
चीनको वुहानबाट राती नेपाल उड्ने तयारीमा रहेका १८५ जना नेपाली विद्यार्थीमध्ये १० जना उतै रोकिएका छन्।
१० जनामध्ये ६ जना स्वास्थ्यका कारण र ४ जना आफैं उतै बस्न खोजेकाले राकिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी चीनको समय अनुसार शनिबार राती १२:५२ बजे वुहानबाट काठमाडौंका लागि उडेका छन्। नेपाल वायुसेवाको चार्टर्ड विमानबाट उनीहरू नेपाली समय अनुसार आइतबार बिहान ४ बजे काठमाडौंमा अवतरण गर्नेछन्।
वुहान कोरोनाभाइरसको उद्गमस्थल हो, जहाँबाट हुपेई प्रान्तमा छरिएर रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काइएको हो।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो।
काठमाडौंका लागि उडेका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ।
वुहानबाट काठमाडौं उडेका १७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन्।
१७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन्।
‘काठमाडौं उड्नुअघि वुहान विमानस्थलमा उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ’, दूतावासका उपप्रमुख सुशील लम्सालले बेइजिङबाट भने, ‘नेपाल फर्कन आवेदन दिएका १८५ जनामध्ये ४ जनाले यतै बस्ने निर्णय गरेका छन् भने ६ जनाले स्वास्थ्यका कारण उडान अनुमति पाएनन्।’
मध्य चीनको हुपेइ प्रान्तका विभिन्न शहरबाट नेपाल फर्किन वुहान पुगेका विद्यार्थीमध्ये स्वास्थ्यका कारण एक परिवारका तीन जना र अर्को एक जना पुरुष गरि चार जना वुहान विमानस्थलमै रोकिएका हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमडी गरिरहेका जागरनाथ साहले बताए।
स्वास्थ्यका कारण रोकिने अन्य दुई जनाबारे साहले पनि खुलाएनन्।
‘नेपाल आउन लागेका सबैको वुहान विमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा एक परिवारका श्रीमान, श्रीमती र बच्चा तथा अर्को एक जनामा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम भेटियो’, साहले भने, ‘त्यसपछि उनीहरूलाई चीनको स्वास्थ्य प्रसाशनले उड्ने अनुमति नदिएको हो।’
शरीरमा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम शंकास्पद मानिने भएकाले उनीहरुलाई चीनकै अस्पतालमा राखेर उपचार गरिने यसअघि नै टुंगो लागिसकेको छ। ज्वरो देखिएकाहरूको थप स्वाथ्य परिक्षणपछि मात्रै कोरोनाभाइरसको संक्रमण भए नभएको पत्तो लाग्नेछ।

आइतबार बिहान ४ बजे काठमाडौंमा अवतरण गरेपछि ती विद्यार्थीको फेरि विमानस्थलमै स्वास्थ्य परिक्षण गरिने छ। स्वास्थ्य रहेका विद्यार्थीलाई १४ दिनसम्म भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा क्वारेन्टाइनमा राखिने छ। विमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा यदि कसैको स्वास्थ्यमा तापक्रम बढी भेटिएमा सिधै अस्पताल लगेर उपचार गरिने छ।
जहाजमा रहेको ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टरलाई नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिनेछ।
नेपालले चीनलाई सहयोगस्वरुप दिएको एक लाख थान मास्क पनि नेपाल वायुसेवाको त्यही चार्टर्ड विमानबाट वुहान पठाइएको थियो। उक्त मास्क शनिबार राती नै वुहान विमानस्थलमा हुपेई च्यारिटी फेडरेसनलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
नेपाली दूतावास बेइजिङले वुहानबाट नेपालीको उद्दार प्रक्रियामा पूर्ण सहयोग गरेको भन्दै चीनको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिएको छ। दूतावासले चीनको नागरिक उड्यन प्रशासन, हुपेई प्रान्तको विदेश मामिला कार्यालय, हुपेईका सम्बन्धित विश्वविद्यालयहरू, वुहान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सहयोगका लागि धन्यवाद दिएको छ।


