका बजेट पार्नका लागि पाँच वटा मापदण्ड पुरा गरेर मात्र बजेट माग गर्न सकिने उहाँको धारणा थियो ।

नयाँ प्रणाली सुरु गरिएकाले अब निवेदनको आधारमा मात्र, सांसद, नेताहरूको भनाइको भरमा बजेट नपाइने विधि सरकारले बनाएको उहाँको भनाइ छ । 

उहाँले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताउनुभयो । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएकोसमेत उहाँले बताउनुभयो । 

एमालेबाट निर्वाचित प्रदेश सांसद कमलप्रसाद श्रेष्ठले साधारण तर्फको खर्च घटाउने र पुँजीगत तर्फको खर्च बढाउने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।  ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको संवृद्धि हुने गरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने उहाँको सुझाव थियो । 

नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धिमूलक बजेट बनाउनुपर्ने बताउनुभयो ।  

उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयतलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको उहाँको सुझाव थियो । 

https://ujyaalonepalnews.com/archives/21269

Previous articleझापाका १५ पालिकालाई सङ्घीय सरकारको ७ अर्ब ३१ करोड बजेट
Next articleहज यात्रीबाट दोब्बर शुल्क लिएकोमा मुस्लिम इत्तेहाद संगठनको आपत्ति, अध्यक्ष अन्सारीलाई ज्ञापन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।