Home Uncategorized साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू

साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ- सरकारले गीत–सङ्गीतमार्फत राष्ट्रलाई पुर्‍याउनुभएको योगदानको कदरस्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे खङ्गी)लाई जनगायक उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँ–तराई÷मधेस दु्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

धुलिखेल अस्पताल ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रर्वतनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र वड्कापथ सिँचाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि सरकारको निर्णय छ ।

युनिसेफको आयोजनामा नेदरल्यान्डस्को हेगमा आयोजना हुने ग्लोबल कन्फरेन्समा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी बिच्छालाई सहभागिताका लागि स्वीकृति प्रदान गरिने भएको छ । त्यसैगरी एसियाली विकास बैंकबाट रुरल कनेक्टिभिटी इम्पावरमेन्ट प्रोजेक्ट अडिसनल फाइनान्सीका लागि प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

“सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि जम्मा ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्नुका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०-८१ का लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र सो आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाइहरूका लागि आवश्यक १९ वटा राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने”, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले कर्जा सुरक्षण (चौथो संशोधन) नियमनहरू, २०८० स्वीकृत गर्नुका साथै धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

“नेपाल इन्जिनियरिङ सेवा, केमिकल इन्जिनियरिङ समूह, राजपत्राङ्कित प्रथम श्रेणी (प्रा) मा बढुवा गर्ने, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने र उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने भएको छ”, निर्णयमा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत आव २०८०/८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भू–परिधि व्यवस्थापन आयोजनालगायतका १७ वटा आयोजना तथा कार्यक्रमका लागि राजपत्राङ्कित ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30681

Previous articleअदालतले दिएको आदेश पालना गर्नु सबैको कर्तव्य भएको मुख्यमन्त्री थापाको भनाई
Next articleकोशी प्रदेशमा डेङ्गुबाट १४ को मृत्यु,२२ हजार सङ्क्रमित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।