यज्ञ अधिकारी
रंगेली, ४ फागुन । समाजवादी पाटी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनमा चासो नदिँदा संघीयता कमजोर बन्दै गएको बताएका छन् । विराटनगरमा आइतबार प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेशलाई अधिकारसम्पन्न बनाउने विषय संविधान संशोधन आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले अहिले सरकार बहुदलियतामा एक दलियको अभ्यास गर्दै निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए । अहिले सरकारले सर्वसत्तावादलाई स्थापित गराउने ऐन ल्याइरहेको उनको कथन थियो ।
संघीय सरकारले सेनालाई प्रधानमन्त्रीमार्फत ल्याउन, प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता कटौती गर्न अनि व्यक्तिको गोपनीयताको अधिकार खोस्न विधेयकहरू निर्माण गरिसकेको र त्यो पारित भएमा देश पूर्ण रूपमा अधिनायकतर्फ जाने र संघीयता धरापमा पर्ने अध्यक्ष यादवले दाबी गरे ।
पूर्व उपप्रधानमन्त्री यादवले सहमतिले सरकारमा सहभागी भइएको थियो त्यो पूरा नहुने भएपछि तत्काल बाहिरिएको बताउँदै संघीयता बलियो बनाउनका लागि समिति निर्माण गर्ने आफूहरु सरकारमा रहँदा मन्त्रालयमार्फत संविधान संशोधन गराउन क्याबिनेटमा लगेको प्रस्ताव प्रधानमन्त्री ओलीले खारेज गरिदिएकोले सरकार संघीयताविरोधी रहेको प्रस्ट भएको बताए ।
उनले संघीय सरकारले कानूनहरू निर्माण गर्न ढिलाइ गरेर ओली नेतृत्वको सरकारले संघीयताविरोधी गतिविधि गर्न थालेको आरोप लगाए । पहिले धमाधम कानूनहरू बनाएर प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा ओली सरकारले लोकतन्त्रविरोधी कानूनहरू निर्माण गरेर आफूलाई अधिनायकवादतर्फ लग्न थालेको यादवको भनाइ छ ।
कानूनहरू निर्माणमा ढिलाइ हुँदा यो संघीयता भनेको यस्तै रहेछ भन्ने भ्रमहरू पैदा हुन थालिसकेको यादवले बताए । उनले २०४६ सालको संविधान संशोधान गरेर अगाडि बढेको भए अहिले अर्कै स्थिति हुन सक्ने आँकलन गरे ।
उनले भारतको संविधान पनि सयौँ पटक संशोधान भएकोले समयानुकुल संशोधन आवश्यक रहेको बताए । उनले संविधान संशोधन नगरे दुर्घटना निम्तन सक्ने बताए । संविधान संशोधनको लागि सदनमा प्रयास गर्ने र त्यो हुन नसके सडकबाट आन्दोलन गर्ने चेतावनी उनले दिए ।
संघीयतालाई दीगो बनाउनका लागि स्वायत्त प्रदेश सरकारसहितको शासकीय र निर्वाचन प्रणाली आदिबारेमा संविधान संशोधन हुनुपर्ने आफूहरूको माग रहेको र त्यसलाई आफूहरूले जसरी भएपनि संशोधन गराएरै छाड्ने बताए ।
यादवले भने, ‘सकेसम्म हामी सदनबाट संविधान संशोधन गराउन संघर्ष गर्छौं तर पार लागेन भने जनआन्दोलन थाल्नुको विकल्प हुनेछैन ।’ यस्तै यादवले राजपासँगको गठबन्धन कायम रहेसम्म दुई नम्बर प्रदेशमा आफनो पार्टीको नेतृत्वमा रहेको सरकार नगिर्ने बताए ।
उनले राजपासँग आफूहरूको गठबन्धमा कुनै समस्या नभएको बरु भावि दिनमा पार्टी एकतासमेत हुने सक्ने जानकारी गराए । यादवले भने, ‘कसैले दुई नम्बरको सरकार हटोस् भनेर कूदृष्टि लगाउँदैमा सरकार तलमाथि हुनेवाला छैन ।’
अख्यिारलाई कायकर्ता भर्तीकेन्द्र बनाएर विरोधी सिध्याउने अस्त्रका रूपमा प्रयोग गर्न हुँदैन भन्दै यादवले अख्तियारले आफूलाई लोकपालका रूपमा राख्नुपर्ने बताए । उनले ललिता निवास प्रकरणमा उठेका प्रश्नहरूमा गहन छानबिन हुनुपर्छ भने ।
The post संविधान संशोधन नगर्दा संघीयता कमजोर : उपेन्द्र यादव appeared first on Koshi Online.