पार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक छ: अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उहाँले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझादारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “समझादारी तरिकाले काम गर्यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उहाँले भन्नुभयो, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ ।”

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गर्नुभयो । “पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निस्क्रिय बनाउने तरिका हो ।”

उहाँले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको भनाइ राख्नुभयो ।

उहाँले जनता अहिले पनि परिवर्तन, न्याय र सुशासनको पक्षमा रहेको भन्दै आफूले जनताको भावनालाई समेट्न नसकेको बताउनुभयो । अध्यक्ष ओलीले सिङ्गै समाज समेटिएको एमाले परिपक्क पार्टी भएको बताउनुभयो । उत्साह र आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकतालाई आग्रह गर्दै उहाँले मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्ने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/29184

Previous articleमेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ
Next articleसडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।