ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।

सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गर्नुभएका उहाँले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताउनुभएको छ ।

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताउनुभयो । उहाँले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गर्नुभयो ।

करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिनुभयो ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु ।

इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।”

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उहाँले राष्ट्रिय टिमबाट खेल्नुभयो ।

पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उहाँको खेल जीवनको अन्तिम खेल बन्यो ।

यसैगरी उहाँ सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट हुनुभएको थियो । सोही वर्ष उहाँ नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश हुनुभएको थियो ।

मल्लले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाउनुभएको थियो । सिनियर राष्ट्रिय टिममा भने उहाँले सन् २००६ बाट डेब्यू गर्नुभएको हो । उहाँले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/29995

Previous articleभारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. कालिकोटका दुई जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे
Next articleस्याङजामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।