सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै,१२ वर्षसम्म कैद सजाय माग

काठमाडौं, कात्तिक १४- नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।

‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ। उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ। ‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। ‘मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं। थुप्रैसँग बयान पनि लिएका छौं,’ उनले भने।

https://ujyaalonepalnews.com/archives/24808

Previous articleछिट्टै धनी बन्ने लोभले लोट्टो र क्यासिनोको कुलतमा फस्दै मलेशिया पुगेका नेपाली कामदार
Next articleचितवन: बाबुलाई खुकुरी प्रहार गरि छोरा फरार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।