नेपाल राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा

0
56

काठमाडौं- नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोड रुपैयाँको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो ।

यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ बनाइएको छ ।

यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ । असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो । गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमामा परिमार्जन गर्न तयार भएको थियो ।

सो दिन अर्थमन्त्री डा. प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको भन्दै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो । त्यसका लागि राष्ट्र बैंक लचिलो बन्नुपर्ने भन्दै अर्थमन्त्री महतले गभर्नरलाई सेयर धितो कर्जामा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/32005

Previous articleमिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
Next articleबझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प