रत्ननगर, असार २४ । चितवनको कालिका नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप रु. ३४ लाख ४७ हजार ६ सय ९३ रुपैँया अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका विभिन्न वडामा रहेका समुह, दुग्ध उत्पादक सहकारी केन्द्रमार्फत दूध बिक्री गरेबापत प्रत्यक किसानलाई नगरपालिकाले प्रतिलिटर रु. १ रुपैँयाका दरले रु. ३४ लाख ४७ हजार ६ सय ९३ रुपैँया अनुदान उपलब्ध गराएको पशु विकास शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । यो अनुदान गत वर्ष दुध विक्री गरेका सबै किसानले उत्पादनको आधारमा प्राप्त गर्नेछन् ।
पौडेलका अनुसार नगरका विभिन्न वडामा २ हजार २ सय ४७ जना दूग्ध किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यो वर्ष सहकारी केन्द्रहरुबाट रु. २२ करोड ४१ लाख ४५ रुपैँया र निजि क्षेत्रबाट रु. २४ करोड १३ लाख ३८ हजार ५ सय १० रुपैँया दूध बिक्रि भई कालिका नगरपालिकामा भित्रिएको बताए ।

“दुग्ध उत्पादक सहकारी केन्द्रहरुमा आबद्ध भएका किसानसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका हौं,” शाखा प्रमुख पौडलले भने, “उहाँहरुले सहकारी केन्द्रमार्फत दूध बिक्री गर्नुहुन्छ र बिक्री भएको दूधका आधारमा प्रत्यक किसानलाई प्रतिलिटर रु. १ रुपैँयाका दरले सहकारी केन्द्रमार्फत एकमुष्ट अनुदान उपलब्ध गराएकाछौँ ।”
दूध उत्पादक किसानलाई नगरपालिकाले बिगत ४ वर्षदेखि १० हजार लिटर भन्दा धेरै दूध बिक्रि गर्ने किसानहरुलाई अनुदान दिन सुरु गरेको थियो । दूग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई नगरपालिकाले अनुदान दिने गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले दाना चोकर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन धेरै लिन सकिने बताए । दूध उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए । गोठसुधार, बाख्रापालन, पशु बीमा, कृषि लगाएतका क्षेत्रमा नगरपालिकाले किसानहरुलाई अनुदान वितरण गर्दे आईरहेको उनले बताए । उनले भने, “कुनै किसानको हात खालि छैन, प्रत्यक किसानहरुले केहि न केहि अनुदान पाएकैछन् ।”
उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको नगर प्रमुख रेग्मीले बताए । दूधमा अनुदान पाएका कृषकहरुले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताएकाछन् । उनीहरुले अनुदानले कृषकमा अझै जोश र जागर पलाएको बताए ।

आर्थिक विकास समितिका संयोजक दिपक सिंह परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाकी उप प्रमुख विमला लामा, प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कृषक कृष्ण प्रसाद घिमिरे, सहकारीका तर्फबाट कल्पना आचार्य र लक्ष्मी चौलागाई लगाएतले मनतव्य व्यक्त गरेका थिए । आर्थिक विकास समितिका सदस्य प्रकाश चन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
https://ujyaalonepalnews.com/archives/29085


