
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले कृषि क्षेत्रको उत्पादनको आधारमा अनुदान दिने भएको छ ।
तरकारी खेती, पशुपक्षी पालन तथा बागवानीको समग्र विकासका लागि उत्पादनका आधारमा अनुदान दिने नीति गाउँपालिकाले ल्याएको हो ।
गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
एकीकृत कृषि विकास कार्यक्रम सञ्चालनदेखि हरेक किसानलाई समूह तथा सहकारीमा आबद्ध गरी कृषि उत्पादनका आधारमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले अर्ग्यानिक तरकारी खेतीका लागि पनि अनुदान दिने नीति ल्याएको छ । व्यावसायिक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम समेत निर्माण गरिने उल्लेख गरिएको छ ।
यस्तै, छत्रेश्वरी गाउँपालिकाले एक बच्चा जन्मँदा २ बिरुवा रोप्ने नीति ल्याएको छ । वन वातावरण संरक्षण गर्न पालिका भित्र एक बच्चा जन्मिए दुई बिरुवा रोप्नुपर्ने नीति ल्याएको छ ।
शिक्षालाई प्रविधिसँग जोड्न एक शिक्षक एक ल्यापटपको अवधारणा अनुसार ५ वर्षभित्र गाउँपालिका सबै शिक्षकलाई ल्यापटप कम्प्युटर वितरण गरिने र बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत शैक्षिक सुधारका कार्यक्रम पनि समेटिएको छ ।
https://ujyaalonepalnews.com/archives/21993


