बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा

0
46

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताउनुभएको छ ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताउनुभएको हो ।

“लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गर्नुभयो । “बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो”, महामन्त्री शर्माले भन्नुभयो ।

उहाँले तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “हामीले विसं २०८४ को निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, उहाँले भन्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/29588

Previous articleकेराबाट खेर गएको बस्तुबाट फाईबर धागो उत्पादन गरिने
Next articleअरुण थापा स्मृति साँंझ–२०८० : गुञ्जियो कालजयी गीतहरु